|

इलाम : डोमलाल राजवंशी रंगशालामा सहभागी भएको प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी चौथो पटक फाइनल प्रवेश गरेको छ।

हाम्रो पूर्वाञ्चल गोल्डकपमा पाहुना टोली सिक्किम आक्रमण एफसीको चुनौती टाइ व्रेकरमा ४-३ ले पन्छाउँदै आर्मीले डोमलालमा चौथो पटक खेल्ने भएको हो। यस अघि झापा गोल्डकपको ४ मध्ये ३ संस्करणको फाइनल पुग्दै आर्मीले उपाधि चुमेको थियो।

पूर्वाञ्चल गोल्डकपको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागी टाइ व्रेकरमा धकेलिएको थियो। घरेलु दर्शकको समर्थन पाएको सिक्किम आक्रमणका विरेन प्रधान, मनोज काच्वा र करण राईले मात्र गोल गरेका थिए भने एन्थोनी क्षत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए।

विकास क्षेत्रीको प्रहार बारमा लाग्दै फर्किएको थियो। आर्मीका लागि दिपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे भने कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए।

आर्मीको तुलनामा सिक्किमका खेलाडी अधिकांश समय बल पोजिसन लिए पनि फ्रन्ट लाइनबाट फिनिसिङ अभावले स्कोर हुन सकेन्। दोस्रो हाफपछि सिक्किमका खेलाडीको तालमेलबाट आर्मीका खेलाडी आतिए जस्तो देखिन्थे। सिक्किमको छरितो खेलमा आर्मीको प्रदर्शन केही आक्रमक बनेको थियो जसका कारण ४ जना खेलाडीले पहेँलो कार्ड पाए।

सिक्किमका खेलाडीलाई ३ वटा पहेँलो कार्ड देखाइएको थियो। निर्धारित समयमा आर्मीका टंक बस्नेत, टेकबहादुर बुढाथोकीलगायत गोल गर्न चुकेका थिए भने सिक्किमका लागि करण राई, गणेश लिम्बूले पनि स्कोर गर्न सकेनन्। आर्मीमा नियमित कप्तान भरत खवास, गोलरक्षक विकेश कुथु, नवयुग श्रेष्ठ, विकाश खवास, सुमन अर्याल, जर्ज प्रिन्स कार्कीको अभाव महसुस गरिएको थियो।

प्रिन्स बाहेकका खेलाडीहरू नेपालको सिनियर तथा जुनियर राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका छन्। डोमलाल राजवंशी रंगशालामा सहभागी भएको ५ मध्ये ४ वटा प्रतियोगितामा आर्मी फाइनल पुगेको छ। 

खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। अन्तिम सेमिफाइनलमा शनिबार अर्को विभागीय टिम नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेड काठमाडौंको सामना गर्नेछ।

पुलिस घरेलु टोली झापा–११ र एपिएफलाई हराउँदै सेमिफाइनल पुगेको थियो भने चर्च व्वाइजले प्रदेश लिग उपविजेता बेलबारी फुटबल क्लबलाई हराएको थियो। गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.