|

भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ। समाचार एजेन्सी पिटीआइका अनुसार महाराष्ट्रमा सरकार गठनको विषयमा अन्यौल देखिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले राज्यमा राष्ट्रपति शासन लगाउने निर्णय गरेको हो।

राज्यपाल भगतसिंह कोश्यारीले राष्ट्रपति शासनको लागि गरेको सिफारिसलाई राष्ट्रपति रामनाथ कोविन्दले स्वीकृती दिएको बिबिसीले जनाएको छ। मोदी सरकारमा उद्योगमन्त्री रहेका शिव सेनाका अरवीन्द सावन्तले सोमबार राजीनामा दिएका थिए। शिवसेनाले यसअघि सरकार बनाउने दाबी गरे पनि सफल हुन सकेन्। २ सय ८८ सदस्यीय महाराष्ट्र विधानसभामा कुनै पनि पार्टीको बहुमत छैन। तर, भारतीय जनता पार्टी १ सय ५ विधायकसँगै सबैभन्दा ठूलो पार्टी हो।

भाजपाले सरकार गठनमा असमर्थता जाहेर गरेपछि राज्यपालले गत आइतबार ५६ विधायकको साथमा शिवसेनालाई सरकार बनाउन आह्वान गरे। तर, शिवशेनाले कांग्रेस र एनसिपीबाट समर्थन पाउन सकेन। त्यसअघि सँगै मिलेर निर्वाचन लडेका शिव सेना र भाजपाबीच मुख्यमन्त्री पदलाई लिएर सहमती बन्न नसकेको हो।

भाजपासँग कुरा नमिलेको र कांग्रेसलगायतका दलको समर्थन नपाएपछि शिवसेनाले अतिरिक्त समय मागेको थियो। त्यसमा पनि ऊ असफल भयो।

शिवसेना राष्ट्रपति शासनलाई चुनौति दिँदै सर्वोच्च अदालत पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। शिवसेनाले भाजपालाई ४८ घण्टाको समय दिइएकोमा आफूले दाबी पेस गर्न मात्र २४ घण्टाको समय पाएको आरोप लगाएको  छ। महाराष्ट्रमा सरकार बनाउनका लागि मुम्बइमा कांग्रेस र एनसिपीका नेताबीच छलफल चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.