|

काठमाडौं : शिख धर्मका प्रवत्र्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। यस अवसरमा कुपण्डोलस्थित गुरुद्वारा सत्सङ्ग समितिले आयोजना गरेको तीनदिने अखण्ड ‘गुरु गन्थ साहिब’ वाचन कार्यक्रम समापन गरियो।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, समिति अध्यक्ष प्रीतम सिंह, ज्ञानी गुरु बखससिंहलगायतले गुरुनानक देवले मानव समुदायलाई दिनुभएको सन्देशका बारेमा चर्चा गरे। नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले यसै वर्ष नेपाल सरकारले गुरुनानकको स्मरणमा सिक्का प्रकाशन गरेकामा खुशी व्यक्त गरे।

गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तस्थित नानकाँडा भन्ने स्थानमा भएको थियो। उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गरे। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुवात उनले गराए।

करीब ५०० वर्षअघि गुरुनानक काठमाडौं आएका थिए। त्यसबेला उनी पशुपतिस्थित भष्मेश्वर, शोभाभगवती, ज्ञानेश्वर र नयाँबजारमा एक वर्षसम्म बसेका थिए। त्यसबेला यहाँका राजाले पनि उनलाई गुरु मानी जग्गा दान गरेर नानक मठको नाममा गुठी स्थापना गरेको ज्ञानी गुरु बखससिंहले बताए।

त्यसबेला जयजगत मल्ल र जयप्रकाश मल्लले नानक मठका नाममा एक हजार ६०० रोपनी जग्गाको गुठी राखेका थिए। हाल धेरै जग्गा अतिक्रमण भई ५० रोपनीमात्र नानक मठका नाममा रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.