इलाम : भोला सिलबाल चम्किएपछि विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपिएफ टिमलाई सडनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब हाम्रो पूर्वाञ्चल गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ।
खेलको सुरुवाती अग्रता एपिएफले लिएको थियो। हरि कार्कीले खेलको ३०औँ मिनेटमा पाएको अवसरलाई गोलमा परिणत गर्दै सुरुवाती दिलाएका थिए। नवीन लामाले गरेको प्रहारमा कार्कीले हेडर गोल गरेका थिए। पहिलो हाफमा १-० ले पछि परेको पुलिसले दोश्रो हाफमा बराबरी गोल फर्कायो।
खेलको ७०औँ मिनेटमा पुलिसका भेट्रान खेलाडी भोला सिलवालले खेल बराबरीमा ल्याए। निरकुमार राईलाई ४६औँ मिनेटमा प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका भोलाले सन्तोष हेमरमको पासलाई एपिएफका दुई डिफेन्डर बिट गराउँदै गोल गरे। निर्धारित समयमा दुवै टिमबाट १-१ गोल भएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो।
पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अन्जन राई र भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो भने सुमन लामा र हरि कठायतको प्रहार बाहिरिएको थियो। त्यस्तै, एपिएफका लागि सुदीप शिख्रकार, नवीन लामा, आशिष लामा र रवी थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए। उनी नियमित गोलरक्षक शत्रुधन चौधरीलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए।
खेलमा निर्णायक भूमिका खेलेका भोला म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे। पुलिस प्रि-क्वाटरमा घरेलु टोली झापा-११ लाई २-१ ले हराउँदै क्वाटर फाइनल प्रवेश गरेको थियो। बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।