|

हेटौँडा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देखिएको सीमा विवादबारे सरकारले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा मंगलबार गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता देउवाले अहिले देखिएको सीमा विवादबारे भारतसँग वार्ता गर्नुपर्नेमा जोड दिए।

उनले कालापानी नेपाली भू-भाग र लिपुलेक त्रिदेशीय विन्दु भएको समेत स्पष्ट पार्दै भारतसँग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई के कुराले रोक्यो भन्दै प्रश्न गरेका छन्। उनले वर्तमान सरकार जनताको समस्यामा भन्दा पनि अनावश्यक काममा बढी अलमलिएको बताए।

उनले चीन वा भारतले अनुदानमा रेल बनाइदिए ठीकै रहेको भन्दै ऋणमा रेल ल्याएर नेपाललाई फाइदा नहुने बताए। उनले अहिलेको सरकार अधिनायकवादी चरित्र अघि बढेको र राज्यमा विभिन्न अंगहरूलाई नियन्त्रणमा लिने काम गरिरहेको भन्दै यसको प्रतिकार जरुरी रहेको बताए।

सीमा विवादमा सरकारलाई कांग्रेसको साथ : पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा आन्दोलन गरेर भन्दा आफ्ना प्रमाणहरू पेश गरेर भारतसँग सरकारले सीमा विवादबारे छलफल गर्नुपर्ने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा विवाद समाधानमा साथ दिने कांग्रेसले प्रतिबद्धता गरिसकेको भन्दै उनले अब प्रधानमन्त्रीको भनाइ र गराई हेर्ने बेला आएको बताए।

'प्रधानमन्त्री केपि शर्मा ओलीलाई सीमा विवाद समाधानमा साथ दिने कांग्रेसले प्रतिवद्धता गरिसकेकाले हामी सरकारको भूमिका हेरिरहेका छौं' उनले भने।

कांग्रेसका शीर्ष नेता हेटौंडामा

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा मंगलबार गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सभापति देउवा, वरिष्ठ नेता पौडेल सहित नेपाली कांग्रेसका शिर्ष नेताहरु हेटौंडामा आएका छन्। मंगलबार  उपसभापति विमलेन्द्र नीधि, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत, महालक्ष्मी उपाध्याय डिना, ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमका अधिकांश वक्ताहरूले सरकारको कार्यशैलीले जनतामा निराशा छाएको भन्दै कांग्रेसले जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुपर्ने तर्क राखेका थिए। २ दिने प्रशिक्षणमा ३ नम्बर प्रदेशका ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोतम दाहालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.