|

भोजपुर : दोस्रो मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि भोजपुर नगरपालिका-१० भैंसीपंखाले जितेको छ।

मंगलबार भोजपुर सदरमुकाममा भएको फाइनलमा भैंसीपंखाले भोजपुर नगरपालिका-११ आम्तेकलाई ४-० गोलअन्तरले पराजित गरेको हो।

टिमलाई उपाधि दिलाउन भैंसीपंखाकी सम्झना लावती र ईमा राईले २-२ गोल गरे । सम्झनाले खेलको १० औँ र ४८ औँ र ईमाले २९ औँ र ५३ मिनेट गोल गर्दै टिमलाई जिताए। जितसँगै भैंसीपंखाले नगद १ लाख र ट्रफी हात पारेको छ। दोश्रो भएको आम्तेकले ५० हजार नगद जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भैंसीपंखाकी सम्झना लावती भइन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट डिफेन्डर आम्तेककी सरिता शेर्पा, उत्कृष्ट मिडफिल्डर भैंसीपंखाकी कामना राई, उत्कृष्ट स्ट्राइकर भैंसीपंखाकी ईमा राई र उत्कृष्ट गोलकिपर रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस् एकाडेमी ट्याम्के-मैयुङकी देविका श्रेष्ठ भए।

गत बिहीबारबाट स्थानीय भोजपुर टुँडिखेलमा सुरु प्रतियोगितामा भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकाका ६ टिम सहभागी थिए । जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितको प्रायोजन भोजपुर नगरपालिकाले गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.