'लिपुलेकमा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन'

|

दाङ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक त्रुटी गरेको बताएका छन्। प्रेस संगठन दाङले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले महराबाट अपराधिक नभइ नैतिक त्रुटी भएको बताएका हुन्। 

महराको विषय अदालती प्रक्रियामा भएकाले त्यसबारेमा  राजनीतिकरुपमा बोल्न त्यति उचित नभएको उनले बताए। 'त्यो घटना सुन्‍नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठाएँ', उनले भने, 'तर उहाँले सही कुरा बताउनु भएन। त्यसपछि म आफै जाँदा पनि उहाँले ढाँट्नु भयो। यो उहाँबाट अर्को गम्भीर गल्ती भयो।’ 

अध्यक्ष दाहालले महराले आफुले गरेको गल्ती स्वीकार गर्दै राज्य छानविन स्वीकारी कारवाही भोग्नु राम्रो भएको बताए। 'महराले गल्ती स्वीकार्नु आफ्नो लागि मात्र नभई राष्ट्रको चरित्रको लागि आवश्यक छ', दाहालले भने, 'फेरि नयाँ शिराबाट जनताको सेवामा आउने वातावरण बनाउनु नै उचित हुन्छ।'

भारतीय हस्तक्षेप अस्वीकार्य

अर्को प्रसंगमा प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्सामा राखेको भए कुनै हालतमा सहन नसकिने बताए। उनले आफु भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गरे। 'चीन र भारतसँग असहमति राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्नुपर्छ', दाहालले भने।

त्यसैगरी उनले यसबारेमा सरकारले कुटनीतिकरुपमा कुरा अगाडि बढाउने पक्रिया सुरु भइसकेको समेत बताए । अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताए । राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ नै उपयुक्त हुने भएकाले केन्द्र बनाउनुपर्ने बताए । 

अध्यक्ष प्रचण्डले दाङ विगतदेखि नै परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला भएकाले प्रदेशको केन्द्र बनाउन उपयुक्त रहेको बताए। 'यो प्रदेशको केन्द्र निर्माणमा दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्‍ने मेरो विश्वास रहेको छ’, उनले भने, ‘मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइको थिएँ। भोलि पनि गर्ने छु। ’ 

प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै उनले भने,'दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रियस्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्‍ने विश्वास छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.