'फेक फोटो र भिडियो' भाइरल बनाएको जिकिर

|

एजेन्सी : हङकङमा भएको आन्दोलनमा फेसबुकको भूमिकाप्रति स्थानीय प्रशासनले असन्तुष्टि जनाएको छ। फेसबुकमा गरिएका केही पोष्टहरू ‘आधारहीन र अपमानजनक’ भएको भन्दै हङकङ प्रहरीले त्यस्ता पोष्ट हटाउन फेसबुक मुख्यालयलाई पत्र लेखेको छ।

अमेरिकास्थित फेसबुक हेडक्वार्टरले पत्र प्राप्त भएको पुष्टि गरेको छ। ‘हामीले हङकङमा जारी आन्दोलनसँग सम्बन्धित केही सामग्रीबारे प्रहरीबाट दुईवटा पत्र प्राप्त गरेका छौं,’ फेसबुकका प्रवक्तालाई उधृत गर्दै चिनियाँ पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ। यद्यपि ती प्रवक्ताले प्रहरीको अनुरोधलाई सम्बोधन गर्ने–नगर्नेबारे प्रष्ट पारेका छैनन्।

फेसबुकले हङकङ मामिलामा दोहोरो व्यवहार गरेको र राजनीतिक रुचि देखाएको चिनियाँ पक्षको आरोप छ। ‘केही पोष्ट यस्ता छन्, जसमा प्रहरीले मान्छे मारेको र महिला आन्दोलनकारीलाई दु:ख दिएको आरोप लगाइएको छ। ती आरोप निराधार र अपमानजनक छन्,’ हङकङ प्रहरीले भनेको छ।

पहिलो पत्रमा त्यस्ता पोष्टहरू हटाउन अनुरोध गरेको प्रहरीले दोस्रो पत्रमा ‘आफ्नो आग्रहको सुनुवाइ नभएकोमा’ असन्तुष्टि पोखेको छ। ‘यसबाट फेसबुकको पक्षपातपूर्ण व्यवहारको पुष्टि हुन्छ,’ एक चिनियाँ सुरक्षा अधिकारीले भने, ‘त्यसका नियमकानुन र मापदण्डहरू पश्चिमा मान्यतामा आधारित छन्, जानिबुझीकन त्यसो गरिएको हाम्रो बुझाइ छ।’

आफ्नो बारम्बारको अनुरोधलाई लत्याइएपछि हङकङ प्रशासनले फेसबुक हेडक्वार्टरलाई पठाएका चिठीहरू सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.