|

कास्की : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिएका छन्।

नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले स्वास्थ्य प्रतिस्पर्धाको माध्यमबाट लोकतान्त्रिक अभ्यासको रूपमा निर्वाचन सम्पन्न हुनुपर्ने बताए। अध्यक्ष दाहालले राजनीतिक स्थिरता र समृद्ध नेपालको निर्माणका लागि यो उपनिर्वाचन खुड्किलो हुने उल्लेख गरेका थिए।

उपनिर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा उत्साहवर्धक ढङ्गले मनोनयन दर्ता भएकाले निर्वाचन पनि उत्साहका शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने उनले विश्वास व्यक्त गरेका थिए। उनले कास्की क्षेत्र नं २ बाट नेकपाका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई एकजुट भएर प्रचारप्रसारमा जुट्न आह्वान गर्दै कास्की क्षेत्र नं २ लगायत अन्य प्रदेशसभा सदस्यको निर्वाचनको उम्मेदवार सर्वसम्मत रूपमा छनोट भएको जानकारी गराए।

तत्कालीन कास्की क्षेत्र नं २ का सांसद रवीन्द्र अधिकारीप्रति श्रद्धासुमन अर्पन गर्दै अध्यक्ष दाहालले कास्की नेकपाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई निर्वाचनमा सफलताको कामना गरेका थिए। भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्साभित्र पारेको सन्दर्भमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भौगोलिक अखण्डाको विषयमा नेपाली एकजुट रहेको र लिपुलेक हाम्रो भएकाले यस  विषय सह्य हुन नसक्ने दृढता प्रकट गरेका थिए।

प्रचण्डले उक्त विषयमा सरकारको पनि धारणा आइसकेकाले कूटनीतिक माध्यमबाट यसलाई सच्याउनुपर्ने विषयमा जोड दिएका थिए। उनले भने, 'भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष लिपुलेकको विषयमा कुरा उठाएको थिए र अहिले भारतले नक्सामा पारेको विषयमा हाम्रो गम्भीर आपत्ति छ।'

प्रदेश प्रमुखलाई हटाइएको सन्दर्भमा अध्यक्ष दाहालले नयाँ सरकार गठन भएपछि नैतिकरूपमा राजीनामा गर्नुपर्ने नगरिएको एवं राजनीतिक संस्कार प्रदर्शन गर्नुपर्ने नगरिएको उल्लेख गर्दै दुई तिहाइको सरकारले उदार र लचिलो भएको कारणले दुई वर्ष परिवर्तन नगरेको स्पष्ट पारेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.