जाजरकोट : पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पामा खाद्यान्न बिक्न सकेको छैन। सवैको पहुँचमा नभएको खाद्य डिपोकै कारण समस्य हुँदै आएको छ।
सडक सञ्जालमा डोल्पा जोडिए सँगै गाउँ, गाउँमा खाद्यान्न पुगेसँगै खाद्यान्नको चामल बिक्री नभएको हो। भूगोलको हिसावले सवै भन्दा ठूलो रहेको डोल्पामा पायक पर्ने ठाउँमा खाद्यान्न डिपो नहुँदा चामल बिक्री हुन नसकेको खाद्य संस्थानले जनाएको छ। नेपाल खाद्य संस्थान डोल्पाका प्रमुख कमलराज पाण्डेकाअनुसार तल्लो डोल्पामा ४ वटा खाद्यान्न डिपो रहेका छन्।
जिल्ला सदरमुकाम ठुलिभेरी नगरपालिकाको दुनै, जुफाल, मुड्केचुला गाउँपालिकाको सर्मी, जगदुला गाउँपालिकाको काइगाउँमा खाद्य संस्थानका डिपोहरू रहेका छन्। त्यस्तै तल्लो डोल्पाको लिकु, उपल्लो डोल्पाको सहरतारा, तेन्जेमा बिक्री केन्द्र रहेको छ। अहिले स्थानीय तहको माग अनुसार उपल्लो डोल्पाको छार्का, रिर्मीमा नयाँ बिक्री केन्द्रका लागि केन्द्रमा माग गरेर पठाएको छ।
केन्द्रमा पठाए पनि स्वीकृति भएर आइनसकेको प्रमुख पाण्डेले बताए। भूगोलका हिसावले ठूलो र छरिएर रहेका वस्ती धेरै भएका कारण खाद्यान्नको चामल सवैको पहुँचमा नहुँदा प्रयोग गर्ने स्थानीयवासी कम भएका हुन्। सडक विस्तारसँगै गाउँ, गाउँमा खाद्यान्न पुगेको र खाद्यान्न डिपोहरू भएका ठाउँ एक दिन हिड्नुपर्ने ठाउँमा भएका कारण खाद्यान्नको चामल खरिद गर्ने स्थानीय कम भएको स्थानीय तहका प्रमुखकहरूको भनाई छ।
बजारमा पाइने चामलको मूल्य भन्दा खाद्य संस्थानमा पाइने चामलको मूल्य कम भए पनि टाढाबाट ढुवानी गर्दा धेरै रुपैयाँ पर्ने भएको भन्दै स्थानीय वजारको चामलमा निर्भर भएका हुन्। संस्थानको जिरा चामल प्रतिकेजी ६३ रुपैयाँ ५० पैसा पर्दछ भने वजारमा ८४ रुपैयाँ केजी पाइने गरेको प्रमुख पाण्डेले बताए।
दुनैमा अहिले संस्थानको २५ केजीको चामलको मूल्य १६ सय छ भने बजारमा पाइने जिरा चामलको मूल्य २ हजार २०० रहेको उनले बताए। उपल्लो डोल्पामा रहेका बिक्री केन्द्रमा अहिले चामलको गेँडासम्म नभएको बताएको छ। चिसो मौसम बढेसँगै यहाँका स्थानीय बिक्री केन्द्रमा आए पनि चामल नपाएर फर्किएको फोक्सुण्डो गाउँपालिका ३ का इम गुरुङले बताए।
तल्लो डोल्पामा भएका डिपोहरू पायक पर्ने ठाउँमा नभएका कारण बिक्री केन्द्र थप्नुपर्ने स्थानीयको माग रहेको छ। खाद्य डिपो आउन र जान मात्र एक दिन लाग्ने भएकाले बोकेर टाढा लिन समस्य हुने गरेको मुड्केचुला गाउँपालिका ३ काशिलका रामबहादुर रोकायले बताए।
अहिले दुनैमा २ हजार ८ सय क्विन्टल, जुफालमा १ हजार ८ सय क्विन्टल, काइगाउँ डिपोमा १ हजार ५ सय क्विन्टल चामल मौजदात रहेको छ। यातायात पुगेको ठाउँबाट स्थानीय व्यापारीले सजिलै गाउँमा घोडा, खच्चडमा खाद्यान्न ढुवानी गरेर ल्याइ बिक्री गर्न थालेपछि टाढा रहेको डिपोमा गएर चामल ल्याउन नपरेको जगदुला गाउँपालिका ६ का श्रम रोकायले बताए।
जाजरकोट-डोल्पा सडक खण्डको ट्याक खुलेर गाउँ, गाउँमा सडक लिएसँगै खाद्यान्न लगायतका अन्य सामग्री ढुवानीमा सहज हुँदै आएको छ। उपल्लो डोल्पामा चिसो बढिसकेकोले त्यहाँ बस्नेत स्थानीय खाद्यान्नको जोहो गर्न दुनै झरेका छन्।
उपल्लो डोल्पामा रहेका बिक्री केन्द्रमा चामल लिनका लागि काठमाडाैं हुँदै केरुङबाट चाइना हुँदै उपल्लो डोल्पाको तेन्जे लिनुपर्ने र सिधै ढुवानी गर्न अनुमति नपाइने भएकोले अव बैशाखमा मात्र चामल ढुवानी हुने संस्थानले बताएको छ।
उपल्लो डोल्पामा चामल लिनका लागि चाइनाको बाटो प्रयोग गर्नुपर्ने भएकाले ढुवानी प्रक्रिया झन्झटिलो भएको हो। खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले उपल्लो डोल्पामा चामल ढुवानी गर्न भारी प्रक्रिया पूरा गर्नुपर्ने संस्थानले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।