संगठन बलियो बनाउन भन्दै अर्को जागरण अभियान

|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसमा दुई गुट छन्। तर, डडेल्धुरामा देउवाबाहेक कांग्रेसको रामचन्द्र पौडेल गुट छैन। देउवा गुटमै दुई उपगुट छन्। जसमा एउटा गुटलाई आरजु देउवाको समर्थन छ।

०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेल्धुरामा पराजय भोग्नुपरेको छैन। देउवाको किल्ला मानिने डडेल्धुरामा दुई निर्वाचन क्षेत्र र ७ स्थानीय तह रहेका छन्। तर, गत चुनावमा कांग्रेस एउटा निवार्चन क्षेत्र गुमाएको थियो भने ३ वटा स्थानीय तहमा उसले हार व्यहोर्नु परेको थियो। 

हारपछि कांग्रेसले गुटबन्दीका कारणअन्तर्गतघात भएकाले हार व्यहोर्नु परेको निष्कर्ष निकालेको थियो। कांग्रेसका सभापति देउवाको पनि डडेल्धुरामा दुई उपगुट छन्। जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्वसभापति रघुवर भट्टका अलग उपगुट रहेका छन्। रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर खुमबहादुर खड्काको निकट मानिन्थे।

कांग्रेसले डडेल्धुराका सातमध्ये चार स्थानीय तह मात्र जित्नु देउवा आफ्नै गृहजिल्लामा कमजोर बन्नु हो भन्ने विश्लेषणसमेत गरिएको थियो। कांग्रेसभित्रका यी दुई गुटमा तालमेल नमिल्नु नै उतिबेला हारको प्रमुख कारण रहेको केही विश्लेषकहरूको भनाइ छ।

डडेल्धुरा कांग्रेसमा कसरी भयो दुई खेमा?

देउवाको गृह जिल्लामै दुई उपगुट कसरी बने त? यसका लागि ‘फ्ल्यासब्याक’ मा जानुपर्ने हुन्छ। २०६४ सालभन्दा अगाडि, त्यतिबेला नेपाली कांग्रेस प्रजातान्त्रिकले अहिलेका सुदूपश्चिम प्रदेश सदस्य तथा पार्टी सभापति कर्णबहादुर मल्ललाई साधारण सदस्य नरहने गरी कार्वाही गरिएको थियो।

उनलाई ‘राजा’ समर्थक भनेर कार्वाही गरिएको थियो। पछि उनलाई लागेको आरोप निराधार ठहर भएकाले कार्वाही फुकुवा गरिएको थियो। तत्पश्चात् उनी २०६४ सालको चुनावमा देउवालाई जिताउन लागिपरेको कांग्रेस कार्यकर्ताको भनाइ छ।

त्यसपछि २०६७ सालमा पार्टीको जिल्ला अधिवेसन भयो। त्यतिबेला कर्णबहादुर मल्ल सभापतिमा निर्विरोध चयन भएका थिए। उतिबेला देखिनै त्योभन्दा पहिलेका पार्टी सभापति रधुवर भट्टको समूहले कर्णबहादुर मल्ललाई पार्टी सभापति मान्दैनौँ भनेर धारणा राखेको थियो। २०६७ सालको उक्त घटनाबाट नै डडेल्धुरामा दुई गुट उत्पन्न भएको पूर्वउपसभापति भरत नेपालीको भनाइ छ।

त्यसपछि भातृ संगठन नेपाल विद्यार्थी संगठन र महिला संघको निर्वाचनमा पनि गुट र उपगुटको लबिङ भएको उनले सुनाए। ‘त्यतिबेलाबाट नै बैठक बहिस्कार गर्ने शिलशिलाको सुरुवात भएको थियो’ उनले भने।

त्यसपछि पनि २०७२ सालको छैटौँ कांग्रेस जिल्ला अधिवेशनबाट पार्टी सभापति मल्लले रधुवर भट्टलाई १ मतले पछारेका थिए। त्यो रोषका कारण दुई गुटबीच झन द्वन्द्व सिर्जना भएको हो।

उक्त गुटबन्दीको आगोमा तेल हाल्ने काम डडेल्धुरा महिला संघले पनि गरेको देखिन्छ। महिला संघको विवादलाई गहिराइमा गएर हेर्ने पनि यसको जरा कता छ भन्ने बुझ्नु आवश्यक छ। मिति २०७१ पुष २५ गते, डडेल्धुराको निमार्ण व्यवसायी सघंको हलमा नेतृ आरजु राणा देउवाको प्रमुख आतिथ्यतामा महिला संघको जिल्ला अधिवेसनको उद्घाटन सत्र समपन्न भएको थियो।

त्यसै दिन सोही अधिवेसनले केन्द्रीय महाधिवेसनका लागि सातजना महाधिवेसन प्रतिनिधि छनोट गरेको पूर्वउपसभापती नेपाली बताउँछन्। ‘तर जिल्ला महिला संघको संयोजकमा भने टुंगो लाग्न सकेन’ उनले भने ‘स्वयं नेतृ आरजु देउवा ज्युले पछि मिलाएर कसैलाई बनाउने भन्नुभएको थियो।’

उक्त दिन संयोजकको टुंगो नलागेपछि केही महिनापछि सातजना महाधिवेसन प्रतिनिधिको बैठक बसेको थियो र बैठकले समेत संयोजक छान्न नसकेपछि त्यसको जिम्मा निर्वाचन समितिलाई गएको थियो। निर्वाचन समितिका संयोजक मोहनराज पाठकले समेत महिला संघ संयोजकलाई मनोनयन गर्न सकेनन्।

‘निर्वाचन समितिले नसकेपछि पुनः त्यो जिम्मेवारी ती सातजना महाधिवेसन प्रतिनिधिमा आयो’ तत्कालीन नेपाली कांग्रेसमा आमन्त्रित सदस्य रहेका पूर्वनेपाल प्रेस युनियनका अध्यक्ष टेकराज अवस्थी भन्छन्, ‘फेरि पार्टीले जिम्मेवारी पाइसकेपछि फागुन २ गते पार्टीको बैठकबाट सर्वसम्मत रूपमा कमला विष्टलाई संयोजक बनाउने निर्णय गरिएको थियो।’

तर, सर्वसम्मत पार्टीको बैठकबाट अध्यक्ष बनेकी कमला विष्टलाई मान्दै भनी आधा घण्टापछि त्यहि दिन पूर्वमहिला संघकी संयोजक मान कुमारी थापाको नेतृत्वमा केही महिलाले विरोध जुलुस निकालेको एक स्रोत बताउँछ। उनीहरूले एकलौटी रूपमा पार्टीले निर्णय गरेको भनी विरोध जनाएका बताइएको छ।

सोही विवादलाई लिएर गत असार महिनाको तेस्रो साता डडेल्धुरा महिला संघमा विवाद उत्पन्न भएको थियो। उक्त विवाद कुटपिटमा नै पणिरत भएको थियो। केन्द्रीय समितिबाट एकाएक संघको जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालीन उपाध्यक्ष तथा परशुराम नगरपालिकाकी उपाध्यक्ष कलापति बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको एकपक्षीय रूपमा पत्राचार गरिएपछि उक्त विवाद उत्पन्न भएको थियो। तत्कालीन संयोजक कमला विष्ट मल्ल पक्षकी हुन भने तत्कालीन उपाध्यक्ष कलापति बोहरा रघुवर भट्ट पक्षकी हुन्।

फेरि थप तेस्रो धार!

दुई गृट रहेकोमा थप एक नयाँ धारको उदय भएपछि कांग्रेस डडेल्धुरा छताछुल्ल भएको छ। ‘नेपाली कांग्रेस सुदृढीकरण अभियान’ को नाम दिएर एक समूहको यतिबेला जिल्लामा चर्चा चलेको छ। कांग्रेस डडेल्धुरामा चरम गृटबन्दी देखिएकाले ती मनमुटावलाई साम्य पार्न उक्त समूह बनेको कांग्रेस डडेल्धुराका महाधिवेशन प्रतिनिधि रहेका सोही समूहका हरिप्रसाद भट्ट बताउँछन्।

‘स्थानीय तहको चुनावको शिलशिलामा बढेको व्याप्त गुट उपगुटलाई त्यागेर समग्र कांग्रेस एकजुट हौं भनेर पवित्र उद्देश्यका हामीले एउटा कार्यक्रम नै राखेका छौँ’ उनले भने ‘त्यसमा दुवै गुटका कार्यकर्तालाई आमन्त्रण गरेका छौँ। पार्टी सुदृढीकरण गर्ने उद्देश्य रहेकाले त्यसलाई फरक धार भन्न सकिन्नँ।’

चरमरूपमा भएको गुटबन्दीका कारण जिल्लामा कांग्रेस कमजोर हुने अवस्था रहेकाले ‘नेपाली कांग्रेस सुदृढीकरण अभियान’ सुरु गरेको अमरगढीका नगरपालिकाका पूर्वमेयर तथा पूर्वमहासमिति सदस्य मोहनराज पाठकले बताए। ‘नेपाली कांग्रेसलाई बलियो बनाउनेबाहेक कुनै अन्य उदेद्श्य छैन’ उनले भने ‘सबैसँग समन्वय गरेर गुटलाई कमजोर बनाइ सबैले कांग्रेस हुँ भन्ने वातावरण बनाउन अभियान थालेका हौँ।’

अभियानबारे पार्टीसँग सहकार्य गर्नुभयो की भएन भन्ने प्रश्नमा उनी भन्छन् ‘जानकारी त सबैलाई छ, तर आधिकारिकरूपमा जानकारी गराएका छैनौँ, हरेक कुरामा जानकारी गराइराख्नुपर्छ जस्तो पनि लाग्दैन।’

सुदृढीकरण अभियानबारे पार्टीको आधिकारिक धारणा

उता सुदृढीकरण अभियानका नाममा पार्टी विरोधी गतिविधि भइरहेको डडेल्धुरा कांग्रेसको ठहर गरेको छ। नेपाली कांग्रेसको जागरण अन्तर्गत आफ्ना वडाका कार्यक्रममा नजाने तथा तथा पार्टीको बैठकमा समेत उपस्थित नहुनेले पार्टी सुदृढीकरण अभियान थाल्नु आफैँमा हास्यास्पद भएको पार्टी जिल्ला सभापति कर्णबहादुर मल्लले बताए।

‘पार्टीमा आएर छलफल गरेर त्यस्ता कार्यक्रम गरे सबेको सर्मथन रहन्छ तर पार्टीको जिल्ला कार्यसमितिमा कुनै पनि किसिमको सल्लाह र समन्वयन नगरी पार्टी संगठनलाई कमजोर बनाउने र पार्टीको विधान नीति र पद्दती विपरितका कार्यक्रम गर्नु संगठन विरोधी गतिविधि हो’ उनले भने ‘नेपाली कांग्रेसको नाम जोडेर संगठन सुदृढीकरण अभियानका नाममा गतिविधि सञ्चालन गरिनु पार्टी र संगठनको आधिकारिकतालाई चुनौती दिने काम हो।’

‘म एकपटक उहाँहरूलाई सोध्न चाहन्छु जागरण अभियानका कार्यक्रममा कतिपटक उपस्थित हुनुभएको छ’ मल्ले अगाडि थपे ‘यसरी तिनै व्यक्तिले पार्टीविपरीत गएर कार्यक्रम गर्नु निराधार हुनेछ।’

पार्टीले एक विज्ञप्ति निकाल्दै पार्टी र संगठनको आधिकारितालाई चुनौती दिने अभ्यास रोक्न आग्रहसमेत गरेको छ। नेपाली कांग्रेस डडेल्धुराले कांग्रेस संगठन सुदृढीकरण अभियान डडेल्धुराका नामबाट भइरहेका गतिविधिहरू तत्काल रोक्न आग्रह गरेको छ।

पार्टीको जिल्ला कार्यसमितिमा कुनै पनि किसिमको सल्लाह र समन्वयन नगरी पार्टी संगठनलाई कमजोर बनाउने र पार्टीको विधान नीति र पद्दती विपरीतका संगठन विरोधी गतिविधि भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस डडेल्धुराले पार्टी र संगठनको आधिकारितालाई चुनौती दिने अभ्यास रोक्न सम्बन्धित व्यक्तिहरूलाई आग्रहसमेत गरेको छ। कांग्रेस डडेल्धुराले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरूमा डडेल्धुरामा कांग्रेस संगठन सुदृढीकरण अभियानका नाममा भइरहेका गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो।

कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा कांग्रेसले देशभर दुई चरणको गाउँ जागरण अभियान सम्पन्न गरिसकेको र डडेल्धुरा जिल्लामा समेत पार्टी संगठन सुदृढीकरणका लागि जिल्ला कार्य समितिबाट पटकपटक विविध कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको अवस्थामा पार्टी पद्धती र नीतिविपरीत पार्टीको आधिकारिक नेतृत्व र जिल्ला कार्य समितिसँग कुनै समन्वय नगरि नेपाली कांग्रेसको नाम जोडेर संगठन सुदृढीकरण अभियानका नाममा गतिविधी सञ्चालन गरिनु पार्टी र संगठनको आधिकारिकता लाई चुनौती दिने अभ्यास भएको ठहर गरिएको उल्लेख छ।

यस्ता कार्यहरू जुनसुकै व्यक्तिबाट भएको भए पनि पार्टीको संगठनात्मक संरचनाको कार्यविपरीत भएकोले यस्ता गतिविधिहरूको भर्त्सना गर्नु आम कांग्रेसजनको कर्तव्य भएको विज्ञप्तिमा जनाइएको छ। ‘नेपाली कांग्रेस डडेल्धुरा यस्ता गतिविधिहरू नगर्न र नगराउन सम्बन्धित सबैमा आग्रह गर्दै पार्टीलाई क्षति पुगाउने किसिमका यस्ता गतिविधिहरूमा सहभागी नहुन पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरूका साथै सिंगो पार्टी पंक्तिलाई हार्दिक आह्वान गर्दछ’ विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, नेपाली कांग्रेस संगठन सुदृढीकरण अभियान डडेल्धुराका नामबाट विभिन्न भ्रामक सूचना र समाचार सम्प्रेषण गरिएको जानकारी प्राप्त हुन आएकोले पार्टीको आधिकारिक व्यक्तिबाट पुष्टि नभएका समाचारहरू सम्प्रेषण नगरि दिनहुन सम्पूर्ण प्रबद्ध पत्रकारहरुलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

पार्टीको केन्द्रीय कार्यसमितिले निर्देशन गरेबाहेक डडेल्धुरा जिल्लामा पार्टी संगठन सुदृढीकरणका लागि कुनै सिर्जनात्मक कार्यक्रम गर्नुपर्ने देखिएमा पार्टीका जिम्मेवारी व्यक्तिहरूले जिल्ला कार्य समितिलाई लिखित सुझाव प्रदान गर्न र यस्ता कार्यक्रमहरू जिल्ला कार्य समितिबाट पारित गरेर कार्यान्वयन गरिने विज्ञप्तिमा जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.