मन्त्री रघुवीर भन्छन् : कसैलाई काखापाखा गरेको छैन

|

जनकपुरधाम : धनुषाको विकासमा टेवा पुग्ने दुई महत्वाकांक्षी आयोजनाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गरेका छन् ।

मन्त्री महासेठले धनुषाको ढल्केवर–जनकपुर ६ लेन सडक खण्डको औरही पुल र जनकपुर– ढल्केबर सिंचाई नहर निर्माण कार्यको शिलान्यास गरेका हुन् । 

औरही पुल निर्माणका लागि ७४ करोड ७९ लाख ७२ हजार ३८० रुपैयाँ ५७ पैसा र नहर निर्माण कार्य ७० करोड ७५ लाख ४५ हजार ३९१ रुपैयाँ ६६ पैसामा ठेक्का लागिसकेको छ ।

शिलान्यास समारोहमा बोल्दै मन्त्री महासेठले देशभर विकासले गति लिएको दावी गरे। ‘कसैलाई लाग्दै होला प्रतिपक्ष दलले जितेको क्षेत्रमा विकास गर्दैन। तर त्यस्तो सोच सरकारको छैन । प्रधानमन्त्रीज्यूले मलाई कुनै क्षेत्रलाई काखा र कुनैलाई पाखा नगरी विकास निर्माणको काम गर्न निर्देशन दिनुभएको छ’, उनले भने, ‘सोही बमोजिम विकास निर्माण भइरहेको छ।’ 

पुल र नहर आयोजनाको निर्माण सम्पन्न हुने म्याद तीन वर्षको छ । आयोजना समयमै सकिने ठेकेदार कम्पनीले जनाएको छ । नहर निर्माण भएपछि हजारौं जनताले सिँचाइ सुविधा पाउने छन् । यस्तै ६ लेनको सडकमै पहिलो पटक औरही पुल ६ लेनको बन्न लागेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.