|

धनकुटा : मगर समुदायमा परम्परादेखि नाचिने मौलिक हुर्रा नाच संरक्षणमा धनकुटाको चौबिसेका मगर समुदाय जुटेका छन। हुर्रा नाचको उद्गम स्थलका रूपमा परिचत चौविसे गाउँपालिका-१ सौरेमा मगर समुदाय मौलिक हुर्रा नाच संरक्षणमा जुटेका हुन्।

मगर समुदायमा पुखौँदेखि एकले अर्काको हात समाएर खुट्टाको तालमा ताल मिलाएर गाउँदै नाच्ने हुर्रा नाच प्रचलित छ। सामूहिक गान र नाचले समुदायमा नयाँ पुस्तालाई सांस्कृतिक चेतना दिलाउने र भाइचाराको सम्बन्ध विश्वासिलो बनाउने मगर समुदायको बुझाइ छ।

मगरहरूले आफनो संस्कार संस्कृतिको खोजी गर्ने क्रममा धनकुटा चौबिसेबाट यो नाच सुरुवात गरेको नेपाल मगर सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष कविराज मगरले बताए।

वि.सं. १८३० तिर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोर्खाली मगर फौज प्रयोग गरेर पूर्वी क्षेत्र एकीकरण गरेपछि धनकुटाको मुढेवासमा मगरफौजलाई बसोबास गराएका थिए। त्यसैवेलादेखि हुर्रानाचको शुरुवात भएको अध्यक्ष मगरले बताए।

मगर भाषामा हुर्र भनेको कोदाली भएका कारण दिनभर मुढेवासका मगरले कोदाली खन्ने र खेतीपाती गर्ने तथा बेलुकी गलेपछि कोदाली बिसाएर हुर्रानाच गर्ने वा कोदाली बिसाएर गीत गाउने र नृत्य गर्ने प्रचलनको शुरु भएपछि पूर्वको धनकुटास्थित मुढेवासबाट पहिलो पटक हुर्रानाचको प्रारम्भ भएको उनले दाबी गरे।

त्यसपछि धनुकेटेली मगर बसाइँसरेर वा विवाह गरेर गएको ठाउँमा पनि हुर्रानाच विस्तार भएको नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष मगरको भनाइ छ।

पछिल्लो समय युवाहरु गाउँघरमा नबस्ने कारणले यो नाच संकटमा पर्दै जाने भएकाले संरक्षणको अभियान चलाइएको हो। धनकुटाको मुढेबास, भेडेटार, कुरुलेतेनुपा, सुनसरीको पाँचकन्या, धरान र मोरङको पाटीगाउँ, याङ्सीला, केराबारी, लेटाङ लगायतका ठाउँमा हुर्रा नाचले निक्कै लोकप्रियता पाएको छ। यो नाच देउसीका रुपमा तिहारको औसीदेखि एघार दिनसम्म नाचिने चलन रहेको स्थानीय युगेश मगरले बताए। 

पूर्वेली मगरको पहिचा

एक अर्काको हात समाएर खुट्टाको तालमा ताल मिलाएर गाउँदै नाच्ने हुर्रा शैली मगर समुदायमा प्रचलित छ। धनकुटा, मोरङ, संखुवासभा क्षेत्रमा बसोबास गर्ने अधिकांश मगर जातिमा लोकप्रिय नृत्यको रुपमा हुर्रा नाच महत्वपूर्ण संस्कृतिको रुपमा रहँदै आएको छ।

जिल्ला मगर संघ धनकुटाका अध्यक्ष चेतबहादुर राना मगरका अनुसार हुर्रा नाच पूर्वेली मगरको पहिचान भएको र धनकुटामै जन्मिएको हुनाले पनि यसको संरक्षण अभियानमा आफूहरु जुटेको बताए। उनले भने, ‘नेपालका पस्श्चिमका मगरहरु कौडा नृत्यले चिनिन्छन् भने पूर्वेली मगर हुर्रानाचले चिनिन्छन्।’

मगर समुदायका बाहुल्य रहेका धनकुटाका हरेका स्थानीय तहमा संघले हुर्रानाच संरक्षण र प्रचारप्रसार अभियानलाई तीव्र्रता दिदैँ आएको अध्यक्ष रानामगरले बताए। विशेषगरी माघेसक्रान्ति पर्वलगायत विवाह, मगरजातिका धार्मिक तथा सांस्कृतिक कार्य, पास्नी, छेवर ब्र्रतबन्ध आदिमा हुर्रा नृत्य प्रदर्शन गर्ने गर्छन।

मुख्य गरेर मगर युवा तथा युवतीले आ–आफ्नो भेषभूषा र जातीय पहिरनमा रहेर मादल, झ्याली, बाँसुरी सहित बाध्य बादनमा सामूहिक नृत्य गरिने नृत्य नै हुर्रा नृत्यको रुपमा रहेको छ।

हुर्रा नाचमा मगर युवा तथा युवतीबीच संयोगान्त वा वियोगान्त रसमा आधारित मायापिरतीका कुरा जोडेर गीत बनाई सामूहिक रुपमा यो नृत्य गर्ने गरिएको छ। यो नृत्य न्युनतम आधा घण्टादेखि दिनभर वा रातभरसमेत लामो समयसम्म नृत्य गर्न सकिने मगर समुदायको भनाइ छ।

गाउँपालिकाले गर्‍यो हुर्रा महोत्सव

मगर जातिको भाषा, संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिका–१, सौरेबजारमा दोस्रो हुर्रा महोत्सव सम्पन्न भएको छ। हुर्रा नाचको संरक्षण र संवद्र्धनमा लागेको नेपाल मगर संघलाई सहयोग गर्न चौबिसे गाउपालिकाले महोत्सवको आयोजना गरेको हो। गाउँपालिकाले गत वर्षदेखि हरेक वर्ष वडा नं. १ को सौरे बजारमा हुर्रा महोत्सव सञ्चालन गर्दै आएको छ।

बहुजातिय बसोबास भएको देशमा हरेक जातिका संस्कति संरक्षण गर्नुपर्छ भन्ने  ध्येयले महोत्सवको आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष यज्ञ कुमारी रुचालले बताइन्। महोत्सवको प्रमुख सल्लाहकार समेत रहेकी रुचालले चौबिसेबाटै हुर्रा नाचको उत्पति भएको हो भनेर सन्देश दिनपनि महोत्सव आयोजना गरिएको बताइन्।

११ वटै टिमलाई चार/चार हजार दान

महोत्सवमा गाउँपालिकाका विभिन्न वडाहरुबाट ११ वटा हुर्रा टिमको सहभागिता रहेको थियो। देउसीका रूपमा सहभागी ११ वटै टिमलाई नगद ४/४ हजारका दरले दान दिएर बिदा गरिएको रुचालले जानकारी दिइन्।

चौबिसे गाउँपालिकाको वडा नं. १ मा कुल जनसंख्याको ४० प्रतिशत मगर जातिको मात्र एकल बसोबास रहेको छ भने वडा नं. २ को मुढेवास, टोड्के, वडा नं. ३ को सोगुम, वडा नं. ४ को सुरुङ्गी, वडा नं. ८ को बसन्तटारस्थित ठाडागाँउ र आमडाँडामा मगरहरुको बाहुल्यता रहेको छ। हुर्रा महोत्सवमा अन्य जातिको मानिसहरुले पनि मगर जातिको भेषभुषामा सजिएर हुर्रा प्रदर्शन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.