हेटौंडाः सूर्यको पूजा गरेर मनाइने छठ पर्व पछिल्लो समय पहाडी जिल्लाहरूमा समेत मनाउन थालिएको छ। छठ पर्वले दुई समुदायबीच साम्रादायिक सदभाव सिर्जना हुन थालेको समाजशास्त्रीहरू समेत बताउँदै आएका छन्।
विशेष गरी मधेसी समुदायले मनाउने गरिएको छठ पर्व अहिले पहाडी समुदायको पनि बाक्लो सहभागितामा मनाउन थालिएको छ। हेटौंडा उपमहानगरपालिका १ की अप्सरा न्यौपाने छठी माताको पूजा गर्दा रोग र समस्याबाट मुक्ती मिल्छ भन्दै ५ वर्षदेखि निरन्तर वर्त बसिरहेको बताउँछिन्। आफ्नो घरमा व्यवसाय गरेर बसेका मधेसी मुलका साथीले छठ पर्व मनाउन थालेपछि आफू पनि ५ वर्ष देखि मनाउन थालेको उनले बताइन्।
हेटौंडा ४ कमलडाँडाकी सबिता शर्माको परिवार नै यो छठमा व्रत बसेका छन्। उनीहरू छठको पहिलो दिनदेखि नै माछामासु, लसुन, प्याज, कोदो, मसुर नखाएर शुद्ध भई बसेको र छठी माताको पूर्णविश्वास रहेको बताउँछन्।
दशैं-तिहार जसरी नै छठ मनाउन थालेको उनले बताइन्। यस्ता थुप्रै पहाडी समुदायका व्यक्ती, परिवार हेटौंडाको राप्ती तटमा छठी माताको ब्रत बसेको भेटिन्छन्। प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुरको हेटौंडामा पछिल्लो समय मधेसी समुदाय भन्दा पहाडी समुदायको धेरै संख्यामा छठ पर्वमा सहभागी भएका छन्।
छठ पर्वले धार्मिक आस्था मात्रै नभई सामाजिक सद्भाव पनि जोडिएकोले पछिल्लो समय पहाडी समुदायको पनि बाक्लो सहभागिता रहेको छठ पूजा समारोह समिति हेटौंडाका उपाध्यक्ष रवि गुप्ताले बताए। उनले प्रत्येक वर्ष छठ पर्व मनाउनेहरूको संख्या समेत बढ्दै गएको बताए। यसवर्षको छठपर्वमा १ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए।
मानव सभ्यता, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्य उपासनाको परम्परा एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा पनि गरिने गरिन्छ। मानव सभ्यताको विकास नदी किनारबाट भएको र यसको जगेर्ना गर्ने मानिएको सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश छठ पर्वले दिने जनविश्वास छ। व्रत बस्नेले छठको पहिलो दिनदेखि नै माछामासु, लसुन, प्याज, कोदो, मसुर नखाएर शुद्ध भई बस्ने गर्दछन्।
छठ पर्वले धोती र टोपीको सम्बन्ध बलियोः मुख्यमन्त्री पौडेल
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठी माताको पूजा गरेका छन्। उनले शनिबार साँझ हेटौंडाको राप्ती तटमा छठी माताको पूजा आराधाना गरेका हुन्। छठी माताको पूजा गर्दै मुख्यमन्त्री पौडेलले पछिल्लो समय पहाडी समुदाय र मधेसी समुदायबीच सदभाव बढ्दै गएकोमा खुसी व्यक्त गरेका छन्। उनले छठ पर्वले धोती लाउने र टोपी लाउनेको सम्बन्ध बलियो बन्दै गएको बताए।
पूजा पश्चात उनले भने,'पहिले तराइका जिल्लाहरुमा र विशेष गरी मधेसी समुदायले मात्रै मान्दै आएका छठ पर्व अहिले पहाडी जिल्लाहरूमा पनि भव्यताको साथ मनाउँदै आएका छन्। यस्ता पर्वहरूले सम्बन्ध, भातृत्व र प्रेमलाई प्रगाढ बनाउँछ।' उनले पर्वहरू विभिन्न समुदायले एक आपसमा मिलेर मनाउँदा साझा बन्दै जाने र साझा पर्व सामाजिक रुपमा विशेष महत्व रहेको बताए।
पूजा कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, प्रदेश सभा सदस्यहरू तथा जिल्लाका राजनीतिक व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।