ओलीजी झापाको मात्रै प्रधानमन्त्री हो?

|

डडेल्धुरा : चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्राडा. गोविन्द केसीले प्रधानमन्त्रीले चाहेमा आफ्ना मागहरू एक घण्टाभित्र पूरा हुने बताएका छन्।

अनशनको सातौँ दिनमा आइतबार पत्रकार सम्मेलन गर्दै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको एक आदेशले आफूले अघि सारेका मागहरू पूरा हुने बताएका हुन्। मन्त्रीलाई प्रधानमन्त्री ओलीले  एक आदेश दिए आफ्ना सातबुँदे माग पूरा हुने उनको दाबी छ।

‘अहिले मन्त्रीहरूले आफ्नो इच्छाले काम गर्न सक्दैनन्। ओलीजीकै आदेशमा उनीहरूले काम गरिरहेका हुन्छन्’ केसीले भने, ‘मेरा मागहरू अहिलेसम्म पूरा भइसक्नुपर्ने हो। तर, भएका छैनन्। ओलीजीको एक आदेशमा एक घण्टाभित्र मेरा सबै मागहरू पूरा हुन्छन्।’

प्रधानमन्त्री ओलीले चाहेमा डडेल्धुरालगायतका देशका चिकित्सकविहीन रहेका अस्पतालमा डाक्टर पदपूर्ति हुने उनले बताए। देशका प्रधानमन्त्री जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार भएको उनको आरोप छ।

‘प्रधानमन्त्री ओलीजी कति समवेदनहीन, जनताप्रति उनको समवेदनशीलता नै छैन’ उनले भने, ‘ओलीजी कुर्सीको आडमा चलिरहेका छन्।’

ओलीजी झापाको मात्रै प्रधानमन्त्री हो?

सुदूरपश्चिम प्रदेशका साता पहाडी जिल्लाको स्वास्थ्य अवस्था दयनीय रहेको उल्लेख गर्दै अनशनरत डा.गोविन्द केसीले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था रहेको बताए।

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक उपचार नपाएर मृत्युवरण वा अन्यत्र जानुपर्ने अवस्था रहँदा प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा बुद्धको मूर्ति र भ्युटावर निर्माण गर्न १८ अर्ब सरकारी लगानी गरिरहेका बताए।

‘प्रधानमन्त्रीको जिल्ला झापामा बुद्धको मूर्ति बनाउन १५ अर्ब र भ्युटावर बनाउन ३ अर्ब  सरकारी लगानी गरिँदैछ। ओलीजी झापाको मात्रै प्रधानमन्त्री हो?’ उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले प्राथमिकता नबुझेको आरोप उनको भनाइ छ। १८ अर्बमा ४/५ वटा सरकारी मेडिकल कलेज संचालन गर्न सकिने उनले बताए। देशको प्रधानमन्त्रीलाई शिक्षा महत्वसमेत थाहा नभएको उनको आरोप थियो।

ओलीजीले सम्झौता उल्लंघन गरे

ओली प्रधानमन्त्री हुँदा चारपटकसम्म अनशन बसेको जानकारी गराउँदै उनले बेलाबेलामा आफूसँग गरेका सम्झौताहरू उल्लंघन भएको बताए। प्रधानमन्त्री ओलीको पेलेरै लाने मानसिकताका कारण सम्झौता कार्यान्वयन गर्नुको सट्टा उल्लंघन गरिहरेको उनको आरोप छ।

‘ओलीजीमा पेलेरै लाने मानसिकता छ। उहाँले सम्झौता उल्लंघन गर्नुहुन्छ। सम्झौता कार्यान्वयन त परको कुरा हो’ उनले भने। सरकार र अन्य पार्टीका नेताहरूले शिक्षा र स्वास्थ्यको चरम व्यापारीकरण गरिरहेको उनको आरोप छ।

सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले राज्य कोषबाट विदेशमा उपचार गराइरहेको उल्लेख गर्दै अनशनरत डा. केसीले गरिब जनताले देशमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए।

डडेल्धुरामै सत्याग्रह जारी राख्ने

आफूले अनशन थालेको सात दिन हुँदासम्म समेत सरकारले कुनै किसिमको प्रतिक्रियासमेत नजनाएको उनको भनाइ छ। प्रधानमनत्री जनताको सेवक हुने गर्ने ठाउँमा महाराजाको जस्तो व्यवहार गरिरहेको डा. केसीको आरोप छ।

सात दिन हुँदासम्म सरकार चुप लागेकाले अझै दुई दिन पर्खिने र दुई दिनसम्म पनि माग पूरा नभए थप माग राख्ने उनले बताएका छन्। डा. केसीले आफ्ना माग पूरा नहुँदासम्म डडेल्धुरामै सत्याग्रह जारी राख्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.