|

ओखलढुंगाः ओखलढुंगाको पश्चिमी भेगसँग जोड्ने रामपुर–लप्सेखोला सडकखण्डको कालोपत्रे निर्माण कार्यमा ढिलाइ भएको छ। निर्माण कम्पनीले विभिन्न कारण देखाई सडक निर्माण कार्य  सुस्त गतिमा गरिरहेको छ। सडक निर्माण कार्य सुरु गर्दा ठेकेदारले काम तीव्र गतिमा गरे पनि चाडबाड र वर्षाको कारण देखाएर रोकिएको काम अझै सुरु नभएको स्थानीय बताउँछन्।

हिलोका कारण साना सवारीसाधन आवतजावत गर्नै नसक्ने भएको छ। सडक फराकिलो पार्न खनिएको माटो ढुंगा सडकमै छोडेपछि ओखलढुंगा–रामपुर सडक खण्डमा सवारी सधन आवतजावत गर्न समेत समस्या भएको छ।

ठेकेदारले काम जथाभावी गरेर छाडेपछि सडकमा साना गाडी चलाउनै नसकिने अवस्था आएको स्थानीय दुर्गा धमलाले बताइन्। पछिल्लो समय काम रोकिएपछि हिलो र खाल्डाखुल्डी भएकोले मोटरसाइकल समेत चलाउनै नसकिने उनले जानकारी दिइन्।

दैनिक दर्जनौ यातायातका सवारी साधन आवत जावत गर्ने सडकको अहिलेसम्म निर्माण नहुँदा सरोकारवाला निकाय मौन रहेको उनले आरोपसमेत लगाइन्।

नेपाल सरकारको भूकम्प आपतकालीन परियोजना अन्तर्गत कालोपत्रेको काम सुरु भएको ओखलुंगा–रामपुर–लप्सेफेदी सडकको निर्माण थालिएको एक वर्ष बिते पनि सुस्त गतिमा काम हुँदा सर्वसाधारण मारमा परेका छन्।

परियोजनाअन्तर्गत सिद्धिचरण नगरपालिकाबाट मोलुङ गाउँपालिका-२, रामपुरसम्म कालोपत्रे र रामपुरदेखि हर्कपुरको लप्सेसम्म ग्राभेलिङ गर्नेगरी गएको वर्ष नै ठेक्का लागेर काम सुरु भएको थियो।

चाडबाड तथा झरीका कारण काम रोकिए पनि अब तिहारपछि लगत्तै धमाधम काम सुरु हुने निर्माण कम्पनीको दाबी छ। सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाबाट गौरी पार्वती निर्माण सेवाले ठेक्का पाएको हो।

पहिलो चरण अन्तर्गत सडकको चौडा पार्ने काम सकिएको इन्जिनियर सरोज केसीले बताए। नेपाल सरकारको आफ्नै परियोजना भएकोले प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा नपाउने भएकोले स्थानीय आक्रोसित भएका छन् ।

परियोजनाले रामपुरसम्म १६ किलोमिटर कालोपत्रे गर्ने छ भने सडकको चौडाइ ६ दशमलव २५ मिटर बनाउने छ। अर्को खण्ड रामपुर लप्सेखोलासम्म ७ दशमलव ६२ किलोमिटर भने ग्राभेल गरिने २०७५ असारमा सम्झौता भएको थियो। सडक सम्पन्न गर्ने अवधि ५ सय ४०  दिन अर्थात् १८ महिना रहेको छ। भ्याटसहित सम्झौता रकम २९ करोड ९९ लाख ६० हजार रुपैयाँ छ।

चालू अवस्थामा रहेको सडकको बीचबाट दायाँबाँया ५र५ मिटरसम्म स्थानीयको जग्गा उपयोग गर्नेछ । यस बापत् स्थानीयले घर जग्गा नै परे पनि कुनै क्षतिपूर्ति पाउने छैनन्।

यो सडक कालोपत्रे भएपछि ओखलढुंगाको पश्चिमी क्षेत्र चम्पादेवी, लिखु लगायतका स्थानीयलाई सदरमुकाम आवतजावत गर्न थप सजिलो हुनेछ। यसले साँघुटार–घोराखोरी–ओखलढुंगा सडकलाई समेत जोड्ने भएकाले चासोका साथ हेरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.