द्वन्द्वकालमा विस्थापित भएको तारेगामा चौकी पनि पुनःस्थापित हुने

|

विराटनगर : मोरङका विभिन्न पाँचवटा प्रहरी चौकी थप हुने भएको छ। चौकी थपसँगै ७५ जना प्रहरीको दरबन्दी पनि थप भएको छ।

जम्मा ९७ वटा प्रहरी कार्यालय रहेको मोरङमा प्रहरी चौकीमात्रै ३१ वटा रहेका छन्। जिल्लामा १ हजार ३ सय २ जनाको दरबन्दी रहेको छ। पाँचवटा प्रहरी चौकी थप भएसँगै प्रहरी दरबन्दी १ हजार ३ सय ७७ जना पुगेको छ भने प्रहरी चौकीको संख्या ३६ पुगेको छ।

मोरङ प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार जिल्लाका बुढीगंगा गाउँपालिकाको बासबारी, ग्रामथानको तेतरिया, कटहरीको कटहरी, जहदाको तारेगामा र लेटाङको बुधबारेमा प्रहरी चौकी थप हुने भएको हो। ती प्रहरी चौकी थप्नका लागि जिल्ला प्रहरी कार्यालय मोरङले संघीय सरकारसमक्ष माग गरेको थियो। तारेगामा प्रहरी चौकी माओवादी सशस्त्र युद्धको समयमा विस्थापित भएको थियो। स्थापना हुन लागेका अन्य प्रहरी चौकी रहनेस्थान भनेको नयाँ हो।

चौकी थप गर्न संघीय सरकारबाट स्वीकृति प्राप्त भइसकेको र जग्गा प्राप्तीपछि चौकी निर्माण गर्ने र संचालनमा आउने मोरङका प्रहरी प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार हालसम्म लेटाङको बुधबारे र जहदाको तारेगामा प्रहरी चौकीका लागि जग्गा प्राप्ती भइसकेको र निर्माणको क्रममा रहेको छ। तारेगामा भारतीय सीमा छेउमा पर्दछ।

प्रत्येक चौकीमा १५ जनाको दरले दरबन्दीसमेत आएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए। जिल्लामा सर्वसाधरणले प्रहरी चौकी स्थापना गर्नुपर्छ भन्दै डेढ दर्जन बढी निवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन्। तर, प्राथमिकताका आधारमा हाललाई ५ वटा स्वीकृति भएको र अन्य चौकी पनि प्राथमिकताका आधारमा विस्तारै थप हुँदै जाने मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.