|
फाइल फोटो

सप्तरी : जिल्ला प्रशासन कार्यालय सप्तरीले दुई गाउँपालिकाका बासिन्दालाई नियमानुसार रहेका सबै खालका बन्दुक तथा हातहतियार सात दिनभित्र बुझाउन आग्रह गरेको छ।

प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आगामी मंसिर १४ गते जिल्लाको छिन्नमस्ता गाउँपालिका-७ वडाध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनका लागि बन्दुक तथा हातहतियार बुझाउन आग्रह गरेको हो।

उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् मर्यादित वातावरणमा सम्पन्न गर्न छिन्नमस्ता र छिमेकी विष्णुपुर गाउँपालिका क्षेत्रका बासिन्दासँग नियमानुसार राखिएका सबै खाले बन्दुक तथा हातहतियार सूचना जारी भएको मितिले आगामी मंसिर २ गते अपरान्ह ४ बजेभित्र जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाउन सूचनामार्फत् आग्रह गरिएको छ।

जिसस प्रमुख बनेपछि खाली

स्थानीय तह निर्वाचन २०७४ मा राष्ट्रिय जनता पार्टी नेपालबाट दुई सय ८८ मतसहित निर्वाचित छिन्नमस्ता गाउँपालिका ७ का वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समिति सप्तरीको प्रमुख पदमा निर्वाचित भएपछि उक्त पद खाली थियो। साविक बरही वीरपुर, छिन्नमस्ता, लालपट्टि, कोचाबखारी गा.वि.स. गाभेर सात वडा कायम गरिएको छिन्नमस्ता गाउँपालिकामा राजपाबाट यादव मात्र वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

   गाउँपालिकामा अध्यक्ष संघीय समाजवादी पार्टीसँग एकता गरेको तत्कालीन नयाँ शक्ति पार्टी, नेपालले अध्यक्षसहित दुई वडाध्यक्ष, नेपाली कांग्रेससँग एकता गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमले एक, कांग्रेस एक, तत्कालीन माओवादी केन्द्र एक, राजपा गाउँपालिका उपाध्यक्षसहित एक वडाध्यक्ष र स्वतन्त्र एक वडाध्यक्षले निर्वाचन जितेका थिए।

निलम्बनपछि दुई वडाध्यक्ष रिक्त

सप्तरीको रुपनी गाउँपालिका १ र सुरुङ्गा गाउँपालिका ५ मा गरी दुई वडाध्यक्षको पदसमेत खाली रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ। राजपाबाट रुपनी १ को  वडाध्यक्ष निर्वाचित पिताम्बर यादव निर्वाचित भएको एक वर्षपछि निलम्बनमा परेका हुन्।

गाउँपालिका अध्यक्ष हरेराम यादवका अनुसार वडाध्यक्ष निर्वाचित नहुँदै तत्कालीन जिल्ला शिक्षा कार्यालयमा ओभरसियर पदमा कार्यरत बेलाको मुद्दा ब्युँताइएपछि निलम्बन हुँदा वडाध्यक्ष पद रिक्त रहेको हो।

त्यस्तै, २०७६ वैशाख १६ गते सुरुङ्गा नगरपालिका ५ का वडाध्यक्ष सिल्टु मियाँ ‘घुस’ रकमसहित पक्राउ परेपछि वडाध्यक्ष पद खाली रहेको जिल्ला निर्वाचन अधिकारी दिलिपकुमार यादवले जानकारी दिए।

उक्त वडामा पर्ने मोही जग्गाको सिफारिशका लागि भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ ‘घुस’ रकम लिएको आरोपमा सुनसरीको इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई उनको स्वामित्वमा रहेको राइन सःमिलबाट रकमसहित पक्राउ गरेको हो।

सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका १२ का वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि उक्त पद रिक्त रहेको छ। मंसिर १४ गते वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा कल्याणपुर १२ मा तिलासी बेलहा र विष्णुचरण आधारभूत विद्यालय बेलहा (क), (ख) र (ग) मदतान केन्द्रमा गरी तीन हजार चार सय ५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.