तरकारीको आयात बढ्यो, डिजेल पेट्रोलको घट्‍यो

|

काठमाडौं : चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा नै नेपालले उल्लेख्य रूपमा अन्तर्राष्ट्रिय व्यापार घटाएको छ। गत वर्षको  तीन महिनाको अवधिसँग तुलना गर्ने हो भने १२ प्रतिशतले व्यापार घटेको छ।

निर्यात व्यापार नगण्य भएको अवस्थमा आयात व्यापार घट्दा मात्रै अन्तर्राष्ट्रिय व्यापार घटेको परिणाम देखिन्छ। यसका बाबजुद १४ प्रतिशत निर्यात व्यापार पनि घटेको छ।

यस वर्ष जसरी व्यापार घटिरहेको छ। गत वर्षको परिणाम अघिल्लो वर्षको तुलनामा बढेको थियो। व्यापार घाटा निरन्तर बढेको अवस्थामा शोधानान्तर चाप परिरहेको थियो। अहिले जसरी खुकुलो भएको छ।

‘व्यापार घाटा बढ्यो मात्रै हैन, दाँत आउने बेलामा ज्वरो आएजस्तो हो अहिलेको व्यापार घाटा सामान के आयात भएको छ, यसको परिमाण हेर्नुपर्छ’ गत वर्षको पहिलो चौमासिक समीक्षाका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए।

अहिले त्यस्तैगरी व्यापार घटिरहेको अवस्था छ। अब भने राजस्वमा चाप बढेको देखिएको छ अघिल्लो वर्ष जसरी शोधानान्तरमा चाप परेको थियो।अर्थमन्त्री खतिवडाले भनेजस्तै गत वर्ष आयात भएका सामानले उत्पादन बढाएको र अहिले आयात घटेको यथार्थ हो त?

कहाँ घट्यो आयात?

तीन महिनाको अवधिमा ३९ अर्ब रुपैयाँको आयात घटेको छ। खाद्यान्न, तरकारी  पेय पदार्थ र कपडाको आयात बढेको अवस्था छ। तर, कहाँ घटेको छ त आयात। हामीले मुख्य गरी बढी आयात घटेको सामग्रीको सूची निकालेका छौँ, करिब ३५ अर्ब रुपैयाँ कमी आएका सात वस्तु तथा पदार्थको सूची निकालेका छौँ।

फलाम र स्टिल

व्यापार घाटा घटाउनुमा सबैभन्दा ठूलो योगदान फलाम र स्टिलको रहेको छ। यी दुवै वस्तु नेपालमा उत्पादन भएको कारणभन्दा पनि प्रयोग नै कम भएको देखिन्छ। गत वर्षको तीन महिनाको अवधिमा ४० अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो।

चालू आर्थिक वर्षको तीन महिनामा गत वर्षको तुलनामा करिब १३ अर्ब रुपैयाँले कमी आएको छ। भन्सार विभागको तथ्यांकअनुसार तीन महिनाको अवधिमा २७ अर्ब ८६ करोड रुपैयाँको फलाम र स्टिल आयात भएको छ।

एयर क्राफ्ट र यसका पाटपुर्जा

व्यापार घाटा घटाउनुमा एयर क्राफ्ट र यसका पाटपुर्जा आयात घट्नु अर्को कारण छ। तीन महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँले सामान कम आयात भएको छ।

गत वर्षको साउनदेखि असोजसम्मको अवधिमा १६ अर्ब ८७ करोड ८८ लाख रुपैयाँको यस्तो सामान आयात भएको थियो। चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म जम्मा ६ अर्ब ४१ करोड ३९ लाखको आयात भएको छ।

लोडसेडिङ अन्त्यको प्रभाव डिजेलको आयात घट्यो

लोडसेडिङ कम हुन लागेसँगै आयात घट्दै गएकोमा चालू आर्थिक वर्षमाको तीन महिनाको तथ्यांकमा पनि यसको प्रभाव देखिएको छ। तीन महिनाको अवधिमा गत वर्षको तीन महिनाको तुलनामा डिजलको आयात पाँच अर्ब ४५ करोड रुपैयाँले कमी आएको छ। डिजेलको बढी आयात सवारीसाधन र उद्योगमा प्रयोग हुने गरेकोमा सवारीको आयात घटेको र उद्योगमा पनि लोडसेडिङ नरहेको कारण आयात घटेको हो।

आर्थिक वर्ष २०७५/७६ को तीन महिनाको अवधिमा डिजेलको आयात २५ अर्ब ६१ करोड रुपैयाँको रहेको थियो भने चालू आर्थिक वर्षको तीन महिनामा २० अर्ब १६ करोड रुपैयाँको डिजेल आयात भएको छ। परिणाममा मात्रै नभई गत वर्षको तुलनामा मूल्यमा आएको कमीले पनि यसको प्रभाव देखिन्छ।

हेलिकोप्टरको आयात भएन

गत वर्षको तीन महिनामा हेलिकोप्टर र त्यसका पाटपुर्जा किन्न दुई अर्ब रुपैयाँ विदेश पठाएकोमा चालू आर्थिक वर्षको दुई महिनामा भने यस्तो आयात भएको छैन। यस हिसाबले दुई अर्ब रुपैयाँको व्यापार घाटा घट्नुमा सोझो प्रभाव हेलिकोप्टर र यसको पार्टपुर्जाको आयात नहुनु देखिन्छ।

सवारी र पाटपुर्जा

सवारीसाधन रेलवे लिंकमा सामान र तीनका पाटपुर्जाको नाममा गत आर्थिक वर्षको तीन महानको अवधिमा नेपालले २९ अर्ब ४८ करोड रुपैयाँ बारबरको सामान आयात गरेको थियो। चाल आर्थिक वर्षको सोही अवधिमा  तीन महिनामा गत वर्षको परिणाम आधारमा दुई अर्ब १२ करोड रुपैयाँ कमी देखिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा यस्तो वस्तुको आयात २७ अर्ब ३४ करोड ८८ लाख रुपैयाँ बरारको रहेको छ।

खाद्य उद्योगमा पनि कम आयात

खाद्य उद्योगमा आवश्‍यक पर्ने सामाग्रीहरू पनि यस आर्थिक वर्षमा कमी आएको देखिएको छ। गत वर्षको तीन महिनाको अबधिको तुलनामा खाद्य उद्योग तथा पशु र चरहरूको लागि आवश्‍यक पर्ने सामाग्रीको आयात एक अर्ब १६ करोड रुपैयाँले घटेको छ।

आर्थिक वर्ष २०७५/७६ को तीन महानको अवधिमा यस्तो सामग्रीको आयात चार अर्ब ३९ करोड रुपैयाँको रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब २३ करोड रुपैयाँको छ।

 यी सामग्रीको पनि घट्यो आयात

चिनी र चिनी मिठाईको आयातमा ४५ करोड रुपैयाँ घटेको छ। गत वर्ष एक अर्ब १० करोड रुपैयाँको यस्तो सामान आयात भएकोमा चालू आर्थिक वर्षको तीन महिनामा ६५ करोड रुपैयाँको आयात भएको छ।

परिमाणको हिसाबले पेट्रोलको आयात बढे पनि मूल्यको हिसाबले पेट्रोलको आयात पनि गत वर्षको तुलनामा २० करोड रुपैयाँले कमी छ। तर, परिणामको हिसाबले भने १९ हजार किलोलिटर बढी आएको छ। गत वर्षको तीन महिनामा एक लाख ३६ हजार किलोलिटर पेट्रोल नौ अर्ब ५२ करोड रुपैयाँमा आयात गरेकोमा चालू आर्थिक वर्षमा एक लाख ५७ हजार किलोलिटर पेट्रोल नौ अर्ब ३२ करोड रुपैयाँमा आयात गरेको छ।

कस्मेटिक र शौचालयको सामग्रीमा पनि २० करोड रुपैयाँ कमीको आयात भएको छ। गत वर्ष तीन महिनाको अवधिमा यस्तो सामग्री तीन अर्ब ६ करोड रुपैयाँको आयात भएकोमा चालू आर्थिक वर्षमा दुई अर्ब ६६ करोड रुपैयाँको आयात भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.