|

म्याग्दी : आज हरिबोधिनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । धर्मशास्त्रमा उल्लेख भए अनुसार आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरुपी शैयामा शयन गरेर भगवान श्रीहरि जागा भएको दिन। 

यस दिनलाई हिन्दुधर्मावलम्वीहरुले भगवान हरि (विष्णु)को विवहा लक्ष्मी मानिएकी तुलसीसँग गरिदिने धार्मिक प्रचलन रहँदै आएको छ। विधि विधान र पूजापाठ गरी ब्रत बसेर तुलसीको विवाह गर्ने आजको दिनमा म्याग्दीमा भने पुरोहितको अभावमा तुलसीको विवाह गर्न ब्रत बस्ने महिलाहरु अन्योलमा  परेका छन् ।

कर्मकाण्ड गर्ने ब्राह्मण (पुरोहित)हरुको अभाव हुँदै गएपछि अन्य धार्मिक कार्यहरुजस्तै तुलसीको विवाह गर्न पनि समस्या भएको बेनी नगरपालिका २ की भीमकुमारी घिमिरेले बताइन्।

विद्यालय स्तरमा संस्कृत शिक्षाको पठन पाठन नहुदा योग्य पुरोहितको अभावमा म्याग्दी जिल्लामा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन्। ब्राह्मणकै अभावमा जन्म, चुडाकर्म, विवाह र मृत्यु संस्कार समेत प्रभावित हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन् ।

संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरुले पनि संस्कृत पढन् छोडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणहरुको अभाव हुन थालेको स्थानीयले बताएका छन्।

बेद, उपनिषद, पुराण, रुद्रीलगायतका ग्रन्थहरुलाई आधारमानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्यु पर्यन्त आवश्यक भएपनि पुरोहितको अभावमा समस्या उत्पन्न हुन थालेको पण्डित भीमनाथ पराजुलीले बताए।

‘हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो’ पं पराजुलीले भने ‘संस्कृतको ज्ञान नभएका व्यक्तिहरुले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारान, विवाह र मृत्युसंस्कार जस्ता नगरीनहुने कर्महरु गर्न पनि समस्या हुन थालेको छ।’ संस्कृत शिक्षा हिन्दूहरुको जीवन पद्यतीसँग जोडिएको शिक्षा भएता पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ।

गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिक रुपमा स्खलित भएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनहरुले आफू खुसी ‘धुपं समर्पयामी,नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र संकल्पमा सम्वत्सर,नक्षत्र,तीथि समेत गलत उच्चारण गर्ने गरेका आफूले पाएको अर्का  पण्डित नीलकण्ठ आचार्यले बताए। ‘शुद्धसँग बेदका  ऋचा उच्चारण गर्न नसक्ने र आफ्नो आचारणमा नरहेका ब्राह्मणहरुले पनि अरु कुनै पेशा गर्न नसकेर कर्मकाण्डमा लाग्दा ब्राह्मणहरुको समेत बदनाम भएको छ’ उनले भने।

कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणहरुको शेषपछि पुरोहितहरुको अभाव सुरु हुन थालेको हो। अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको संख्या दुई तीन भन्दा बढि नरहेको र कर्मकाण्ड गर्नेहरु पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ।

क्षीर सागरमा सुतेका भगवानलाई जगाउने विधान 

धर्मशास्त्रका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना भगवान विष्णु क्षिरसागरमा शयन  गर्छन भन्ने धार्मिक विश्वास छ। यसरी शयन गरेका भगवान विष्णु (हरि) लाई ‘उत्तिष्ठोतिष्ठ गोविन्द त्यज निद्रां जगत्पते। त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत् ।। अथात् हे गोविन्द (विष्णु) भगवान, हजुरले निद्रा छोडेर उठ्नुपर्यो। किनकी हजुरको सुताइमा संसार नै सुत्छ र हजुर जागाहुँदा यो चराचर जगत नै उठ्छ (सक्रिय हुन्छ)। अतः हजुर उठ्नु पर्यो। यो मन्त्रले पूजा गरेर भगवान विष्णुलाई उठाएपछि दामोदर (विष्णु) भगवानसँग घर अगाडी मठमा सारिएको तुलसीको विवाह गर्ने विधान छ।

हरिबोधिनी एकादशीको महत्व 

अरू एकादशीहरुको भन्दा हरिबोधिनी एकादशीको महत्व बढि भएको धर्मशास्त्रमा उल्लेख गरिएको छ। एकादशी महात्म्यमा वर्णन गरिए अनुसार आषाढ शुक्लपक्षको एकादशीदेखि चतुर्मास्यब्रत प्रारम्भ गरिन्छ भने कार्तिक शुक्ल पक्षको एकादशी ब्रत सम्पन्न भएपछि विधिपूर्वक पारण गरि उक्त ब्रत समापन गरिन्छ। सबै एकादशी भन्दा हरिबोधिनी एकादशी ठूलो भएकाले यो एकादशीलाई ठूली एकादशी पनि भन्ने गरिएको पं आचार्यले बताए।

पं आचार्यका अनुसार सबै पापहरु एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। ब्रतवस्दा मुख्यरुपले शारीरिक अवस्था विचार गर्नुपर्दछ।  एकादशी ब्रतले मन, वचन र कर्मको एकाकार गरी आफ्नो कर्तव्य सबल भएर अगाडी बढ्न सिकाउने हुँदा एकादशीको ब्रत लिनुपर्ने धर्माचार्यहरुको भनाइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.