आधा घण्टामै स्थगित गर्नुपर्ने बैठक दुई घण्टामा पनि चल्दैन

|

काठमाडौं : अर्थ समितिको बैठकमा कमै मात्र उपस्थित हुने पात्र हुन्, उद्योगी तथा सांसद मोतिलाल दुगड। परिचित उद्योगी दुगड निरन्तर सांसद भए पनि राजनीतिमा त्यति परिचित छैनन्।

उनी जस्तै जुली महतोको नाम पनि राजनीतिक वृत्तमा भन्दा व्यावसायिक क्षेत्रमा परिचित छ। अर्थमसितिमा ६ जना सदस्य व्यावसायिक क्षेत्रमा परिचित पात्र छन्। संघीय संसदमा २४ जनाभन्दा बढी। अरूको तुलनामा उद्योग व्यवसाय गर्नेहरूले समयको व्यवस्थापन र सदुपयोगको कोशिश गरिरहेका हुन्छन्।

उद्योगी व्यवसायीलाई सांसद बनाउँदा नीति, नियम निर्माणका बेला स्वार्थ जुध‍्ने भन्दै बच्‍ने उपाय पटक-पटक खोजी भएको छ। यसबारे विकल्प खोजिनुपर्ने विज्ञहरू बताउँछन्। सांसद भएपछि संसदलाई समय दिनु सदस्यहरूको कर्तव्य हो। तर उनीहरूले दिएको समय कति उपयोग भएको छ? यो महत्वपूर्ण प्रश्‍न हो।

मंगलबार संसदको अर्थसमिति बैठक र राज्य व्यवस्था समिति बैठक ११ बजे डाकियो। कोरम नपुगेपछि राज्य व्यवस्था समितिको बैठक स्थगित भएको एक घण्टामा अर्थसमितिको पनि बैठक स्थगित भयो। 

संसदीय नियमअनुसार संसदीय समितिका बैठक अधिकतम एक आधा घण्टासम्म ढिला गर्ने सुविधा छ। आधार घण्टासम्म नचले अर्को बैठक बोलाउनु पर्ने हुन्छ। एकै दिनमा तीन पटकसम्म बैठक बोलाउने सुविधा छ। 

मंगलबार ११ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा ११: १५ बजेसम्म सांसद् मोतिलाल दुगड, प्रमीला राई, समिति सभापति कृष्णप्रसाद दाहाल लगायतका आएका थिए।

११ बजेबाट सदस्यहरू आउन सुरु गरे र १२:५० सम्म आउने क्रम जारी रह्यो। अन्तिममा आउने सांसद हुन् जुली महतो। महतोसहित नौजना सदस्य बैठकमा उपस्थित भए। महतो भने बैठक स्थगित गर्ने निर्णयपछि पसेर हाजिर गरेर निस्किइन्।

बैठक नबसेपछि...

११ बजेका लागि बोलाइएको बैठकमा १२ : ४५ मा समिति सदस्य प्रमिला राई र मोतिलाल दुगडलगायतले आफूहरूबाट लिइएको हाजिरबारे चासो राखे। 'हामीलाई हाजिर गराइएको अर्थ के हो? रेकर्ड हुन्छ या हुँदैन?', उनीहरूले सोधे। त्यसपछि एक घण्टा ४५ मिनेट कुरेर बैठक स्थगित भएको जानकारी सभापति कृष्ण दाहालले गराएका थिए। 

त्यसपछि सांसदहरूको प्रश्‍नको उत्तर दिए, अर्का सदस्य पूर्वअर्थमन्त्रीसमेत रहेका सुरेन्द्र पाण्डेले। 'के भत्ता चाहियो?', उनीहरूको प्रश्नको आशय थियो वा थिएन, खुल्न सकेन। तर, पाण्डेले भत्ताको विषय नै उठान गरिदिए। सभापतिले थाहा नभएको बताए। सभापति दाहालले खास के सोध्‍न खोजेको भनेर प्रश्‍न गर्दै उनीहरूको आशय भत्ता नै भएको पाण्डेले पुन: प्रष्ट पार्ने प्रयास गरे। जिज्ञासा राख्ने सांसदले भने, 'भत्ता बुझे भत्तै हो।'

उनीहरूले आए नआएको विषयमा जानकारी लिन खोजेकोमा अर्बपति उद्योगीले भत्ताबारे चासो राखेको भन्दै दुगडप्रति केही सांसदले व्यङ्ग्य गरे। 'अर्बपतिले के को भत्ताको चासो राखेको होला, अरू समयमा त आउँदैनन्, आज एक दिन आएको के हुन्छ भनेर खोज्ने', एक सदस्यले भने।'

यस विषयलाई अर्की सदस्य रामकुमारी झाँक्रीले भत्ताको विषय नभइ जानकारी लिन खोजेको बताइन्। तर, ती सदस्यले भने 'यत्रो ठूलो व्यापारी सांसद हुने अनि बैठकमा आउँदा के हुन्छ भन्‍ने?  त्यही भत्ता खोजेको हो', रामकुमारीलाई जवाफ फर्काए। 

झाँक्री पनि के कम, 'पार्टीलाई उद्योगी व्यवसायी ठेकदार र डन नभइ चलेन हामीले के गर्ने त चुनाव जित्न ठेकदार चाहिने, अहिले व्यपारीले यसो भने भनेर कहाँ भयो र?,' उनले यसो भनिरहँदा उनकै पछाडि सांसद जुली महतो थिइन्। 

समयमको महत्व

अपवाद बाहेक कुनै पनि समिति आधा घण्टा ढिला नगरी सुरु भएका छैनन्। समयमा उपस्थित नहुनु र कम उपस्थित हुनु समिति सदस्यहरूको परिचय बनेको छ। तर समयमा आउने सांसद समस्यामा पर्ने गरेको स्वयम् उनीहरू नै बताउँछन्। मंगलबार बिहान ११ बजे समिति बैठकमा आएका सदस्यले एक घण्टा ४५ मिनेट बेकाममा खेर गएको भन्दै गुनासो गरे।

पूर्व अर्थमन्त्री पाण्डे भन्छन्, 'राजनीति गर्नेलाई भोटको महत्व हुन्छ। संसारभर नै यही हो, यहाँ गाली वा प्रशंसा गरेर के गर्नु? जनतासँग बस्यो भने त भोट आउँछ', यहीकारण बैठकमा सदस्यहरूको कम उपस्थिती हुने गरेको छ। यसले संसदलाई महत्व नदिने गरेको पुष्टि भएको पाण्डेको तर्क छ।

बैठकमा आउने सांसद र नआउने सांसदबारेको रेकर्ड रहने नरहनेबारेमा पनि सांसदहरूले जिज्ञासा राखेका थिए। बैठकमा हाजिर भएपछि भत्ता त आउँछ, के सबै सांसद भत्ताकै लागि मात्रै उपस्थित होलान् त?,' ती सांसद भन्छन्।

आउँछ त भत्ता

मंगलबार समितिमा उपस्थित सांसदहरूले भत्ता आउने नआउने थाहा नभएको प्रतिक्रिया दिए। सचिवालयका कर्मचारीले भने आफूहरूले हाजिर मात्रै पठाइदिने बताउँदै पैसाबारे थाहा नभएको बताएका छन्।

पूर्व अर्थमन्त्री पाण्डे भने दुई किसिमले भत्ता दिने भएकाले आउन सक्ने बताउछन्। 'हामीलाई ट्याक्सी खर्च र बैठक भत्ता दुई हिसाबले पैसा दिन्छन्' उनी भन्छन्, 'बैठक भए पनि नभए पनि आउने मान्छे आएपछि भत्ता लिनु स्वभाविक हो। बैठकस्थलसम्म पनि आउँदा समय पनि खर्च गर्छ। बैठक नहुनु उसको कमजोरी त होइन नि?'

उनले संसदबाट पारदर्शी ढंगले भत्ता लिने गरेको प्रतिक्रिया दिए। 'सरकारको विषयमा त्यति खोजी भएको पाइँदैन', उनले भने, 'थोरै र पारदर्शी रुपमा तलबभत्ता खाने सांसदको विषयमा धेरै चासो दिएको देखिन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.