|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीचको वार्तामा घाट सेवाका कर्मचारीहरूको सेवा सुविधा बढाउने सहमतिपछि पशुपति आर्यघाट सेवा केन्द्रको आन्दोलन फिर्ता भएको छ।

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउने लगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो। सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाह लगायतका सबै काम बन्द गर्ने घोषणा गरेका थिए।

उनीहरुको आन्दोलनबाट शव दाह नै रोकिनसक्ने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो।

कोषका अनुसार घाट सेवाका कर्मचारीहरूको माग धेरै वर्षदेखि नबढेको पारिश्रमिक बढ्नुपर्ने भन्ने थियो। अब भने एउटा शव जलाएवापत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ पुर्‍याउने सहमति भएको पशुपति विकास कोषले जनाएको छ।

यसका साथै अवकाश पाउँदा उपदानबापत पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ। यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन्।

सहमति भएपछि अहिले पशुपति आर्यघाटमा ५ वटा शव जलाउन सुरु भएको छ। शव जलाउँदै गरेका व्यक्ति पुष्पराज पौडेलले सेवा सुविधा कमी भएकोले आन्दोलन गर्नुपरेको बताए। सेवासुविधा बढेर नआए पुन: आन्दोलन गर्ने पनि उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.