|
फाइल फोटो

काठमाडौं : संघीय संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको मुद्दा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डिएनए र पोलिग्राफ परीक्षण हुन सकेको छैन।

महराविरुद्ध सरकारी वकिलको कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको र सार्वजनिक पद दुरुपयोग गरेको भन्दै मुद्दा दर्ता भएको छ।

२५ दिनको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुद्दा दर्ता गरेको हो।

आफूमाथि लागेका आरोपको सरकारी वकिलसामू इन्कारी बयान दिएका महराले पोलिग्राफ परीक्षण गर्न भने मानेका छैनन्। बिरामी भएर झन्डै २३ दिनयता नर्भिक अस्पतालमा उपचाररत उनले पोलिग्राफ परीक्षण गर्न इन्कार गरेका हुन्। यौन दुर्व्यवहारको आरोपमा इन्कारी बयान दिएपछि प्रहरीले पोलिग्राफ परीक्षण गर्न खोजेको थियो।

अपराधका घटनामा आरोपित व्यक्तिले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले थप प्रमाण जुटाउन पोलिग्राफ परीक्षण गर्ने अभ्यास छ। जसबाट अभियुक्तले कुन कुरा गलत बोलिरहेको छ र कुन कुरा सही भनिरहेको छ भन्ने छुट्टिन्छ। तर, जसको पोलिग्राफ परीक्षण हुनुपर्ने हो उक्त व्यक्ति पूर्ण रूपमा स्वस्थ हुनुपर्ने हुन्छ। साथै पोलिग्राफ परीक्षणका लागि सम्बन्धित व्यक्ति सहमत पनि हुनुपर्ने हुन्छ। 

महरा उपचाररत भएको र चिकित्सकले पनि पोलिग्राफ परीक्षणका लागि उनको स्वास्थ्यले साथ नदिने भनेपछि उनले पोलिग्राफ परीक्षण गर्न नमानेको स्रोतले बताएको छ।

डिएनए : अदालतको आदेश पालना भएन

काठमाडौं जिल्ला अदालतमा तेस्रो पटक म्याद थपका लागि उपस्थित गराइएका महरालाई जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेले डिएनए परीक्षणका लागि रगतको नमूना दिन आदेश दिएको थियो।

प्रहरीले दिएको निवेदनलाई स्वीकार गर्दै न्यायाधीश पाण्डेले सात दिनको म्याद दिएर डिएनए परीक्षणका लागि आदेश दिएका थिए। यसबीचमा प्रहरीले डिएनए परीक्षण गर्न सकेको छैन। महराले आफूले डिएनए परीक्षणका लागि रगतको नमूना दिने बताए पनि स्वास्थ्यको कारण देखाउँदै आनाकानी गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।

महरा निकट स्रोतका अनुसार डिएनएका लागि रगतको नमूना दिन उनी तयार छन्। तर, नर्भिक अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकले केही दिन पर्खिन भनेपछि तत्काल नमूना नदिइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.