'नेपालले स्वर्ण पदक पाउने काम गरेको छ'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले 'नेपालको संविधान' अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत भइसकेको अवस्थामा मुलुकमा असन्तुष्टि जनाउनु आवश्यक नभएको बताएका छन्।

अन्तर-व्यवस्थापिका संघ (आइपियू)को १४१ औँ सम्मेलनका क्रममा नेपालको संविधानले प्राप्त गरेको पुरस्कार ग्रहण गर्दै बुधबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका  लागि सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए।

'नेपालको संविधान'लाई आइपियूको हालै सर्वियामा सम्पन्न सम्मेलनमा पुरस्कृत गरिएको थियो। युवा सहभागिता, सशक्तीकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चिततालगायत विषय संविधानमा सुनिश्चित गर्दै उदाहरणीय बनेको भन्दै नेपालको संविधानलाई 'फ्युचर पोलिसी सिल्भर अवार्ड-२०१९' प्रदान गरिएको थियो। उक्त अवार्ड वर्ल्ड फ्युचर काउन्सिलले आइपियू र संयुक्त राष्ट्रसंघ विकास नियोगको सहकार्यमा नेपाललाई प्रदान गरेको हो।

प्रधानमन्त्री ओलीले नेपालको संविधान अन्तर्राष्ट्रिय क्षेत्रमा पुरस्कृत हुँदा पनि मुलुकका केही व्यक्ति र राजनीतिक दलले असन्तुष्टि जनाउनुमा कुनै तुक नभएको बताएका हुन्। उनले भने, 'नेपालको संविधान अन्तर्राष्ट्रिय क्षेत्रमा पुरस्कृत हुँदा पनि मुलुकका कुनामा बसेर असन्तुष्टि राख्नुले कसैलाई फाइदा गर्दैन। देशलाई फाइदा गर्दैन। त्यसरी विरोध गर्दा राम्रो सोच नभएको भन्छन्। त्यसैले सबैले संविधान स्वीकार गरेर राष्ट्र निर्माणको बाटोमा आउन तथा संविधानलाई साझा उपलब्धिका रूपमा मान्न आग्रह गर्दछु।'

संविधानप्रति असन्तुष्टि राख्नेले भित्रभित्रै स्वीकार गरेको तर बाहिर भने अस्वीकार गरेको भनेर दोहोरो चरित्र देखाएको ओलीको भनाइ थियो।

संविधानलाई सबैले पालना गर्नुपर्ने र यसको कार्यान्वयनमा भूमिका खेल्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

नेपालको संविधान बनेदेखि नै राष्ट्रिय जनता पार्टी, नेपाललगायतले असन्तुष्टि जनाउँदै आएका छन्। तर, उनीहरू संविधान कार्यान्वयनको प्रक्रियामा भने सहभागी भइसकेका छन्। प्रधानमन्त्रीले कसैको नाम नलिए पनि संकेत भने राजपा, संविधान संशोधन गर्नुपर्छ भनेर बेलाबेला अभिव्यक्ति दिइरहने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनको पार्टी समाजवादी पार्टीप्रति लक्षित गरेर उक्त अभिव्यक्ति दिएका हुन्।

नेपाललाई प्राप्त अवार्ड राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई अवार्ड प्राप्त हुनु भनेको नेपाली जनताले गरेको संघर्षलाई सम्मानित गर्नु भएको बताएका थिए। नेपालको शान्ति र विकासको बाटोलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान मिल्नु रहेको उनको भनाइ थियो।

'नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट स्वर्ण पदक पाउने काम गरेको छ'

नेपालको संविधानलाई सिल्भर अवार्ड प्रदान गरिएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा 'गोल्डेन अवार्ड' प्राप्त गर्ने काम गरेको बताएका थिए।

शान्ति प्रक्रियाको व्यवस्थापन लगायत राजनीतिक परिवर्तनका लागि नेपालमा विश्वलाई सन्देश दिने काम भएका प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, 'भर्खर-भर्खर अन्तर्राष्ट्रिय मञ्चमा देखा पर्न थालेको हाम्रो देश पुरस्कृत हुने धेरै ठाउँ छन्। जनताको सहभागिताको क्षेत्रमा, महिला सशक्तीकरण र सहभागिताको क्षेत्रमा जे जे गरेका छौँ त्यसका लागि सिल्भर मात्रै होइन गोल्डेन अवार्ड नै प्राप्त गर्नुपर्ने हुन्छ।'

नेपालले स्थानीय तहहरूमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित गरेको र संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो। विश्वको कुनै पनि मुलुकमा यस्तो प्रतिनिधित्व नभएको उनको दाबी थियो। उनले अबको केही वर्षमा नै नेपाल तीव्र आर्थिक वृद्धि भएको मुलुक बन्ने पनि ठोकुवा गरे।

नेपालसँग विकासका पर्याप्त सम्भावना रहेको र मुलुकको विकासको बाटोमा अगाडि बढेको ओलीको भनाइ थियो। उनले मुलुकमा विज्ञान, प्रविधिको प्रयोग बढ्दो भइरहेको, कृषि र उद्योगको विकास तीव्र भइरहेको, व्यापार सन्तुलनको काम भइरहेको, आफूलाई उपभोग गर्न र नियार्तका लागि गुणस्तरयुक्त वस्तुको उत्पादन भइरहेको बताए। उनले पर्यटन प्रवर्धनका लागि हवाई सेवाको विकास लगायतका काम भइरहेको पनि जानकारी दिए। नेपालले सामाजिक न्यायसहितको समृद्ध नेपाल सुखी नेपालीको बाटो अपनाएको उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.