|

दाङ : ऊर्जा जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको दुई वर्षमा नेपाल पूर्णरूपमा अन्धकार मूक्त हुने बताएका छन्। दाङको झिङ्ग्नीमा रहेको लमही–घोराही १३२ केभी प्रशारण लाइन तथा घोराही १३२/३२ केभी सवस्टेशनको शुक्रबार उद्घाटन गर्दै उर्जामन्त्री पुनले ऊर्जाको विभिन्न क्षेत्रहरूको पहिचान गरी ऊर्जा उत्पादनमा सरकारको ध्यान विशेष रूपमा केन्द्रित रहेको र विद्युत उत्पादन पनि धमाधम भइरहेकले देश पूर्णरूपमा अन्धकार मुक्त हुने बताएका हुन्।

नेपालमा रहेका करीव २३ हजार बढी नदीनालामध्ये प्रयोगमा ल्याउन सकिने १२ हजार बढी नदीनालाको संरक्षणसँगै उपभोगमा सरकारको ध्यान गम्भीर रूपमा पुगेको बताए। ती नदीनालाहरूबाट विद्युत उत्पादन, र्‍याफ्टिङ वा मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न सक्ने गरी गृहकार्य शुरू भइसकेको समेत बताए। उनले भने, 'देशमा सानाठूला गरी २३ हजार बढी नदी नाला छन्, ती नदीनालाको संरक्षण गर्दै उच्चतम प्रयोग गरी देश विकासको यात्रामा सँगै जोडेर लैजाने काम भइरहेको छ।'

त्यसैगरी, मन्त्री पुनले देश विकासको मुख्य मेरूदण्डको रूपमा नेपालको विद्युत क्षेत्रले भूमिका खेलिरहेको दावी गरे। उनले अहिले नेपालको आर्थिक वृद्धिदरमा अंक सुधार हुँदै जानुमा ऊर्जा क्षेत्रको योगदान नै मुख्य कारक रहेको बताए।  अहिले नेपालमा भइरहेको औद्योगिकरण र शहरीकरणको तीव्र विकासमा सहज विद्युत आपूर्ति हन नसक्दा कतिपय काममा बाधा पुगिरहेको गुनासो आउने गरेको प्रति सरकार गम्भीर रहेको उनको भनाई थियो।

ठूला शहरका लागि चाहिने विद्युत तथा जिल्ला स्तरमा पनि ठूला उद्योग स्थापना गरी सहज ढंगले संचालनको वातावरण बन्दै गएकाले यसप्रति चिन्ता व्यक्त नगर्न आमउद्योगी तथा सरोकार पक्षलाई उनले अनुरोध गरे। उनले भने, 'यहाँहरूले स्थापना गर्ने ठूला परियोजना वा उद्योगहरूमा आवश्यक विद्युत पाइँदैन कि भनेर चिन्ता नलिनुस्, म ग्यारेन्टीका साथ भन्छु, अब ढुक्क भएर विद्युत प्रयोग गर्न सक्नुहुन्छ, तपाइलाई जति विद्युत चाहिन्छ, हामी उपलब्ध गराउँछौँ।'

अझै पनि कतिपय कार्यशैली तथा सोचका कारण सामाजिक विकासमा कही कतै विकास अवरोधका अवशेष देखिने भएकाले स्थानीय सरकारले संस्था वा कार्यालयका काममा सकारात्मक कदम चाल्न भूमिका बढाउने पर्नु पर्ने उनको भनाइ थियो। 'देश विकासका लागि सुशासनबिना सम्भव नरहेकाले राज्य प्रणालीको सुधार गर्नु पर्ने ठाउँमा कहाँ कसरी गर्नुपर्छ। सबै मिलेर गरौं तर उही पुरानै शैलीमा अघि बढ्ने चेष्टा गर्यौं भने देश विकासको परिकल्पना एकादेशको कथा मात्रै हुनेछ', उनले भने।

वि.स. २०६८ माघ २६ गते थालनी गरिएको सो प्रशारण लाइनको काम २०७५ असोज १० गते सम्पन्न भएको हो। ४२ करोड ३७ लाखको लागतमा निर्माण गरिएको सो प्रशारण लाइनले दाङका ग्रामीण क्षेत्र सैघा, स्यूजा, घोराहीका विभिन्न स्थानलगायत तुलसीपुर उपमहानगरका अधिकांश स्थानमा सहज विद्युत आपूर्ति गर्दै आएको छ। यसअघि नियमित तथा कम विद्युत प्रशारण हुँदा उपभोक्ताले सास्ती भोग्न बाध्य थिए भने ठूला काम गर्न समस्या रहेको थियो। सो प्रशारण लाइनका कारण ४० हजार बढी उपभोक्ता अहिले प्रत्यक्ष लाभान्वित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.