जम्मा अनुमानित लागत ६४ अर्ब रुपैयाँ

|

काठमाडौं : माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुन लगायतका उच्च अधिकारीको उपस्थितिमा  कोरियाली कम्पनी एनडब्लुइडिसी, विश्व बैंकअन्तर्गतको आइएफसी र  ९  वित्तीय संस्थाले लगानी सम्झौता गरेका छन्।

यो आयोजनाको कूल अनुमानित लागत ६४ करोड ७४ लाख डलर अर्थात् ६४ अर्ब रुपैयाँभन्दा बढी छ। जसमध्ये ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणदाताबाट, १९ अर्बको संस्थापक सेयर र बाँकी लगानी ऋणमार्फत् जुटाइने उल्लेख गरिएको छ।

आयोजनामा जुटाइने ऋणमा आइएफसीले १६६.३ मिलियन डलर, कोरियाली एक्जिम बैंकले १०० मिलियन डलर, एसियन पूर्वाधार लगानी बैंकले ४० मिलियन अमेरिकी डलर र एसियाली विकास बैंकले ६० मिलियन डलर ऋण लगानी गर्नेगरी सम्झौता गरिएको छ। बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) ले ३०.८ मिलियन डलर लगानी गर्ने भएका छन्। त्यसैगरि कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्‍न तीन बैंकको पनि यस आयोजनामा लगानी रहेको छ। 

अर्थमन्त्री र ऊर्जा मन्त्रीकाे उपस्थितिमा काेरियन कम्पनी र अन्तर्राष्ट्रिय वित्त निगमकाे नेतृत्वमा नाै अन्तरास्ट्रिय बित्त कम्पनीबीच सम्झाैता गरिएकाे हो। यो आयोजनामा नाै कम्पनीबाट ४५३ मिलियन डलर वित्तीय व्यवस्थापन गरिएकाे छ।

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र कम्पनीबीच २०७३ पुष १४ गते आयोजना विकास सम्झौता गरेका थिए। सरकारले माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालिसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) पनि गरिसकेको छ।

यो आयोजनामा स्व-पुँजी (इक्विटी)को अंश २० प्रतिशत र ऋणको अंश ८० प्रतिशत तोकिएको छ। स्वदेशी लगानीमा निर्माण हुने अन्य आयोजनालाई जस्तै माथिल्लो त्रिशूली-१ लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ। 

सम्झौतामा २१६ मेगावाट उत्पादन क्षमता रहेको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनामा भित्रिएको लगानी नेपालका जलविद्युत आयोजनामा ल्याइएको ठूलो रकमको प्रत्यक्ष वैदेशिक लगानीमध्ये एक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.