केराउ तस्करी उस्तै, सुपारी र मरिच तस्करी भने घट्यो

|

विराटनगर : तेस्रो मुलुकबाट नेपाल आउने र तस्करी भएर भारत जाने क्रम घटेसँगै विराटनगर–जोगवनी नाकाबाट केराउ र छोगडाको तस्करी बढेको छ।

पछिल्लो समय पाकिस्तानीबाट आयात हुने छोगडाको आयातमा भारतले कडाइ गरेपछि नेपाल हुँदै तस्करी हुने क्रम बढेको व्यापारीले बताएका छन्। जसका कारण ट्रेडिङ व्यापारमा संलग्न व्यवसायीहरू पछिल्ला केही महिनादेखि छोगडा कारोबारमा आकर्षित छन्। केराउ पनि केही वर्षयता नेपाल हुँदै भारत तस्करी हुने खाद्यान्नको लिष्टमा रहेको छ।

भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण दुई देशको व्यापार प्रभावित भएपछि नेपालमा छोगडाको व्यापार फस्टाएको हो। ठूलो परिमाणमा छोगडा निर्यात गर्दै आएको पाकिस्तानबाट भारतले अहिले छोगडा आयात गरेको छैन। भारतीय बजारमा छोगडा अभाव छ। जसले गर्दा अन्य मुलुकबाट भारतमा छोगडाको आयात भइरहेको छ। यही समयमा नेपालमा पनि छोगडाको आयातमा उल्लेख्य वृद्धि भएको छ।

पछिल्ला तीन वर्षको पहिलो तीन महिनामा विराटनगर भन्सारबाट आयात भएको छोगडाको तथ्यांकले नेपालमा छोगडाको माग बढेको देखिन्छ। तर, यथार्थमा भने नेपालमा माग बढेको नभई नेपालबाट अनौपचारिक कारोबार हुँदै छोगडा भारत निर्यात हुने गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतबाट ५ लाख ४३ हजार ७ सय ५० किलोग्राम छोगडा जोगवनी नाकाबाट मात्र आयात भएको छ।

विराटनगर भन्सारबाट ५ करोड ९ लाख ७८ हजार रुपैयाँ बराबरको छोगडा आयात भएको र त्यसबाट १ करोड ८ लाख ५० हजार रुपैयाँ भन्सार महशुल असुली भएको बताइएको छ। असोज १० गतेसम्म २ लाख ३७ हजार ७ सय ५० किलोग्राम छोगडा आयात भएकोमा त्यसपछिको २० दिनमा थप ३ लाख ६० हजार किलोग्राम आयात भएको छ।

९१ लाख बढीको छोकडा आयात

आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा ९१ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको १ लाख २२ हजार ६ सय ६० किलोग्राम छोगडा आयात भएको थियो। आर्थिक वर्ष २०७४/०७५ पहिलो तीन महिनामा पनि जोगवनी भन्सार कार्यालयबाट ९१ लाख ९३ हजार रुपैयाँ मूल्यबराबरकै १ लाख २२ हजार ६ सय ६० किलोग्राम छोगडा आयात भएको तथ्यांक विराटनगर भन्सार कार्यालयले उपलव्ध गराएको छ।

पछिल्लो तीनमध्ये दुई वर्ष समान परिमाणमा आयात भएको छोकडाको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चार गुणाले वृद्धि भएको हो। भन्सार कार्यालयको यो तथ्यांकले छोगडा नेपालबाट भारततर्फ तस्करी भएर निर्यात भइरहेको देखाएको छ।  अहिले नेपालबाट भारततर्फ छोगडाको तस्करी धन्दा राम्रो फस्टाइरहेको व्यवसायीहरुले बताउँदै आए पनि कुन मार्गबाट निर्यात भइरहेको छ भन्ने विषयमा उनीहरु मुख खोल्दैनन्।

केराउ आयात पनि अत्यधिक

त्यस्तै विगत ३ वर्षदेखि केराउको दाना आयात पनि अत्याधिक रुपमा भइरहेको छ। विराटनगर भन्सार हुँदै आर्थिक वर्ष २०७४/७५को पहिलो तीन महिनामा ४ करोड ५७ लाख २४ हजार रुपैया“ मुल्य बराबरको ८ लाख ८९ हजार ४ सय ४६ किलो आयात भएको केराउको दाना आव २०७५/७६ मा बढेर १० करोड ८७ लाख ३२ हजार रुपैया“ बराबरको २४ लाख ८९ हजार ७ सय २० किलो कराउ आयात भएको छ।

चालु आर्थिक वर्षको तिन महिनाभित्र मात्रै ४९ करोड ९१ लाख ३९ हजार मुल्य बराबरको ९७ लाख २७ हजार ७ सय ९० किलो आयात भएको देखिन्छ। नेपालमा युक्रेनबाट मटर दाना आयात गरिन्छ।

सुपारी र मरिच  आयातमा कमी

यसअघि चर्चामा रहेने गरेको सुपारी र मरिचको  आयातमा भने केही ह्रास आएको देखिन्छ। विराटनगर नाका हुदै आव २०७४/७५ को पहिलो तिन महिनामा ७ करोड ४१ लाख ९९ हजार रुपैया मुल्य बराबरको ६ लाख ४१ हजार किलो आयात भएको सुपारीको आयात आव २०७५/७६मा केहि बढेको भएपनि चालु आवमा घटेको छ।

आव २०७५/७६ को पहिलो तिन महिनामा  १७ करोड ७१ लाख १२ हजार रुपैया मुल्य बराबरको १२ लाख ७१ हजार २ सय ८ किलो आयात भएको थियो। सुपारीको आयात चालु आवको तिनमहिनामा घटेर ८ करोड ८८ लाख रुपैयाँ बराबरको ७० हजार ९३ लाख हिलो सुपारी आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

आव २०७४/७५ मा ३ हजार २ सय ३० मेट्रिक टन भित्रीएको मरिच आव २०७५/७६ मा घटेर ३ हजार १५ मेट्रिक टनमा सीमित हुनपुग्यो। चालु आवको पहिलो ३ महिनामा ६ सय ७२ मेट्रिक टन मरिच आयात भएको छ।

पछिल्लो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा केही सुधारका संकेतहरु देखिएको बताइदै आएको छ। विगतको तुलनामा आयात घटेको र निर्यात बढेको भन्सार विभागको तथ्यांकले स्पष्ट पारेको छ।

तर, नेपाललाई आवश्यकता नै नभएको वस्तु औपचारिक रुपमा आयात हुने र अनौपचारिक रुपमा निर्यात हुने प्रवृत्तिले व्यापार घाटा बढाउन सहयोग गरिरहेको व्यवसायीहरुले बताएका छन्। उनीहरुले अनौपचारिक कारोबार नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका छन्।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले केही महिनायता छोगडाको आयात केही बढेको जानकारी दिए। उनले नेपालबाट छोगडा भारततर्फ निर्यात भने नभएको बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.