१० दिनपछि सकुशल उद्धार, दबाबबीच सफल भयो प्रहरी

|
प्रहरीले गोली हानी पक्राउ गरेका दास अस्पतालमा उपचारार्थ।

पर्सा : प्रहरीले बनेपाबाट गएको कार्तिक १० गते अपहरणमा परेका बालकलाई सकुशल उद्दार गरेको छ। अपहरणकारीमध्ये एकजनालाई खुट्टामा गोली हानी बालकको उद्धार गरेको हो। पर्साको वीरगन्ज महानगरपालिका-२५ सिर्सिया घर भई काभ्रेको बनेपामा काम गर्दै आएका अम्जद खानको १४ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्दार गरेको हो।

अपहरणकारीमध्ये फिरौती रकम लिन नेपाल आएका पर्साको पोखरिया नगरपालिका-६ सोनवरी बस्ने वर्ष २० का राजकुमार दासलाई भने प्रहरीले पर्साको सिर्सिया खल्वाटोलाबाट खुट्टामा एक गोली हानी नियन्त्रणमा लिएको छ।

प्रहरी नियन्त्रणमा परेका दासले बच्चा राखेको ठाउँ बताएपछि अपहरित बालकलाई पनि पर्सा प्रहरीले भारतीय प्रहरीको समन्वयमा सकुशल उद्दार गरेको छ। 

पीडितले काठमाडौं अपराध महाशाखामा र पर्सामा दिएको उजुरीका आधारमा पिछा गरिरहेको प्रहरीले फिरौती बुझ्न आएका दासलाई एक गोली खुट्टामा हानी नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। अपहरणकारीले रकम दिन ल्यायो भनी पीडित खानको झोला खोसी हतियार देखाएर भाग्न थालेको समयमा दाहिने खुट्टामा गोली हानी पक्राउ गरियो उनले भने।

अपहरणकारीले सुरुमा १५ लाखबाट सुरु गरेको वार्गेनिङ १२ लाखमा आएर नघटी फिरौती रकम पाउने आशमा रकम बुझ्न खोजेका थिए। तर प्रहरीले त्यो केसलाई फलो गरिराखेकोले अभियुक्तमध्ये एकलाई घाइते बनाई नियन्त्रणमा लिएको उनको भनाइ छ। घाइते दासले दिएको लोकेशनका आधारमा बालकलाई अज्ञातस्थलबाट सकुशल उद्दार गरियो प्रहरी उपरीक्षक राठौरले भने।

गोली लागी घाइते भएकाबाहेक अरू पनि दुईजना अपहरणकारी घटनामा सम्लग्न भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताए। अपहरित बालकको भने सुरक्षा दृष्टिकोणले नाम सार्वजनिक गरिएको छैन। घाइते दासको भने वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

पक्राउ परेकाबाट पेस्तोलसहित विभिन्न समान बरामद

प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएका दासको साथबाट १ थान कटुवा पेस्तोल र त्यसका लाग्ने ४ थान गोली, अभियुक्त चढेर आएको बीआर २२ जे ०८०३ नम्बरको १ थान बजाज प्लाटिना मोटरसाइकल १ थान, मोबाइल १, र ब्लुटुथ इयरफोन १ थान र व्याग पनि १ फेला परेको पर्सा प्रहरीले जनाएको छ। चार थान गोली चाही प्रहरी नियन्त्रणमा परेका दासको पाइन्टको गोजीबाट फेला परेको पर्साका प्रहरी उपरिक्षक राठौरले बताए।

घटनाको विवरण पीडितकै शब्दमा

गएको कार्तिक ९ गते शनिबार साँझसँगै भएको छोरो १० गते आइतबार १० बजेपछि सम्पर्क भएन। आइतबार बिहान काममा निस्किएको म (अम्जद मिया धोवी) १० बजे छोरोले खाना बनायो होला भनी खान जाँदा मान्छे नै थिएन। मोबाइलमा सम्पर्क गर्दा त्यो पनि स्वीच अफ भन्यो।

कहीँ काममा गएको होला भनी फेरि काममा नै गएँ। बेलुकासम्म पनि छोरो आएन। आइतबार १० गते कार्तिकमा नै पर्सा घर जान पानस बसमा टिकट लिएको थिएँ। छोरो नभएपछि धमिलो मन बनाउँदै वेलुका बस चढ्न कोठाबाट बाहिर जाँदै गर्दा बनेपा पुल कट्ने साथ छोरोको मोबाइलबाट फोन आयो।

‘मैले तेरो छोरो अपहरण गरेको छु। १५ लाख रकम दिए छोरो पाउँछस् नत्र मारेर फालिदिन्छु।' त्यसो भन्ने व्यक्ति थियो ‘दुई बर्ष अगाडी आफैँले काम सिकाएको पर्साकै सोमबारीको फिरोज। जिन्दगीमा एक लाख एकैपटक नहेरेको मानिस १५ लाख कहाँबाट ल्याउनु भनी सम्झाउन खोज्दा पनि उसले मेरो कुरा नसुनी छोरोको माया भए दे नत्र' भन्दै फोन काट्यो।

त्यसपछि म त्यहीँबाट फर्किएर बनेपा प्रहरीकोमा पुगेँ। त्यहाँको प्रहरीले अपराध महाशाखामा जानुस् त्यहाँबाट मोबाइलको लोकेशन पनि खुल्छ भनी सल्लाह दिए। काठमाण्डौको अपराध महाशाखामा पुगी रोइकराई गरी प्रहरीलाई अनुरोध गरें। निवेदन पनि दिएँ। पछि चेक गर्दा त मोबाइल त पर्साकै भिस्वा एरियाबाट प्रयोग भएको देखायो। भिस्वा त आफ्नै एरिया हो भनी त्यहाँबाट प्रहरीलाई नै अनुरोध गरी खिन्न हुँदै वीरगन्ज झरें। यहाँ पनि प्रहरीसँग सहकार्यमा नै थिएँ।

सोमबार र मंगलबार ( कार्तिक ११ र १२ गते दुई दिन फोन पनि आएन। फेरि बुधबार सोही मोबाइलबाट छोरोको माया भए लाष्ट १२ लाख दे, नत्र तेरो छोरोलाई मारेर फालिदिन्छु भन्दै फोन आयो। अनि रकमको जोहो गर्छु भनी आश्वासन दिएँ।

त्यही रकम कहिले इण्डियाकै कुनै ठाउँमा लिएर आइज भन्ने जाँदा दुई पटक उनीहरु आउँदै आएनन्। नआउने रहेछन् भनी घर फर्किर आउने क्रममा पर्साकै सिर्सिया खल्वाटोलामा पुग्दा फेरि फोन आयो। कहाँ छस्? पैसा लिन आउँदै छु भनी फोन आयो। मैले यतै बोलाएँ। एकजना आएको रहेछ। उसले मेरो झोला तानी रहेको समयमा ड्याम्म आवाज आयो।

म बेहोस् भएर ढलेंछु। पछि सर ( सुरक्षाकर्मीहरु) ले उसलाई पनि पक्रनुभएछ। मलाई पनि उठाउनुभयो। त्यसको आधा/एक घण्टापछि छोरोसँग मेरो पनि भेट भयो' पीडित अम्जदले घटनाको सविस्तार बताए।

म विगत विगत २०⁄२१ वर्षदेखि काठमाण्डौ बनेपा लगायतका ठाउँमा घर बनाउने मिस्त्रीको काम गर्दै आएको थिएँ। छोरालाई पनि केही समयदेखि उतै लगेको थिएँ। मोटरसाइकल बनाउने काम गर्थ्यो उनले भने।

दबाबकाबीच सफलता : प्रहरी

बालक अपहरण भएको कुराले पर्सा प्रहरीलाई निकै तनाव थियो। फेरि पर्सामा बिहीबार राष्ट्रपति आउने कार्यक्रम रहेकोले कामको चाप थियो। तर पनि लगातारको प्रयासले अपहरित बालकको सकुशल उद्दार गर्न सकिएको पर्सा प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक राठौरले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.