|

जनकपुधाम: जनकपुरको एक कृषकको घरमा जन्मिएको मानिस, हुँ म। डा.पेशा अगाल्दै र राजनीतिक आन्दोलनमा होमिँदै नेपाली राजनीतिकमा लागेर देशले मलाई राष्ट्रपति पदमा बसेर काम गर्ने अवसर दियो। जब म बच्चा थिए। म चुरे क्षेत्रमा गाईवस्तु चराउन जान्थे। यो हरियाली वनले मलाई लोभ्याउथ्यो। तर अब त्यस्तो रहेन। समय बित्दै गयो।

चुरे मास्सिदै गयो। मैले बाचेको जीवनमा नै चुरे समाप्त हुने अवस्थामा छ। हरेक वर्ष तराई डुबानमा पर्छ। पहिलो कारण चुरेको कटानी, फडानी नै हो। जलवायु परिवर्तनको असर चुरेलाई पनि परेको छ। चुरे जलवायु परिवर्तनबाट सबैभन्दा धेरै पीडित भूभाग हो।

सिंगो देशको १३ प्रतिशत भूभाग चुरेले ओगटेको छ। म राष्ट्रपती पदमा हुँदा र पदबाट रिटायर्ड भइसके पनि चुरेबारे विभिन्न कालखण्डमा बनेका सरकारसँग कुरा गरेको छु।

 तर, सरकारले यो कुरा संसदसम्म पुर्‍याएर चुरेको संरक्षणमा बहस गर्नुपर्ने हो। त्यो गर्न सकेको छैन। मैले तत्कालीन अर्थ सचिव रामेश्वर खनाललाई चुरे दोहन रोक्न आवश्यक कदम चाल्न अर्थमन्त्रीसम्म गुनासो पुर्‍याउन आग्रह पनि गरेको हुँ। चुरेको चिन्ता सरकारलाई भएन। अहिलेसम्म पनि सरकारले चुरेको संरक्षण गर्न किन आलटाल गरेको छ। मैले बुझ्न सकेको छैन।

अहिले सरकारले चुरेको चिन्ता गरेन र यसको संरक्षणमा ठोस कदम चालेन भने भहावह अवस्था सृजना हुन्छ। हाम्रो आउने पुस्ताले हामीलाई धिकार्छ। चुरेको माटो आफैँमा कमलो छ। यहाँबाट काठ तस्करी हुन्छ।

ठूला-ठूला स्काभेटरको प्रयोगबाट अवैध बालुवा निकाल्ने काम भएको छ। तर, सरकार मौन छ। चुरे विस्तारै खुम्चदै जानुमा सरकार दोषी छ। सरकारले चुरेको मध्यबिन्दुबाट राजमार्ग बनाइरहेको छ। के सरकारले चुरेलाई नै राजमार्ग बनाउने उत्तम स्थान देखेको हो त? यसरी चुरे विनास हुन्छ।

सरकारले बनाउँदै गएको राजमार्ग चुरेलाई असर नपर्ने गरि बनाउन पनि म आग्रह गर्दछु। धरानदेखि मकवानपुर ३ सय किलोमिटर र झापादेखि कन्चनपुरसम्म १२ सय किलोमिटर बाटो सरकारले चुरे दोहन गर्दै बनाउँदै छ। विकास गर्ने नाममा चुरेको विनास नगरौँ। सिंगो राष्ट्रको भाग्य चुरेसँग जोडिएको छ। देशमा जंगल मास्सिदै गएको छ। चुरेको १३ प्रतिशत जग्गा जोगाउन हामी बेलैमा सचेत हुन जरुरी छ।

चुरे बचे तराईको भूमि बच्छ। चुरे बचे हामीले खाने अन्‍न बच्छ र हामीले खाने अन्‍न बचे मात्र बल्ल देश बच्छ।

साहित्य महोत्सवमा पूर्व राष्ट्रपति यादवको  ‘चुरेको चिन्ता’ बहसको अंश 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.