|

पर्सा : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले वर्तमान सरकारले नेपाली भूमि जोगाउन खुट्टा नकमाउने बताएकी छन्। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले नै आब ०७५⁄०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी एवं २ नम्बर प्रदेशस्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमा सहभागी हुन सोमबार वीरगन्ज आइपुगेकी मन्त्री अर्यालले मंगलबार यहाँ यस्तो बताएकी हुन्।

नेकपा पर्साको पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासँग भएको भेटघाट कार्यक्रममा उनले सम्बोधन गर्दै ‘यो सरकारले ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छÕ भनिन्। पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्डजस्ता व्यक्तिहरू भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरूकोमा पार्न नदिने उनको जिकिर छ।

ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा खुट्टा नकमाउने उनको दाबी छ। 'लिपुलेक, कालापानी नेपालकै नक्सामा राखिसकिएको छ। लिम्पियाधुराको सवालमा भने थप प्रमाणहरू जुटाउँदै छौँ' उनले भनिन्।  

‘समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडि बढिरहेको वर्तमान सरकार लोकतन्त्रको प्राप्तिसँगै जनताको अभिमतबाट बनेको शक्तिशाली सरकार हो। अब सरकारले विकासको खाका मात्र बनाउँदैन। प्रतिफल देखिने गरी काम गरेर देखाउँछ' उनले भनिन् 'दक्षिण एशियामा पहिलो पटक पाइप लाइनबाट तेल आफ्नो देशमा खसालिसकेको एउटा उदाहरण मात्र हो। यो कुरा पहिले सुन्दा प्रतिपक्षी दलका मानिसलाई गफै लाग्थ्यो होला। तर पानी जहाज, सुरुङमार्गलगायतका विकास र समृद्धिका कुरा गफ होइनन्। जनयुद्धलगायतका राजनीतिक उचारचढावले निकैपछि परेको मुलुकले अरू मुलुकको दाँजोमा पुग्न तीव्र विकासको गतिलाई बढाउनु पर्ने नेपाललाई बाध्यता छ।'

सरकारले नेपालमा पनि गतिवान् काम गर्न सकेन भने नेपालमा पनि कम्युनिष्ट सरकारमाथि प्रश्न उठ्ने उनले तर्क गरिन्। यो अवस्था आउन नदिने गरी वर्तमान सरकार अगाडि बढिरहेको उनको भनाइ छ। 

सामाजिक सञ्जाल र बाहिर जता पनि प्रतिपक्षका मात्र कुरा आउँदा फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेको जस्तो देखिएको भन्दै कम्तिमा सरकारले गरेका राम्रा कामको सहि प्रचार हुनुपर्ने बताइन्। राम्रा कामको ठोस कुरा जनतामा लान पार्टी कार्यकर्ताको भूमिका अहम् हुने उनले नेता कार्यकर्तालाई सुझाव दिइन्। 'राम्रा कामको त प्रचार गह्रौं' उनले जोड दिइन् 'विगतभन्दा राजश्व ७ प्रतिशतले बढेको छ। संचित रकम पनि बढेको छ यो पनि त सकारात्मक पक्ष हो।'

पर्साका नेता कार्यकर्ताले राखेका जिज्ञासाहरूलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नराम्रा काममा आफूलाई सकारात्मक सुझाव दिन भनिन्। जनअपेक्षाविपरीत भएका कुनै काम आफूलाई मान्य नहुने भन्दै मन्त्री अर्यालले मातहतको निकायमा आर्थिक अपचलन हुने काम कसैले गरेको फेला परे कसैलाई पनि छुट नदिने दाबी गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.