विश्वमा ४५ करोड मधुमेहका बिरामी

|

काठमाडौं :  कुनै समय मधुमेह अर्थात् चिनीरोग बूढाबूढी र धनीलाई मात्र लाग्ने रोगका रूपमा चिनिन्थ्यो। तर, पछिल्लो समय  बूढाबूढी वा धनीलाई मात्र नभएर युवा उमेरमै धेरै मधुमेहको सिकार भएका छन्। 

बदलिएको जीवनशैली, शारीरिक निष्क्रियता, मोटोपन, असन्तुलित खानपान, मदिरा, धूमपान आदिको सेवन र तनावजस्ता कारणले नेपालमा मधुमेह रोगीको संख्या दिनानुदिन बढ्दै गएको छ। सन् १९९१ बाट विश्वभर नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइँदै आएको छ।

 त्यसैअनुसार आज विश्वभर मधुमेह दिवस मनाइँदै छ। लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय रहेका फिजिसियन डा प्रतीक पौडेलका अनुसार मधुमेह बिरामी बर्सेनि थपिँदै गएका छन्। उनका अनुसार हाल विश्वमा ४५ करोड मधुमेहका बिरामी रहेका छन्। तीमध्ये १० प्रतिशत उच्च जोखिममा छन्। पछिल्लो समय मधुमेहबाट पीडित हुनेमा युवाहरू धेरै हुँदै गएका छन्।

मधुमेह पछिल्लो समय  खानपान र बदलिँदो जीवनशैली नै युवाहरूमा मधुमेह हुने मुख्य कारण हो। धेरै जंकफुड खानु, मोटोपन अत्यधिक धेरै हुनु युवाहरुमा मधुमेह हुने कारण हुन्। धेरै क्यालोरी भएको खानेकुरा खाने तर शारीरिक व्यायम कम गर्ने हुँदा युवाहरुमा मधुमेह बढ्दै गएको हो।

मधुमेह भएकाले कस्तो खानेकुरा खाने

डाइबिटिज भएका मानिसले अरूले सादा खाना खानुपर्छ। लामो समयसम्म व्रत बस्‍नुहुँदैन। सकेसम्म छिटोछिटो खाने कुरा खाइरहनुपर्छ। यसका साथै हरिया सागसब्जी, दूध, दही र कम कार्बोहाइड्रेड भएका खानेकुरा खानुपर्छ। रातो मासु र तेलमा तारेका खानेकुरा पनि खानुहुँदैन। डाइबिटिज भएका मानिसले रक्तचापलाई १३०/८० भित्र राख्नुपर्छ। डाइबिटिजले मुटु, मिर्गौला, आँखा, मस्तिष्क र छालालाई समेत संक्रमण गर्ने हुँदा डाइबिटिज भएका र लामो समयसम्म डाइबिटिजका औषधि सेवन गरेकाहरूले बेलाबेलामा डाक्टरसँग जाँच गराउनुपर्छ। यसबाहेक खानपानमा विशेष ध्यान दिनुका साथै विलासीपूर्ण जीवनशैलीलाई त्याग्नु र शरीरलाई सक्रिय बनाउनुपर्दछ।

युवा उमेरमै मधुमेह देखिए यी कुरामा ध्यान दिने 

यो रोग विशेषगरी मोटो व्यक्ति, कम्मर र पेटमा बोसो जम्मा भएको, व्यायाम नगर्ने व्यक्तिलाई लाग्न सक्छ। घर परिवारमा बाबुआमा कसैलाई डाइबिटिज छ भने  छोराछोरीमा पनि सम्भावना हुन्छ। त्यस्तै, तनाव लिने, विलासीपूर्ण जीवनशैली भएका, धूमपान र मद्यपान गर्ने व्यक्तिहरूलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ। डाइबिटिज भएका मानिसले सबैभन्दा धेरै खानेकुरामा ध्यान दिनुपर्छ।

धेरै गुलिया र धेरै नुनिला खानेकुरा, मोटोपन बढाउने, चिल्लो पदार्थ भएका, आँप, केरा, अंगुरजस्ता गुलिया फलफूल खानु हुँदैन। यसका साथै धूमपान र मद्यपान गर्नु हुँदैन। शारीरिक व्यायाम गर्नुपर्छ। मधुमेह भएका मानिसले हरेक दिन बिहान ३० मिनेट पसिना आउने गरी हिँड्नु राम्रो हुन्छ।

के हो मधुमेह

रगतमा चिनीको मात्रा धेरै हुनुनै मधुमेह (डाइबिटिज) हो। ग्रन्थीमा हुने कोषहरूले उत्पादन गर्ने इन्सुलिन भन्ने पदार्थ प्यान्क्रियाज कम उत्पादन भए या उत्पादन भएको इन्सुलिनले काम गरेन भने शरीरमा ग्लुकोजको मात्रा बढ्ने हुँदा यसले रगतमा चिनीको मात्रा बढ्छ। 

यदि बिहान खाली पेटमा रगत जाँच्दा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने चिनीको मात्रा बढेको मानिन्छ। १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह लाग्ने सम्भावना धेरै हुन्छ। यस्तो बेलामा चाँडै नै डाक्टरकोमा जानुपर्छ। मधुमेह खासगरी दुई प्रकारको हुन्छन्। 

टाइप वान र टाइप टु। टाइप वान भनेको इन्सुलिनमा भर पर्ने मधुमेह हो। शरीरले इन्सुलिन उत्पादन गर्न नसकेपछि यो रोग लाग्छ। यो रोग ३० वर्ष नपुग्दै पनि देखा पर्न सक्छ। यसको उपचार भनेको इन्सुलिन सुईको प्रयोग र उचित खानपिन नै हो।

नियमित व्यायाम यसको अर्को उपचार विधि हो। त्यस्तै, टाइप टु इन्सुलिनमा भर नपर्ने खालको मधुमेह हो। यसमा प्यान्क्रियाजले इन्सुलिनको उत्पादन गरे पनि त्यो शरीरका लागि चाहिने मात्रामा हुँदैन। प्यान्क्रियाजले उत्पादन गरेको इन्सुलिनले राम्ररी काम गरेन भने यो खालको मधुमेह लाग्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.