एउटा फेसबुक पोस्टले चर्चामा गौरव

|

‘मेरी विधवा आमा डोला अधिकारीका लागि योग्य वर चाहिएको छ। म कामको सिलसिलामा धेरैजसो घरबाहिरै रहने गर्छु, यस्तोमा मेरी आमा एक्लै पर्नुहुन्छ। मलाई लाग्छ, एक्लै समय कटाउनुभन्दा मेरी आमालाई अझै राम्ररी जिउने अधिकार छ।’

भारत, पश्चिम बंगालका गौरव अधिकारी अहिले एक फेसबुक पोष्टका कारण चर्चामा छन्। गौरवले यस्तो पोष्ट गर्नुभन्दा अघि आस्था नामकी एक किशोरीले ५० वर्षीय आमाका लागि वर खोज्दै गरेको ट्वीट पनि चर्चामा आएको थियो।

पाँच वर्षअघि उनका पिताको निधन भएको थियो। त्यसयता, उनकी ४५ वर्षीय आमाले एक्लो जीवन बिताउँदै आएकी छिन्। ‘सन् २०१४ मा पिताको निधन भएयता आमा एक्लै पर्नुभएको छ। म बिहानै काममा निस्कन्छु, दिनभर आमा एक्लै पर्नुहुन्छ। हरेक मान्छेलाई साथीको खाँचो हुन्छ भन्ने मलाई लाग्छ।’ उनले भने।

गौरवले फेरबुकका यो स्ट्याटस पोष्ट गर्नुअघि आमासँग कुरा गरेका थिए। भने, ‘मैले आमासँग यसबारे कुरा गरेको थिएँ। उहाँ मेरो बारेमा सोच्दै हुनुहुन्थ्यो। मलाई लाग्छ, मैले पनि उहाँको बारेमा सोच्नुपर्छ। एक सन्तानका रुपमा म चाहन्छु, उहाँको बाँकी जीवन राम्ररी बितोस्।’

के लेखेका थिए फेसबुकमा गौरवले?

गौरवले फेसबुकमा लेखेका थिए, ‘मेरी आमा किताब पढ्न र गीत सुन्न रुचाउनुहुन्छ। मलाई लाग्छ, किताब र गीतले साथीको स्थान लिन सक्दैनन्। त्यसैले उहाँको लागि म एक साथीको खोज्दैछु। आउने दिनमा म झनै व्यस्त हुनेवाला छु। भोलि मेरो विवाह होला, केटाकेटी होलान्, तर मेरी आमा? हामीलाई धनसम्पत्तिको कुनै लोभलालच छैन, तर भावी वर आत्मनिर्भर हुन जरुरी छ। मेरी आमाको राम्रो ख्याल राख्ने किसिमको हुनुपर्छ। आमाको खुसी नै मेरो खुसी हो। हुनसक्छ, मान्छेहरूले मेरो खिल्ली उँडाउलान्, पागल भयो कि भन्ठान्लान्, मेरो पोष्ट देखेर हाँस्लान्। तर त्यस्ता कुराले मेरो निर्णय बदलिनेछैन। म मेरी आमालाई नयाँ जीवन दिन चाहन्छु। चाहन्छु, उहाँलाई नयाँ साथी नयाँ मित्र मिलून्।’

गौरवले पाएको प्रतिक्रिया

गौरव भन्छन्, ‘यो पोष्टपछि कयौं फोन आएका छन्, कतिले विवाह गर्ने इच्छा देखाएका छन्। यसरी फोन गर्नेमा डाक्टर, इञ्जिनियर र शिक्षक पनि छन्। म ती मध्येबाट योग्य को हुनसक्छ हेर्दैछु, अहिलेलाई मेरो मुख्य लक्ष्य नै आमाको विवाह गराउनु हो।’

मान्छेहरूले मजाक उडाएका छन् कि भन्ने प्रश्नमा उनले भने, ‘पीठपछाडि त अनेक कुरा गरिरहेका होलान्, तर मेरै अघि भने कसैले केही भनेका छैनन्। मैले प्रचारवाजी वा चर्चामा आउन यो पोष्ट गरेको होइन। मजस्ता धेरै युवायुवतीले आफ्ना एक्ला माता वा पिताबारे मैझैं सोच्दा होलान्, तर हिम्मत गर्न सक्दैनन्।’

सामाजिक सञ्जालमा गौरवको प्रशंसा भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.