उद्घाटन खेलमा आयोजक र सिक्किम भिड्ने

|

इलाम : आगामी कात्तिक १६ गतेबाट हुने हाम्रो पुर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ । 

५ वटा ए डिभिजनका क्लब सहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको तयारीबारे आयोजक जायन स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। 

यसअघि असोज ११ गतेबाट ८ वटा क्लबलाई सहभागी गराएर प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको थियो । तर प्रतियोगिता हुनुभन्दा २ दिन अघि मौसम प्रतिकुल भएपछि स्थगित भएको थियो।  

त्यसपछि दोश्रो पटक आयोजकले अखिल नेपाल फुटबल संघ(एन्फा) सँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो। 

एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कात्तिक १६ को मिति तय भएको हो। एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल हुने गरी प्रतियोगिता हुन लागेको छ। 

प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्यारापिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनाश राईले जानकारी दिए । उनले १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताए।  

उद्घाटन खेलमा आयोजक र सिक्किम भिड्ने

डोमालाल राजवंशी रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामक एफसी आमने–सामने हुने भएका छन्। 
यसअघि पहिलो पटक तय गरिएको प्रतियोगिताको मिति र खेल तालिकामा आयोजक टोली थिएन । प्रतियोगितामा आयोजक जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब, मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहनेछ । 

थ्रीस्टारको स्थानमा हिमालयन शेर्पा 

यसअघि थ्री स्टार क्लबले सहभागिता जनाउने प्रतिवद्धता जनाए पनि शेख कमाल गोल्डकपमा जाने भनेर सहभागिता फिर्ता लिएको थियो । तर शेख कमालमासमेत थ्रीस्टारले सहभागीता नजनाउने भएको छ । 

थ्री स्टारको ठाउँमा हिमालयन शेर्पा क्लबसँग परामर्श भइरहेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले बताए । प्रतियोगिताको लागि हिमालयन शेर्पाको सहभागीता न्यून छ । 

शेर्पाको तयारी कम भएको कारण प्रतियोगितामा सहभागीता अन्यौल रहेको क्लब हेर्दै आएका बिजेन्द्र पुडासैनीले बताए ।  नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ब्राण्ड एम्बेसेडर बनाएको छ । 

प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउने छन् ।  गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । 

झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ र बिर्तामोडका युवा व्यवसायी सजेश सिवाकोटीले उक्त मोटरसाइकल प्रायोजन गरेका हुन् । 

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.