दमक : झापाको गौरादह ५ मा एउटा दनुवार बस्ती छ। यो दनुवार बस्तीमा आफ्नो मातृभाषा बोल्ने कोही पनि छैन। यहाँका अगुवा ५६ वर्षीया गोपाल दनुवारका अनुसार दनुवार जातिले बोल्ने भाषालाई तोने भाषा भनिन्छ। तर यो भाषा यो बस्तीमा न कसैले बोल्छन्, न कसैले बुझ्छन्।
‘सवै कुरा समाजले गर्ने रहेछ नि। यहाँको समाजमा हामी दनुवार साह्रै थोरै, सवैतिर नेपाली भाषानै बोल्नु पर्ने त्यसैले परिवारमा पनि मातृभाषा बोलिएन’ भाषा जोगाउनु पर्छ भन्ने चाहिँ थाह भएको उनले चिन्ता व्यक्त गरे, ‘भाषा हराए हाम्रो संस्कार नै हराउँछ। त्यसैले अहिले कोही कोहीले यसका बारेमा खोजी-नीति गरेको सुन्छु। तर हुर्किसकेकाले त कसरी बुझ्लान् र यो भाषा।’
विद्यालय भर्ना त अधिकांश बालबालिका हुने गरेका छन्। तर विद्यालय तह पार गर्ने थोरै मात्र हुन्छन्। दलबहादुर दनुवारले भने, ‘केटाकेटी स्कुल त जान्छन्। तर पढ्छन्-पढ्दैनन् घरमा खोजी कसैले गर्दैन। त्यसैले जव फेल हुन थाल्छन्। अनि स्कुलै जान छोड्छन्’ विद्यालय तह पार गरेका जम्मा २ जना मात्र यो बस्तीमा छन्' उनले सुनाए।
चार पुस्तादेखि झापामा
यहाँका दनुवारको पुर्ख्याैली थातथलो भने उदयपुरको गाइघाट हो। गाइघाटबाट जीवन निर्वाहको उपाय खोज्दै झण्डै ५ दशक अघि केही दनुवार झापा आइपुगेका थिए। तिनै मध्ये केही हालको गौरादह ५ मा बसोबास गर्न थाले। केही वडा नं.४ मा पुगे।
वडा नं.५ महारानीझोडा, स्कुलचौनको नयाँ बस्तीमा १४ घर दनुवार अहिले बसोबास गर्छन्। यहाँ उनीहरूको चौथो पुस्ता हुर्किरहेको छ। तर उनीहरूले चौथो पुस्ता हुर्काए पनि अनिकांश सुकुमबासी परिवार हुन्। दनुवार बस्तीका अगुवा ५६ वर्षीय गोपाल दनुवारका अनुसार उनीहरू झापा आएदेखि नै कृषि मजदुरको रुपमा कार्यरत छन्।
२०२८ सालामा उनका बुवा उदयपुरबाट जीवन निर्वाहको आधार खोज्दै आउँदा प्रशस्त धानखेती हुने महारानी झोडा आइपुगे। यहिँ भारि बिसाएका उनले अर्काको जग्गामा जनमन थाले। गोपालका बुवा श्यामबहादुरसँगै आएका केहीले पनि यहिँ बस्ने निधो गरे। यसरी शुरु भएको दनुवार बस्तीमा अहिले गोपाल र उनका दौतरीको नाति पुस्ता पनि सोही नियतिमा छ।
‘यहाँ बाजेको पालादेखि बसेको भए पनि अझै सवै जसो जनमन गरेरै पालिँदै आएको छ’ गोपालले भने, ‘मैले चाहिँ बोरिङ गाड्ने मिस्त्रीको पेशा सिकेँ। त्यसैले परिवार चलेको छ। अरु पनि धेरैको अवस्था यही हो।’
मजदुरी गरेर आउने कमाइले साँझ बिहानको छाक टार्नै मुश्किल हुने भएकाले अझै सुकुम्बासी अवस्थामा नै रहनु परेको ५० वर्षीया फूलमाया दनुवारको भनाई छ। ‘सधैं अर्काकोमा काम गर्न जाने हो। खाने हो। अहिलेसम्म चल्दै आएको चलन' उनले सुनाइन्,‘बाउ यसै गरी बिते। अब हाम्रो पनि गर्न सक्ने बेला बित्दै गयो। कहाँबाट किन्नु र जग्गा?’
यस समुदायका केही युवा भने बैदेशिक रोजगारीतर्फ पनि आकर्षित हुन थालेका छन्। मजदुरी गरेर भूमिहीन रुपमै हुर्किएका ४६ वर्षीय दलबहादुर दनुवार भने २ वर्ष साउदी अरबमा मदजुरी गरेर आए। त्यहीबाट प्राप्त कमाइले सानो पसल पनि थालेका छन्।
अलि कति भिट्टा पनि जोडेका छन्। यस बस्तीमा अगुवा मध्येका उनका एक छोरा सुरक्षाकर्मीमा भर्ती पनि भएका छन्। दलबहादुरले भने,‘यो बस्तिमा आफ्नै जमिन भएका एक/दुई परिवार होलान्। ती पनि बिदेश गएका मात्र नत्र केही वर्ष अघिसम्म सव सुकुमबासी हुन्।’
आफ्ना हजुरबुवा वीरबहादुरको केही जमिन भएको सुने पनि त्यसको स्वामित्व कायम हुन सकेन। बुवा सिंहबहादुरले पनि आफ्नो बनाउन सकेनन्। यसरी सुकुमबासी भएको एउटा परिवारले भने अहिले आफ्नै जमिन लिएको छ।
विवाह गर्नै कठिन
झापामा दनुवार बस्ती छिटफुट मात्र छ। गौरादहका दुई वटा वडामा त करिव ५० परिवार मात्र रहेको नयाँबस्तीका बासिन्दा बताउँछन्। आफ्नो समुदायको बसोबास थोरै भएकै कारण हुर्किएका छोरा छोरीको घरजम बसाउनै कठिन भएको ५० वर्षीया फूलमायाको भनाई छ।
विवाहवारी गर्दा पहिले ४ पुस्ता वार्ने चलन रहेको दलबहादुरको भनाई छ। तर ४ पुस्ता बार्दा विवाह नै नहुने अवस्था पनि आउन थाल्यो। त्यसैले अचेल ३ पुस्तामा पनि विवाह हुन थालेको उनको भनाई छ।
झापामा नै विवाह गर्न बर-बधु नभेटिए पछि कसैले दनुवारको बाक्लो बस्ती भएको उदयपुरसम्म पुगेर घरजम गरेका छन्। यही बस्तीकी २५ वर्षीया गंगा दनुवारको पनि बिवाह उदयपुर गाइघाटमा भएको छ। त्यताका बधुसँग पनि यताका बरको विवाहबारी हुने गरेको छ।
पूर्वको दनुवार बस्ती उदयपुरमा नै ठूलो भएकाले त्यतै तर्फ विवाहबारी बढी हुने गरेको गंगाका बुवा दलबहादुरको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।