हामीले परिवार भेट्न नपाए पनि अरूले सहजै पाऊन्

|

काठमाडौं :  मखमली फूलले शहरका चोकचोक रंगीएका छन्। मंगल धून मठमन्दिरमा गुञ्जिन थालेका छन्। आफन्त भेट्ने तिर्सना पूरा गर्ने परदेशिएका युवाको घुइँचो एयरपोर्टमा उस्तै छ। टोलटोलमा देउसी-भैलोका आवाजसँगै हरेक हिन्दू धर्मावलम्बीहरूको मनमा तिहारको रौनकता छाएको छ।

तिहार रङ र फूलको मात्र होइन‚ रंगीन बत्तीले गाउँदेखि शहरसम्म उज्यालो बनाएको छ। तर, ट्राफिक प्रहरीमा आबद्ध मीनाकुमारी शाहीलाई भने ट्राफिक व्यवस्थापन गर्न भ्याइनभ्याई छ।  

उनको घर दैलेख हो। हाल ट्राफिक महाशाखामा कार्यरत उनी ट्राफिकको रूपमा कार्यरत भएको १० वर्ष भयो। जागिरको दौरानमा उनलाई चाडपर्व आएको गएको थाहा छैन। 

'घरमा सबैजना हुनुहुन्छ। उहाँहरूले फोन गर्छन्। तर, फोनबाट नै टीका लगाएको महसुस गराउनुबाहेक भौतिक रूपमा गाउँ पुगेको छैन।' 

यद्यपि, यसलाई भयंकर इस्‍यु मान्दिनन् उनी। सम्भव भएसम्म घर जाने न हो। नत्र बाल्यकालका सम्झना छन्। ट्राफिक कार्यालयभित्र पनि अनेक कार्यक्रम हुने हुँदा गाउँको याद आउँदैन उनलाई। तर, परिवारको फोनले भने यस्तो बेला अलि नरमाइलो लाग्‍ने उनले बताइन्।

बाल्यकालमा घरमा अन्य सदस्य पनि ट्राफिक प्रहरी भएको देख्दा उनलाई पनि यसै क्षेत्रले तानेको हो। 'यो ड्रेस लगाउन पाए कस्तो हुँदो हो भन्ने लागिरहन्थ्यो। त्यो सपना र रहर पूरा भएको छ। रहर पूरा भएपछि चाडपर्व गौण हुँदा रहेछन्।' उनले सुनाइन्।

'सबै चाडपर्वमा घर जानुपर्छ भन्ने होइन। टाढाटाढा जानुपर्ने यात्रुको सहजता गरिदिनु नै हाम्रो दैनिकी हो। चाडपर्वको बेला उहाँहरूलाई यात्रा सहज बनाउनु नै ठूलो कुरा। हामीले परिवार भेट्न नपाए पनि हाम्रो कारणले कसैले सहजै परिवार भेट्न पाउँछ। एकले गुमाउँदा अर्काले पाउने न हो।' उनले कति सजिलै आफू ट्राफिक हुनुको सन्तुष्टि सुनाइन्।

यस्तै, अर्का सेतुसिंह थापा  पनि ट्राफिक जवानको रूपमा ट्राफिक महाशाखामा कार्यरत छन्।

बर्दिया स्थायी घर भएका उनी महाशाखामा आउनभन्दा पहिले जनपथमा कार्यरत थिए। जनपथमा १० वर्ष आबद्ध भएर हाल डेढ वर्षदेखि उनी ट्राफिक महाशाखामा आइपुगेका छन्।  ट्राफिक प्रहरी चोकचोकमा बस्नुपर्ने सहज भने पक्कै छैन। यो ११ वर्षको दौरानमा उनी तीनचोटि घर पुगे। उनी भन्छन्, 'म त भाग्यमानी हुँ ३ पटक घर पुगेको छु।' तिहारमा ६ चोटि घर पुगेका छन् उनी।

अन्य बेलामा घरको साथी भाइको खासै याद पनि हुँदैन उनलाई। आफ्नो काम नै आफ्नो मुख्य विषय हो। तर, चाडबाडमा भने उनको मन पनि थामिँदैन। मन उडेर घर पुग्छ। आखिर मन हो। तर, ट्राफिक कार्यालयभित्र आफ्नै परिवार जस्तो छ उनलाई। चाडवाडको बेलामा गाउँ पुग्न नपाउँदा साथीहरूले कहिलेकाहीँ धेरै गुनासो गर्छन् उनीसँग। 'आफ्नै देशमा पनि  विरानो परदेशी भइस यार।' यो कुरा थापालाई पनि हो जस्तो लाग्छ। 

परिवारमा दुई भाइ र एक बैनी छन् उनका। 'भाइ कोहलपुरमा कार्यरत छन्। यसपालि भाइ जान्छ होला', उनी अनुमान गर्छन्। 

बुबा आमा शिक्षित हुनुहुन्छ। तर, चाडवाडका बेलामा भने कन्भिन्स गर्नै गार्हो हुन्छ नै। 'सबैका परिवार जम्मा हुँदा आफ्ना पनि छोराहरू आइदिए भन्ने चाँहि कुन आमा बुबालाई हुँदैन र?' उनले सुनाए।

'सानैदेखि देशको सेवा गर्छु भन्ने लागेर नै यस क्षेत्रमा लागेका हुन् उनी। सँगैका साथी परदेशी बने। आफूलाई भने परदेशी हुन् मन लागेन। पढेर केही गर्छु भन्ने लाग्यो। पढ्दा पढ्दै यतातिर लागियो।' उनी खिस्स हाँस्छन्। 

प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत गुल्मी धुर्कोटका देविराम भण्डारी पनि ट्राफिक महाशाखामा कार्यरत छन्।

उनी ट्राफिक प्रहरीमा आबद्ध भएको १३ वर्ष भयो। चाडबाडको बेलामा राष्ट्रसेवक कर्मचारीहरू घर जान पाउँदैनन् भन्ने कुरा आफू यस क्षेत्रमा लाग्नुपूर्व नै थाहा भएकोले नरमाइलो चाहिँ लाग्दैन उनलाई। तर, मानवीय स्वभावले बर्दी हेर्दैन। आफ्नो अधिकार र दायित्व पनि हेर्दैन। सधैँ अरू निधारभरी टीका र माला लगाएर हिँड्दा  मनै चुकुचुक हुने उनले बताए। 

परिवारमा दुई दाजुभाइ र दुई दिदिबहिनी  छन् उनका। उनी घरका कान्छा हुन्। तिहारमा धेरैजसो एक भाइको भागमा एक दिदी पर्ने बताए। तिहार एउटा चेली एउटाको भागमा पर्छन्। उनी काठमाडौं उपत्यकाभित्र सेवामा लागेको ७ वर्ष भइसकेको छ। उनी घर जान पाएका छैनन्।

'हरेक वर्ष अर्कोपटक जान पाउने खुशीले हरेक वर्षको तिहार टर्छ।' उनले भन्छन्, 'प्रहरीले हरेक परिवारलाई कन्भिन्स गराएको हुन्छ। हरेक राष्ट्रसेवक कर्मचारीका बाबुआमाले पनि आफ्नो सन्तान किन घर आउन पाउँदैनन् भन्ने कुरा बुझेका हुन्छन् भन्ने लाग्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.