आइजिपी खनालले लिएका थिए विशेष चासो

|

हेटौंडा : साढे ६ वर्ष अगाडी हेटौंडा–३ मेनरोडकी विन्दवासिनी कंशाकारलाई तेजाब छ्याप्ने दिलीप राज केसरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेर सार्वजनिक गरेको छ। 

‘विन्दवासिनी एसिड काण्ड’को रूपमा सनसनी मच्चिएको उक्त घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।

२०७० साल वैशाख ९ गते बिन्दबासीनीलाई तेजाब प्रहार गरी विभिन्न स्थानमा लुक्दै भाग्दै गरेका भारत महाराजगन्ज अमर पसर्वन–६ का दिलीप राज केशरीलाई बारा जिल्ला प्रहरीबाट प्रहरी नायव निरीक्षक सागर शम्सेर जबराको विशेष टोली र मकवानपुर प्रहरीको टोलीले संयुक्त रूपमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। 

प्रहरीले केशरीलाई  जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

बिहे गर्न नमान्दा आक्रमण

फुपूका छोराको मिल्ने साथीको रूपमा परिचय भएको भारतीय नागरिक दिलिपराज केशरीसँग बिन्दबासिनीको पहिलो भेट उनै फुपूको छोराको विवाहमा भएको थियो। 

त्यसपछि कहिलेकाहीँ फाट्टफुट्ट भेट भइरहने केशरी फुपूको घरमा बराबर आइरहन्थ्यो। केटीहरूसँग बढी नजिकिन खोज्ने स्वभावको केशरी त्यसपछि हेटौंडाको मेनराडमा अवस्थित बिन्दबासिनीको पसलमा पनि आउन थाल्यो। 

कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउन थाल्यो। अनावश्यक फोन गर्न थाल्यो। फोनबाटै प्रेम प्रस्ताव राख्न भ्याएको केशरीले एक दिन त विन्दवासिनीलाई विवाहको प्रस्तावसमेत राख्यो।

केशरीलाई विन्दवासिनीले आफू ऊसँग विवाह गर्न नसक्ने कुरा बताउँदै सम्झाउने प्रयास गरिन तर, उसले आफूलाई त्यसै गरी प्रस्तुत गर्दै थियो। 

केशरीले दैनिकी नै असर पार्ने गरी पटक पटक भेट्ने र विवाहको प्रस्ताव स्विकार्न बाध्य पार्न थालेपछि विन्दवासिनीले सबै कुरा आफ्नो परिवारमा राखिन्। भोलिपल्ट बिहानै पसलमा बसिरहेकी विन्दवासिनीलाई भेट्न आएको केशरीलाई विन्दवासिनीका बुबा मधुसूदनले सम्झाए। 

त्यतिखेर सबै कुरा सम्झेझैँ गरेर पसलबाट बाहिरिएको केशरी उसको मिल्ने साथी अर्थात् विन्दवासिनीको फुपूको छोरासँग मेलामा स्टल राख्न चितवन गयो।

केशरीले तेजाब छ्याप्ने भारतमा लुकेर बसेका थिए। वैशाख ९ ममी बाबाको विवाह भएको दिनलाई भव्य बनाउने तयारी हुँदै थियो। विन्दवासिनी पसलमा बसिरहेको समयमा आएर तेजाब हानेर केशरी फरार भएको थियो। 

त्यति बेला एकाएक पसल अगाडि केशरी देखा प¥यो, विन्दवासिनीले नदेखेझैँ गरिन्। हातमा महको बट्टा बोकेको केशरी हँसिलो अनुहार पारेर फेरी कतै हरायो। एक्कै छिन पछि फेरी हातमा त्यही महको बट्टा बोकेर पसलको टेबलमै आयो।

यो मह घरमा देऊ ल ? यति भनेर उसले बिर्को खोल्यो। विन्दवासिनीले सोच्नै नपाइकन त्यो मह भनिएको वस्तु अनुहारमा छ्यापेर केशरी त्यहाँबाट भाग्यो। 

आफूतर्फ छ्यापिएको वस्तुलाई मह नै सम्झेकी विन्दवासिनीले भतभती पोल्न थालेपछि चिच्याउन थालिन्। विन्दवासिनीको चिच्याहट सुनेर बुबा, आमा, दाइ आत्तिँदै आए। छोरीको अनुहारमा कसैले तेजाब खन्याइ दिएको थाहा पाएका बाबुले रुँदै कराउँदै पानी खन्याउन थाले। 

अतालिएका मधुसूदनले छोरीको जिउमा ट्याङ्की रित्याउञ्जेलसम्म पानी खन्याए। कक्षा १२ मा अध्ययनरत १९ वर्षीय विन्दवासिनीको त्यस दिनदेखिको ३ वर्ष नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा बित्यो। आज पनि उपचार जारी छ। उपचारमा झन्डै ६० लाख खर्च भयो र खर्च हुने क्रम जारी छ।

सुन्दर भविष्यको कल्पनासहित सफलतातर्फ दौडिरहेको दैनिकी एकाएक रोदन र छटपटाहट परिणत भयो।

आँखा झिम्काउन सक्दिनन्

कंशाकरले आँखा चिम्लेर ननिदाएको ६ वर्ष भयो। विन्दवासिनीका अनुसार तेजाबले अनुहार, छाती र शरीरका कतिपय अङ्गहरू जलाएपछि उपचारमा लाखौँ खर्च भएको र उपचारपछि धेरै हद सम्म निको भए पनि तेजाबको असरले च्यातिएको आँखाको डिल नजोडिएर आँखा चिम्लिन र झिम्क्याउन मिल्दैन। तेजाबले असर गरेको ठाउँमा दैनिक लगाउनुपर्ने क्रिम र आँखामा लगाउने औषधिको मासिक खर्च २० हजार छ। 

फाँसी कि जन्मकैद

फरार रहेका केशरीलाई शुक्रवार मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै गर्दा कंशाकार आक्रोशित बनेकी थिइन्। उनले रिस थाम्न नसकेपछि पत्रकार र प्रहरीकै अगाडी दिलीपलाई झम्टिन पुगिन्।

प्रहरीकै अगाडि रुँदै झम्टिन पुगेपछि उनलाई समातेर शान्त बनाइएको थियो। उनले केशरीलाई फाँसीको सजाय दिन माग गरिन्। 

तेजाब प्रहार गरेर भाग्नेलाई फाँसी दिन नसके जन्मकैदको सजाय दिनुपर्ने भन्दै गर्दा भावुक भएकी थिइन्। उनले आक्रोश व्यक्त गर्दै भनिन्, ‘प्रहरीले फाँसी वा जन्मकैद गर्न नसके हेटौंडा बजारमा छोडिदिनुस्, यहाँका जनताले सजाय दिन्छन्।’ 

तेजाब प्रहारबाट दशैभरका पीडितलाई पनि उनले नेपाल प्रहरीमाथि विश्वास गर्नसमेत आग्रह गरेकी छिन्। उनले प्रहरीप्रति जनताको विश्वास अझै बढ्ने बताएकी हुन्। 

सर्वेन्द्र खनालले हेरेको केश

नेपालमा तेजाब आक्रमणको घटना थोरै मात्रै हुने बेला थियो २०७० साल। त्यति बेला अहिलेका प्रहरी महानिरक्षक सर्वेन्द्र खनाल पर्सा जिल्लाका प्रहरी उपरीक्षकको रूपमा रहेका थिए। 

हेटौंडामा घटना हुनेबित्तिकै पीडक केशरी पर्सा जिल्ला हुँदै भागेको हुन सक्ने प्रहरीको अनुमान रहेको थियो। त्यही समयदेखि नै खनालले यो मुद्दामा विशेष चासो देखाएका थिए। 

प्रहरी महानिरीक्षक भएपछि पनि उनले पटक पटक यो घटनामा चासो देखाएको मकवानपुर प्रहरी प्रवक्ता यज्ञ प्रसाद भट्टराई बताउँछन्। 

कंशाकार परिवारले प्रहरीलाई दिएको सूचनाको आधारमा बारा प्रहरी र मकवानपुर प्रहरीले माथिल्लो तहमा रिर्पोटिङ गरेपछि बारा प्रहरीले विशेष रूपमा पीडकको विषयमा भारतीय प्रहरी र अन्य सीमाका इलाकाहरूमा निगरानी राख्न अनुरोध गरेको बारा प्रहरी स्रोतको भनाई छ। 

उक्त निर्देशन अनुसार नै बारा जिल्ला प्रहरीबाट प्रहरी नायव निरीक्षक सागर शम्सेर जबराको विशेष टोली र मकवानपुर प्रहरीको टोलीले संयुक्त रूपमा पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। 

१२ वर्षसम्म कैद

युवतीमाथि तेजाब प्रहार गरेर फरार रहेका केशरी पक्राउ परेसँगै प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको प्रवक्ता भट्टराईले जानकारी दिए। 

उनलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.