|

काठमाडौं : नेपालीको घर आँगनमा दशैंपछिको दोस्रो ठूलो चाड तिहार भित्रिसकेको छ। आँगनका डिलमा फुलेका सप्तरंगी फूलले सबैलाई मोहित बनाइरहेको छ भने तिहार लक्षित झिलिमिली बजारले आकर्षण बढाइरहेको छ। 

तिहारलाई बत्तीको पर्वको रुपमा पनि लिइन्छ। त्यसैले त बजारमा विद्युतीय रंगिबिकरंगी बत्ती छपक्क ढोकेको छ। तै पनि नेपाली संस्कृतिमा तिहारमा माटोकै पालामा तेल हालेर घर उज्यालो बनाउनु अनिवार्यजस्तै छ। अहिले माटोको पाला बनाउनेहरुलाई पनि भ्याइ–नभ्याइ छ। 

भक्तपुरका प्रजापती समुदायकालाई अहिले खाना खाने समय निकाल्न समेत धौ धौ छ। माटाका भाडा पुरानो शैलीबाट परालले पोल्न तयारी गर्दैगर्दा भेटिएका बुद्धिराम प्रजापती काममा व्यस्त थिए। उनीजस्तै त्यस टोलका कसैलाई पनि एकछिन बसेर बोल्नेसमेत फुर्सद छैन। पुरुषहरु गिलोमाटोलाई आकार दिनमा ब्यस्त छन्। महिलाहरु सुकाउने, रंग लगाउने, भट्टीमा पोल्नका लागि माटाका भाडा ओसार्ने चटारोमा छन्। 

तिहारको समयमा माटोको पालाको माग अत्यधिक हुने भएकाले भक्तपुरका प्रजापती समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको हो। भक्तपुरको बोलाछें, थिमी, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारका लागि आवश्यक माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ। 

माटाका भाडा बनउनु प्रजापतीहरुको पुर्ख्यौली पेशा हो। पोटरी स्क्वायरस्थित प्रजापती टोलका विनोद प्रज्ञापती एथ्लेटिक्सका राष्ट्रिय कोच छोडेरै माटाका भाडा बनाउन ब्यस्त छन्। माटाका भाडा बनाउन पहिले सबै काम हातैले गर्नुपथ्र्यो। अहिले प्रविधिको विकासले काम गर्न सहज भएको बताउँछन् विनोद प्रजापति। तिहारका लागि पाला, भिउँटे, धुपौरोलगायतका माटोका सामग्रीहरुको माग उच्च हुने गरेको छ। माग बढ्ने बेलामा बढी नै उत्पादन गर्नुपर्ने भएकाले आधुनिक भट्टीमा एकैचोटी माटाका भाडा पोल्दा सजिलो भएको सुनाउँछन् लक्ष्मीप्रसाद प्रजापती। 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.