आफन्त र जन्मथलो सम्झेर बगाउँछन् आँसु

|

दमक झापा : दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ७३ वर्षीय बहादुर विकको निधार ४ वर्षदेखि खाली छ। दिदी-बहिनी पुनर्वास भएर अमेरिका पुगेसँगै उनको तिहार पनि हरायो। श्रीमती पनि बिरामी भएर माइती भारतको जयगाउँ पुगेकी छन्।

चाडपर्वको बेला एक्लै हुँदा झनै नराम्रो लाग्ने भएकाले आफू पनि तिहारका बेला उतै जाने योजना रहेको उनले सुनाए। भुटानमा मनाएका चाडपर्वको अनुभूति उनले सुनाउनै मन गरेनन्।

‘सुनाएर के गर्नु। जति सम्झियो उति बिरक्त लाग्छ। बरु बिर्सने बल गरो त्यही आनन्द’ शिविरमा एक्लै हिँड्दै गरेका उनले भने,‘आफन्त र रमाइलो गर्ने केही कुरै नभएपछि के दशैं, के तिहार, सबै उस्तै हो। हामी शरणार्थीलाई त चाडबाड नआएकै जाती।’

पीडा उनको मात्रै होइन, जबव चाडपर्व आउँछन्, तब ६३ वर्षीया तुलसीमाया दुलालको मन उदास हुन्छ। बजारभरि रङ्गीबिरङ्गी माला र बत्तीको झिलिमिलीले त तिहारको बेला उनलाई झनै बिरक्त लाग्छ। उनी मात्र होइन, अढाई दशकदेखि झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीलाई हरेक चाडपर्वले आफन्त र जन्मभूमिको यादले पिरोल्छ।

बेलडाँगी शिविरकी दुलालले त दशैंको टीका पनि आफन्तको हातबाट लगाउन पाएकी छैनन्। केही आफन्त भुटानमै छुटे, केही नेपाल आएर तेस्रो देश पुगे। उनी र उनको परिवारचाहिँ शिविरमै छ।

‘मलाई त के को दशैं न तिहार, दशैंमा मन लागे पुरोहितको हातबाट टीका लगाउँछु। तिहारको त मेलै हुँदैन’, यमपञ्चक आउनै लाग्दा शिविरको छाप्रोमा भेटिएकी उनले भनिन्, ‘एकजना दाइ भुटनमै थिए। उनी पनि १२ वर्ष अघि बिते। भेटै नभए पनि माइती छन् भन्ने थियो। ती पनि बितेपछि सकियो।’

चाडपर्व आउँदा रमाइलो होइन। झनै उदाशी र न्यास्रोपना बढ्ने उनको अनूभूति छ। भुटानको न्याउलीमा छँदा मनाएका दशैं र तिहारका यादले यस बेला उनलाई बेस्सरी सताउने गरेको छ।

‘उता हुँदा त के थिएन। सबैथोक थियो र पो चाडपर्व आउँदा खुसी आउँथ्यो। अहिले त के छ र चाडपर्व आउँदा खुसी हुनु?’, भुटानको स्मरण शुरु गर्नै लाग्दा उनलाई आफ्नै प्रश्नले निरुत्तरित बनायो। 

झलझली भुटान

चाडपर्व शुरु भएपछि सबैभन्दा बढी सताउने वृद्धवृद्धालाई हो। भुटानमा आफ्नै पौरखले आर्जेको सम्पत्ति छोडेर शिविरमा कष्टकर जीवन बिताउनुपर्दा उनीहरूलाई सधैँ भारीले थिचे जस्तो हुन्छ। यस्तै अनुभूति छ ८१ वर्षीया जवरमाया राईको। ‘भुटानमा हाम्रो के थिएन। गोठ थिएन, कि खेत थिएन। कि बगान थिएन। सारा थियो’, एकैछिन् भुटान साम्चीका दिन सम्झिँदा उनी भावुक बनिन्।

आफ्ना चाडपर्व, खानपान, रमाइलोमा कसैको खटनपटन थिएन। तर जब तिनै चाडपर्व र संस्कार संस्कृति मनाउन नपाउने दिन आए, उनीहरू लखेटिए। जति रमाइलो गर्नु, चाड मनाउनु ती सबै भुटानमै छोडेर आएको उनले सुनाइन्। शिविरमा मनाएका दशैं, तिहार जस्ता कुनै पनि पर्वले भुटानमा छँदाको खुसी दिन नसकेको उनले बताइन्। ५८ वर्षीया मैना राईका भने दाजुभाइ अझै शिविरमैै रहेकाले तिहारमा भेटघाट गर्ने योजनामा छन्।

दशैं, तिहारमा भेटघाट भन्दा अरु केही रमाइलो नै नगर्ने उनले सुनाइन्। ‘रमाइलो गर्न त मन पनि रमाइलो हुनु पर्‍यो नि’ उनले भनिन्,‘हामी शरणार्थीलाई यस्ता चाडपर्व त आउनु भन्दा नआएकै जाती।’  

पछिल्लो पुस्ता अभ्यस्त हुँदै

नेपालमै जन्मी हुर्किएका भने नेपाली शैलीमा अभ्यस्त हुँदै गएका छन्। अभावबीच पनि पर्व मनाएर खुसी हुन उनीहरूले सानैदेखि सिके। भुटानको कथा मात्र सुनेका उनीहरूलाई त्यहाँको न्यास्रो लाग्दैन। तर आफन्त नै टाढिएपछि उनीहरूको न्यास्रोले चाहिँ सताउँछ। बेलडाँगी-२ की लक्ष्मी गुरुङले आफ्नो परिवार भुटानको सुरेबाट आएको भन्ने मात्र सुनेकी छन्। उनी शिविरमै आएपछि जन्मिएकी हुन्।

त्यसैले उनी यतैको जीवनशैलीमा अभ्यस्त बनिन्। तर चाडपर्वको बेला भने आफ्ना टाढिएको कुराले चाहिँ साह्रै नमीठो बनाउँछ। पुनर्वास भएर उनका भाइबहिनी अमेरिका पुगेका छन्। केही आफन्त क्यानडामा छन्।

त्यसैले ५ वर्षदेखि दशैं तिहार उनीहरूको सम्झनामै बिताएको उनले सुनाइन्। उनी जस्ता धेरै माइती र चेलीबेटी अहिले चाडपर्वका बेला भेट हुन पाउँदैनन्।तेस्रो देश पुनस्थापनाका कारण धेरैका आफन्ता बिभिन्न  ठाउँमा छरिएका छन्। 

दाताले माया मारे

भुटानबाट लखेटिँदै नेपालका शिविरमा आएर बसेको केही वर्ष उनीहरूले कपडा, पौष्टिक आहार, साबुन, दाल–चामल, नुन-भुटुन, विद्यार्थीलाई कापी-कलम र विद्यालय सबै कुरा पाए। तर केही वर्षदेखि यस्ता राहत सामग्री कटौती हुन थाले।

एक दशक अघि जब शरणार्थी समस्याको समाधान गर्ने भन्दै बिभिन्न मुलुक पुर्‍याउने प्रक्रिया शुरु भयो। त्यसपछि त राहत कटौतीले तीव्रता पायो। हुँदा-हुँदा अहिले त उनीहरूले केही पाउँदैनन्।

एकातर्फ राहत कटौती,अर्कातर्फ परिवार बिखण्डनको पीडा खपिनसक्नु भएको छ उनीहरूलाई। एकै परिवारका केही व्यक्ति पनि तेस्रो देश पुगेका र केही शिविरमै छन्। त्यहीकारण हरेक चाडपर्वले उनीहरूलाई उकुस-मुकस बनाउने गर्दछ। वृद्धा जबरमायाले भनिन्,‘अहिले त केही दिन छोड्यो। यिनै नाति नातिनाको मुख हेरेर बाँचेको छु। यिनैको मायाले मात्र बचाएको छ।’

राहत कटौतीले उनीजस्ता वृद्धवृद्धा र बालबालिका बढी समस्यामा परेका छन्। भुटानबाट लखेटिएर झापा र मोरङका ७ शिविरमा उनीहरूलाई राखिएको थियो। तर तेस्रो देश पुन:स्थापनाका कारण एकलाख भन्दा बढी शरणार्थी बिभिन्न मुलुक पुगेका छन्।

शरणार्थीको संख्यासमेत करिब ६ हजार मात्र बाँकी भएपछि शिविरहरू कटौती भए। हाल झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविर मात्र छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.