|

काठमाडौं : वर्षको सबैभन्दा बढी विद्युत् माग हुने दिन हो, लक्ष्मी पूजा। सबैजसो घर तथा व्‍यापारिक भवनहरू उज्यालो बनाउन घरभित्रका सबै बत्ती बाल्नुका साथै रंगीचंगी बत्तीहरू बालिन्छ। चार वर्ष पहिले यही गर्न नपाउँदा सर्वसाधारण सरकारलाई धिकार्थे, तीन वर्षदेखि नेपाल विद्युत् प्राधिकरण र कुलमान घिसिङ धन्‍य भनिरहेका छन्। 

२०७३ कात्तिकमा नेपालमा ६ घण्टाको लोडसेडिङ तालिका प्रयोगकर्ताले भित्तामा टास्थे। तिहारको समयमा बिजुलीको प्रयोग थप हुने भएकोले बढी बत्ती जाने गर्थ्यो। १८ घण्टासम्म लोडसेडिङमा बसेका जनतालाई तिहारको समयमा ६ घण्टा मात्रै लोडसेडिङ हुने तालिका हातमा रहेकोमा विद्युत् प्राधिकरण र कुलमान घिसिङमाथि प्रशंसा सुरु भइसकेको थियो।

६ घण्टाको लोडसेडिङ तालिकाका बीच  वर्षको सबैभन्दा बढी बिजुली प्रयोग हुने दिन लक्ष्मी पूजाको दिनसमेत काठमाडौंमा बत्ती नकाटिएपछि काठमाडौंवासीलाई आश्‍चर्यको विषय बन्यो। धेरैले आफ्नो घरसँगै कोही माथिल्लो तहमा बसेको व्यक्तिका कारण बत्ती नगएको अनुमान गरेका थिए।

तर, काठमाडौं उपत्यकासहित काभ्रेमासमेत हप्तौंसम्म अपवादबाहेक बत्ती नकाटिएपछि प्रयोगकर्ताले बल्ल थाहा पाए लोडसेडिङ हुन छोडेछ। 'अब कहिल्यै बत्ती नजाओस्, कुलमान घिसिङलाई विनाअवरोध काम गर्न देऊ' सडकमा खुसियाली र्‍याली सुरु भएको थियो।

दशकौंदेखि योजना र  कागजी रणनीतिमा लोडसेडिङ मुक्त बनाउने,  विद्युत् निर्यात गर्ने  विषय कोरिए पनि व्यावहारिक रूपमा भने नेपाललाई उज्यालोतर्फ डोर्‍याउन २०७३ कात्तिकबाट सुरु भएको विश्‍लेषकहरू बताउने गर्छन्।

२०७३ कात्तिक  

२०७३ लक्ष्मी पूजाको दिन काठमाडौंमा ३२५ मेगावाट विद्युतको माग थियो। नेपाल विद्युत् प्राधिकरणले त्यसदिन ३३० मेगावाट विद्युत् काठमाडौंलाई व्यवस्थापन गर्‍यो। 'उपत्यकामा लक्ष्मी पूजाको दिन ३२५ मेगावाट बिजुलीको माग थियो तर ३३० मेगावाट विजुलीको व्यवस्थापन हामीले गरेका थियौं' नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  भने।

२०७३ लक्ष्मी पूजाको दिनबाट काठमाडौंमा लोडसेडिङ अन्त्य भएकोमा अहिलेसम्म काठमाडौंवासीले लोडसेडिङको मार खेप्‍नुपरेको छैन। 

यसरी गरिएको थियो समाधान

तत्‍कालीन समयमा काठमाडौंमा मात्रै पनि लोडिसेडिङ अन्त्य हुने विषय निकै चुनौतीपूर्ण रूपमा मानिएको थियो। कसरी सम्भव भयो भन्ने विषय चासोको विषय थियो। २०७३ भदौमा माथिल्लो मर्स्याङदी आयोजनाको २५ मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको, कुलेखानी, हेटौंडामा रहेको १० मेगावाटको डिजलप्लाण्ट सञ्चालनमा ल्याएको लगायतका व्यवस्थापनको कार्य गरिएको थियो। 

'विद्युत उत्पादन र त्यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याउनु नै महत्वपूर्ण हो, उत्पादन भएको बिजुलीलाई सकभर प्रयोगमा ल्याउने गरी काम गरेको कारण लोडसेडिङ मुक्त गर्न सम्भव भएको थियो हो' प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने। 

त्यस वर्ष तिहारको समयमा नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाट बिजुली आपूर्ति गरेको थियो। कार्यकारी निर्देशक घिसिङ र उपकार्यकारी निर्देशकहरू खटिएका थिए।

अब  खपत बढाउन आग्रह

२०७३ सालमा सर्वसाधारणलाई सरप्राइज दिएको नेपाल विद्युत् प्राधिरकणले २०७४ र २०७५ सालमा आवश्‍यकताअनुसार विद्युत् खपतको लागि आग्रह गर्‍यो। तर, अहिले वर्ष भने जतिसक्यो विद्युत् खपत बढाउनको लागि आग्रह गरेको छ।

२०७३ लक्ष्मी पूजाको दिन ९६० मेगावाटको विद्युत् खपत गरेको विद्युत् प्राधिकरणले अहिले भने १४ सय मेगावट विद्युत् प्रयोग हुँदा पनि आवश्‍यक व्यवस्थापन गरेको जनाएको छ। 'हाम्रो प्रक्षेपण अधिकतमा १३ सय मेगावाटको खपत हुनेछ, तर तयारी १४ सय मेगावटको छ' घिसिङले भने, 'बत्ती जान्छ कि भनेर पीर मान्न पर्दैन तर आफ्नो सिष्टमले कति धान्छ त्यस विषयमा भने ध्यान दिनुपर्‍यो'

प्रधिकरणले किचेन विद्युत् प्रयोग गर्न र अन्य कार्यमा पनि विद्युत् प्रयोग बढाउन आग्रह  गरिरहेको छ। हिउँदको समयमा प्राधिकरण विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ। 

यस्तो छ अहिलेको तयारी

२०७३ सालमा ९६० मेगावाटको विद्युतमा पनि भारतको भरपर्नुको विकल्प नरहेको प्राधिकरण यो वर्षसम्म भने देशमै १ हजार मेगावाट विद्युत भइरहेकाले सहज अवस्थामा छ  तिहारमा हुनसक्ने प्राविधिक समस्याका समाधानको लागि कार्यकारी निर्देशक कुलमान घिसिङसहिको टोली खटाएको छ।

लक्ष्मी पूजाको दिन तीन सय मेगावाट विद्युत् आयात गर्ने तयारीमा प्राधिकरण रहेको छ। ‘यो वर्ष त्यति धेरै प्राविधिक समस्या आउने सम्भावना छैन, यदि त्यस्तो भइहाल्यो भने देशैभर हाम्रा कर्मचारी तयारी अवस्था छन्, हामी जतिसक्यो छिटो बिजुली प्रवाह गर्ने अभियानमा हुनेछौँ।’

लक्ष्मी पूजाको दिन कार्यकारी निर्देशक घिसिङ आफैँ स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरको बिजुलीको माग र आपूर्ति अवलोकन गर्ने कार्यक्रम छ।

सम्बन्धित समाचार:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.