|

भद्रपुर : सशस्त्र प्रहरी टोली हातमा पेट्रोल र सलाई बोकेर दौडिएर आए। एउटा घरको छाप्रोमा पेट्रोल छर्किएर आगो लगाए। यसरी सशस्त्र प्रहरीले छाप्रोमा आगो लगाउँदा हेर्नेको व्यक्तिको भीड जम्मा भयो।

कसैले केही बोल्न सकेन, सबै टुलुटुलु हेरेर बसे। यो दृष्ट हो नेपालको होचो भू–भाग कचनकवलमा शुक्रबार आयोजित एक दिने बृहत् घुम्ती शिविर सञ्चालन कार्यक्रमको। कचनकवल गाउँपालिका २ सुकुनाडिकी स्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको मैदानमा अस्थायी रूपमा निर्माण गरिएको खरको छाप्रोमा सशस्त्र प्रहरीले पेट्रोल छर्केर आगो लगाएको र यसबाट बच्ने उपाय त्यहाँका बासिन्दालाई सिकाउँदै थिए।  

आगलागीबाट कसरी बच्न सकिन्छ भन्ने सर्वसाधारणलाई सचेत गराउन यो दृष्टसहितको क्रियाकलाप देखाइएको हो। सशस्त्र प्रहरी बल गण नम्बर २ झापाबाट गएको टोलीले ग्याँस सिलिन्डरबाट आगो लाग्दा हुने भौतिक तथा मानवीय क्षतिको बारेमा पनि जानकारी गराएका थिए।

ग्यास पकडिँदा ठूला भवन तथा होटल, घरमा लागेको आगो निभाउने प्रयोगका बारेमा प्रस्तुतीकरण गरिएको थियो। त्यसै गरी नेपाल प्रहरीले विद्यार्थीलाई लागुऔषध, साइबर क्राइम, शान्ति सुरक्षा लगायत जनजेतनामूलक वृत्त चित्र प्रस्तुत गरेर सचेतना दिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। साथै प्रहरीले विद्यार्थीलाई साझेदारीको विषयमा जानकारी मूलक पर्चा समेत वितरण गरेका थिए।

त्यसै गरी नेपाली सेनाले सर्प दंशको चेतना वृद्धि, डुबानबाट बच्ने तरिकाबारे जानकारीसहित दृश्य प्रस्तुत गरेका थिए। सो शिविरमा वस्तुगत कार्यालयहरूले छुट्टाछुट्टै सेवा तथा जन चेतनाको जानकारी गराएका थिए।

प्रशासन कार्यालय झापाबाट नयाँ नागरिकता वितरण गर्ने कार्यक्रम राखेपनि किर्ते नागरिकताको काण्डले गृह मन्त्रालयले सो गाउँपालिकालाई अनुमति नदिएका कारण धेरै सेवाग्राही नागरिकता नलिई फर्किन बाध्य भएका थिए।

आन्तरिक राजस्व कार्यालयले संस्थागत र व्यावसायिक पान नम्बर दर्ताको सेवा प्रदान गरेको थियो। त्यसै गरी नेपाल टेलिकम कार्यालयले निःशुल्क सिम कार्ड वितरण, कृषि ज्ञान केन्द्रबाट बालिरोग परीक्षण तथा बीउ बिजन, निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक ,स्वास्थ्य क्षेत्रअन्तर्गत मेची अञ्चल अस्पतालले प्राथमिक स्वास्थ्य परीक्षण, स्वास्थ्य कार्यालय र खानेपानीले आर्सिनिक चेकजाँच, सरसफाइको बारेमा सेवा दिएका थिए।

त्यसै गरी डिभिजन वन कार्यालयले अमला, जामुन र वेलका बिरुवा वितरण गरेका थिए। परिवार नियोजन संघले महिलाको पाठेघर जीवाणु परीक्षण, अस्थायी साधन, यौन रोगको उपचार र परामर्श सेवा प्रदान गरेका थिए। उपभोक्तालाई थप जानकारी गराउने उद्देश्यले गुणस्तर तथा नापतौल कार्यालयले ढक तराजुका बारेमा जानकारी गराएका थिए।

नेपाल रेडक्रसले रक्तदान र प्राथमिक उपचारको बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थिए। जिल्ला प्रशासन कार्यालय झापाको संयोजन तथा कचनकवल गाउँपालिकाको व्यवस्थापनमा एक दिने वृहत् शिविर सञ्चालन गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदय राणा मगरले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.