सिरहा : सिरहाको पश्चिमवर्ती कमला नदीमा स्नान गरी कुल देवताको पूजा गर्न तान्त्रिक विद्या सिक्नेहरूको भीड लागेको छ।
कार्तिक शुक्ल पूर्णिमाको अवसरमा मंगलबार बिहान कमला नदीको उत्तरवाहिणी, कमला पुल, सिक्रौन, चतरी, बेलहा, बडेर्वा, बसबिट्टामा कमला स्नान गरी गुरु मानिएका धामी, झाँक्रीबाट तान्त्रिक विद्याबाट दीक्षित हुनेहरू हजारौंको संख्यामा आएका थिए।
सिरहाको कर्जन्हा नगरपलिका १ मा पर्ने उत्तरवाहिणीमा कमलामा स्नान गरी गुरुबाट तान्त्रिक विद्याका लागि आउनेहरूमा करिब ९८ प्रतिशत महिला थिए।
आफूले मानेका गुरु वा धामी झाँक्रीको आदेशअनसार काम्दै पूजासहित कमला नदीमा स्नान गरे देवी देउतासँगै कुल देवता समेत खुशी हुने र परिवारमा आपत् विपत् नआउने कमला नदी किनारमा भेटिएका धामी झाँक्रीहरूले बताए।
करिब दुई किलेमिटर खण्ड उत्तरतिर बग्ने कमला नदीको उत्तरवाहिणी खण्डमा पानीमा डुबुल्की मार्दै महिला पुरुषहरू काम्दै डुबुल्की मार्ने गर्छन्।
बाजागजासहित हातमा बलिरहेको धुपौरो र बाँस वा बेतको लौरो लिएर काम्दै धामी झाँक्रीको आदेशअनुसार पूजा गर्दा कुल देवताका लागि तन्त्रमन्त्र सिद्ध हुने मान्यता हेको कमला किनारमा आफ्नो शिष्यलाई सिकाउँदै गरेका धनुषाको पोर्ताहाका ५५ वर्षीय मनु पासवानले बताए।
‘आफूले जानेको मन्त्र सिद्ध गर्न परम्परादेखिको चलन हो’ गोलबजार नगरपालिका १ मुक्सारका ६५ वर्षीय जयकिशोर यादवले भने, ‘घरको कुल देउता बुहारी तारादेवीको शरीरमा प्रवेश गरेकाले उनकै लागि कमला स्नान गर्न आएका हौं।’
‘कुल देवतालाई खुशी बनाउन सकिए परिवार र सन्तानमा कसैले आँखा नलाउने र तन्त्रमन्त्र सिद्ध गर्न धामीझाँक्री, माताहरू पूजाका लागि हरेक वर्ष आउँछन्’ उनले भने।
कमला स्नानका लागि गाउँमा गुरु मानिएका धामी-झाँक्री, माता तान्त्रिकबाट सिकेको मन्त्रको सिद्धिका लागि हरेक वर्ष कार्तिक पूर्णिमामा कमलामा स्नानका लागि आउनेहरूको संख्या बढिरहेको स्थानीय बताउँछन्।
कला नदीमा स्नानका लागि धामी, झाँक्रीसँगै तान्त्रिक विद्या सिक्ने उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट र भारतको बिहारसम्मका मानिस आउने गरेको मिर्चैया मटियर्वाका धामी ५९ वर्षीय रामेशवर मण्डलले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।