|

नवलपरासी : नेपाल समृद्ध बन्नका लागि सबैभन्दा पहिलो सर्त कृषि र कृषिमा आधारित क्षेत्रको विकास गर्नु भएको प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरिले बताएका छन्। पश्चिम नवलपरासीको बर्दघाटमा सुरु भएको चौथो बर्दघाट कृषि पर्यटन तथा औधोगिक व्यापारमेला २०७६ को उद्घाटन गर्दै मन्त्री गिरिले कृषिपछि मुलुकमा पर्यटन क्षेत्रनै समृद्धिको आधार भएकोले व्यवसायीहरूलाई ढुक्क भएर पर्यटन व्यवसायमा लगानी गर्न आग्रह गरे। प्रदेश सरकारले पर्यटन क्षेत्रको लागि विशेष योजना अगाडि सारेको समेत गिरिले  बताएका थिए।

निश्चित व्यक्ति विशेष समृद्ध हुँदैमा मुलुक समृद्ध बन्न नसक्ने भन्दै मुलुक समृद्ध बन्नका लागि देशका सबै नागरिक समृद्ध बन्नुपर्ने गिरिले धारणा व्यक्त गरे। कुराको भरमा र हचुवाको भरमा नभएर तथ्यांक र तथ्यका आधारमा अगाडि बढ्न सकेमा मात्र मुलुकले परिकल्पना गरेको समृद्धि प्राप्त हुने गिरिको भनाई थियो। नेपालीहरूले नाकाबन्दीको समयमा समेत डटेर सामना गर्न सकेको भन्दै आर्थिक विकासका लागि अगाडि बढ्ने सामर्थ्य नेपाली जनतासँग रहेको उल्लेख गरे।

मन्त्री गिरीले हाल मुलुक ४ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिदरबाट ७.५ को बृद्धिदर हासिल गर्न सफल भएको तथ्यांकले प्रमाणित गरेकोले देशले विकासको बाटोमा गति बढाएको सहजै आंकलन गर्न सकिने धारणा व्यक्त गरे। भारतीय पक्षले आफ्नो नक्सामा नेपाली भूमिसमेत समेटेकोमा त्यो नेपालीहरुका लागि मान्य नहुने समेत बताए।

बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको कृषि पर्यटन तथा औधोगिक ब्यापारमेलाको समुद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य दीपेन्द्रकुमार अधिकारीले बर्दघाट नगरी कृषिमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकोले यसको प्रवर्द्धनका लागि सबैले जोड दिनुपर्ने धारणा व्यक्त गरे। सांसद अधिकारीले यस्ता खालका मेला महोत्सव नाममा मात्र नभएर साँच्चिकै कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सहयोगी सिद्ध हुनुपर्ने उनको  भनाइ थियो।

उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अधयक्ष गुणनि तिवारीले औधोगिक विकास विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै त्यसका लागि राज्यले औधोगिक बाताबरणको सिर्जना गर्नुपर्ने धारणा राखे। उनले यस्ता खालका मेला महोत्सवले व्यवसायीलाई पनि फाइदा गर्ने र उत्पादित वस्तुको प्रवर्द्धनका लागि सहयोग पुग्ने धारणा राखेका थिए।

संविधानसभा सदस्य कृष्ण पौडेलले निरन्तर मेला महोत्सवको आयोजना गर्दा विगतका मेलाबाट के कति प्राप्त गर्न सकियो र आगामी दिनमा के प्राप्त गर्न सकिन्छ भन्ने कुरामा  समीक्षा पनि हुनु जरुरी रहेको उल्लेख गरे।

संविधानसभा सदस्य विक्रम खनालले मेला महोत्सवको आयोजना गर्दा स्थानीय व्यापारीलाई मर्का नपर्नेगरी आयोजना गर्नुपर्ने धारणा व्यक्त गरे। व्यापारीको मुख्य व्यापार हुने सिजनमा मेला आयोजना गर्ने र व्यापार कम हुने समयमा कुनै पनि गतिविधि नगर्दा व्यपसायी पलायन हुने अवस्थाको खतरा रहने बताए। उद्योग वाणिज्य संघले व्यवसायीको हितलाई मध्यनजर गर्दै योजनाहरू ल्याउनुपर्ने र व्यावसायिक संस्थामा राजनीति हावी हुन नहुने खनालको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.