|

बालोन डि’ ओर मनोनयको चर्चा चलिरहँदा ९० वर्षअघि जन्मिएका स्टारको ५६ वर्षदेखि तोडिन नसकेको रेकर्ड बिर्सन मिल्दैन्। ती स्टारले ५६ वर्षअघि बालोन डी’ ओरमा अवार्ड जुन 'पोजिसन'मा खेलेर पाए, त्यो पोजिसनमा खेल्ने न त उनीभन्दा अघिका कसैले पाएका थिए न त अहिलेसम्म पाएका छन्।

ती 'लिजेन्ड' अरू कोही नभएर ब्ल्याक प्यान्थर (कालो चितुवा), ब्ल्याक स्पाइडर (कालो माकुरा) उपनाम पाएका गोलरक्षक लेभ यासिन हुन्। सधैँ कालो जर्सीमा गोलपोस्टमा देखा पर्ने यासिन आफ्नो समयका सर्वाधिक कुशल गोलरक्षक थिए। कालो जर्सीमा जस्तोसुकै अवस्थामा पनि बल रोक्न सक्ने कलाकै कारण उनलाई ‘ब्ल्याक स्पाइडर’ उपनाम प्रदान गरिएको थियो।

बल समाउँदा उनको उफ्राइ र बल समात्ने कला आठ हात-खुट्टा भएको माकुरोभन्दा कम हुँदैनथ्यो। यही कलाकै कारण फिफाले विश्वकपमा उनकै नामबाट गोलकिपरलाई सम्मानित गर्ने परम्परा सन् १९९४ बाट थालेको हो।

डिसेम्बर १९६३ मा यासिनले बालोन डि’ ओरको उपाधि जिते, जुन हरेक वर्ष फ्रान्स फुटबल म्याग्जिनले विश्वको उत्कृष्ट खेलाडीलाई दिँदै आएको छ। यासिन पहिलो विश्व युद्ध सकिएको ११ वर्षपछि (२२ सेप्टेम्बर सन १९२९) तत्कालीन सोभियत संघमा जन्मिएका थिए। ४ वर्ष ३ महिना लामो युद्धबाट रुसी साम्राज्य पतन भएर सोभियत संघ गठन भएको थियो।

यासिन १२ वर्षको नहुँदै दोश्रो विश्व युद्धमा सोभियत संघ होमियो। यासिनलाई काराखानामा काम गराएर युद्धको समर्थनमा बाध्य पारिएको थियो। काराखानामा युद्धका लागि आवश्यक गोली तयार गरिन्थ्यो। तर, उनको मन गोली-गठ्ठाभन्दा पनि खेलकुदमा थियो। केही समयपछि त्यस काराखानामा यासिनका एक साथीले सैन्य सेवामा भर्ती हुन सुझाव दिए।

पल्टने जागिरसँगै फुटबल खेल्दै गर्दा उनमा खेलप्रतिको माया पुनः पलाउन थाल्यो र प्रशिक्षणमा अझ मेहनत गर्न थाले। त्यसको केही समयमा नै रसियन क्लब डाइनामो मस्कोका युवा टिमका प्रशिक्षक (पूर्व फुटबलर र आइस हकी खेलाडी) अर्कादी चेर्निशेभको नजरमा परे।

खेल भावना, नम्र ब्यवहार र ६ फिट २ इन्चको अग्लो कदले पनि उनी गोलरक्षकको रूपमा सुहाउने थिए। सन् १९५० मा डाइनामोमा आवद्ध भए पनि झन्डै ३ पर्ष उनले बेञ्चमै बिताए। तत्कालीन समयमा अलेक्सी ‘टाइगर’ खोमिच उत्कृष्ट गोलरक्षकको रूपमा चिनिएका थिए।

लामो समय बेञ्चमा बस्नुपरेका कारण उनले फुटबल छाडे तर क्लब छाडेनन्। उनको मन आइस हक्की तान्यो फलस्वरूप आफ्नो टिमलाई सोभियत कप दिलाए। त्यही वर्ष खोमिचको चोटका कारण यासिनको भाग्य चम्कियो। ५ महिना नबित्दै उनले सोभियत संघको राष्ट्रिय फुटबल टोलीमा पनि स्थान बनाए। स्विडेनविरुद्ध उनको डेब्यु खेलमा सोभियत संघ ७-० ले विजयी बन्यो।

६ वर्षको अवधीमा यासिनले क्लबलाई ३ वटा उपाधी र देशका लागि सन् १९५६ को ओलम्पिकमा स्वर्ण र सन् १९६० को युरोपेली च्याम्पियनसिप दिलाए। सन् १९५८ को विश्वकपमा उनको खेल मानसिकता र खेल पढ्न सक्ने अतुलनीय क्षमताका कारण पत्रकारहरूले विश्वको सर्वश्रेष्ठ गोलकिपर भनेर घोषणा गर्न बाँकी राखेनन्।

समूह चरणका अघिल्ला २ खेलमा उनकै नायकत्वमा टिमले एक बराबरी र एक जित निकाल्यो। अन्तिम खेलमा ब्राजिलसँग २-० को पराजयका बाबजुद पनि टिम क्वाटरफाइनल पुग्यो। गरिन्चाको नेतृत्व र १७ वर्षीय पेलेको शक्तिको अगाडि सहभागी देशहरू ब्राजिलसँग नतमस्तक थिए।

तर, सोभियत संघले यासिनको भरमा जुन प्रदर्शन गर्‍यो सबैलाई आश्चर्यमा पारेको थियो। क्वाटरफाइनलमा यासिनको गल्तीको फाइदा उठाउँदै स्विडेन २-० ले विजयी बन्दै सेमिफाइनल पुग्यो। यद्यपि, यसिन सबै नजरमा परे। सन् १९६२ को विश्वकपमा उनकै गल्तीले फेरि पनि सोभियत संघ क्वाटरमै रोकियो।

कोलिम्वयाविरुद्ध उनको केही अविश्वसनीय गल्तीका कारण समूह चरणको खेल टाइ भएको थियो। ४-१ ले अग्रता बनाएको समूह चरणको खेल अन्तत ४-४ मा समाप्त भयो।

आयोजक राष्ट्र चिलीसँग २-१ ले पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरियो। त्यसबेला ३२ वर्षका यासिनले दुइटा सहज गोल खाए र टिमको पराजयको जिम्मेवारी पूरा उनीमाथि थोपरियो। टिम जब देश फर्कियो क्रोधित समर्थकले एयरपोर्टदेखि नै यासिनविरुद्ध नारा लगाउन थाले। उनको घरको झ्यालमा ढुंगा हाने, उनको गाडीमा अपमानजनक शब्दहरू लेखे, धम्कीपूर्ण पत्रहरू पठाए।

डिसेम्बर १९६३ मा यासिनले बालोन डि’ ओरको उपाधि जिते। त्यस सिजन यासिनको टिम डाइनामोले पाँचौं लिग च्याम्पियनसिप जितेको थियो। डाइनामोबाट यासिनले २७ खेलमा जम्मा ७ गोल खाएका थिए। सन् १९६६ को विश्वकपको समूह चरणको ३ वटै खेल गुमाएका यासिनले टिमलाई सेमिफाइनलसम्म पुर्‍याए। सिलर नेतृत्वको पश्चिम जर्मनीसँग उनको टोली २-१ ले पराजित बन्दै फाइनल पुग्ने अवसर गुमायो। त्यो नै उनको विश्वकपको अन्तिम खेल बन्यो। 

१३ वर्षे अन्तर्राष्ट्रिय करियर अन्त्य गर्दासम्म देशका लागी ७४ क्याप जितेका थिए।  सन् १९७० मा २० वर्षे डाइनामो करियरमा ३२६ खेल खेल्दै बिदा लिए। त्यसपछि सोही वर्ष सोभियत संघको सहायक प्रशिक्षकको रूपमा विश्वकपमा सहभागीसमेत भए।

तीनवटा विश्वकप खेले तर सेमिफाइनलभन्दा अगाडि टिम बढ्न सकेन। यासिनको ६०औँ जन्मदिन मनाउनका लागि डाइनामो मस्कोले सन् १९८९ अक्टोबर २२ मा एउटा विषेश म्याचको आयोजना गर्‍यो। जुन म्याचमा मस्को, मन्स्क, केइभ र बिलिसीका खेलाडी एउटा टिममा थिए भने विश्व एघार विपक्षमा थियो।

यासिनलाई अलविदा भन्ने त्यो एउटा मौका थियो। एक खुट्टाको साहारामा उभिन्थे, पेटको क्यान्सर र रगतको बिमारीका कारण रोगि भएका थिए, यासिन। डाइनामो मस्कोको पुरानो रंगशालमा इयुसेवियो, इंग्ल्यान्डलाई विश्वकप दिलाएका कप्तान बब्बी चाल्र्टन, जर्मनीका स्टार फ्रान्ज बेकेनबउरले खेले तर यासिन आफ्नी श्रीमतीका साथमा बसेर म्याच हेर्न बाध्य भए।

खेल सकिएपछि खुल्ला कारमा उनलाई बसाएर एथलेटिक्स ट्रयाकमा घुमाइयो। हर्षित मुद्रामा रहेका उनले आफ्ना समर्थकहरूका तर्फ हात हल्लाए। पत्रकार, आमन्त्रित पाहुना, खेलाडी, फ्यानहरूले उनलाई एकछिनमा घेरे र फोटो खिचाए। प्रत्येक अंकमालमा न्यानो तर, अस्थिर पीडा थियो। मृत्युको केही दिनअघि मात्र सन् १९९० मार्चमा उनलाई ‘हिरो अफ सोसलिस्ट लेबर’को स्वर्ण पदकबाट सम्मानित गरिएको थियो। त्यसको केही दिनमा उनले संसार छाडे। 

आफ्नो करियरमा यासिनले १५१ पेनाल्टी र २७० बढी क्लिसिट राखेका थिए। सन् १९६७ मा उनलाई तत्कालीन सोभियत संघको सर्वोच्च नागरिक ‘अर्डर अफ लेनिन’ का रूपमा सम्मानित गरिएको छ। सन् १९९८ मा उनलाई २०औँ शताब्दी सर्वोत्कृष्ट गोलरक्षकको रूपमा चुनियो। सधैँ कालो जर्सीमा मैदानमा उत्रिने उनको विकल्पको रूपमा २०औँ शताब्दी कोही पनि बन्न सकेन्।

फिफाले नै बनाएको इतिहास र २०औँ शताब्दीको ‘ड्रिम टिम’ मा समेत उनी नै गोलरक्षक चुनिए। रसियाले सन् २०१८ को विश्वकप आयोजनाको पोष्टरमा यासिनको सम्मानको लागि तस्वीर छाप्यो। अहिले बालोन डि’ ओरमा उनको सम्मानको लागि सर्वोत्कृष्ट गोलरक्षकको लागि यासिन अवार्ड यस वर्षबाट वितरण थालिँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.