|

हेटौँडा : मदन भण्डारी लोकमार्ग कुनै विवाद नआए लक्षित समयमै निर्माण कार्य पूरा हुने भएको छ।

धरान-चतरा-सिन्धुली-हेटौँडा मदनभण्डारी लोकमार्गको पूर्वी आयोजना र पश्चिम आयोजनाको कार्यालय स्थापना गरेर द्रुत गतिमा काम अगाडि बढाइएको छ। आयोजनाको पूर्वतर्फ ३५ वटा र पश्चिमतर्फ २० गरी ५५ वटा पुलको निर्माण कार्य पूरा भइसकेको छ। आयोजनामा कुल ७४ वटा पुल निर्माण गर्नुपर्नेछ।

राजमार्गको पूर्वी आयोजनामा धरानदेखि सिन्धुलीको भीमानसम्म १३४ किलोमिटर सडक निर्माण हुँदैछ। जसअन्तर्गत ४५ किलोमिटरमा पहिलो चरणको सडक कालोपत्रे भइसकेको आयोजनाका सूचना अधिकारी गोविन्द दुमरुले जानकारी दिए।

यस्तै, कुल ४३ पुलमध्ये ३५ सम्पन्न भएको छ भने ८ वटा पुलहरूको सुपरस्ट्रक्चर गर्न बाँकी तथा अन्तिम चरणमा पुगेको दुमरुले बताए। सामान्य पुलहरू निर्माण तथा मुआब्जाका विषयमा विवाद आएता पनि कामै भने नरोकिएको उनको भनाइ छ। यस्तै हिसाबले काम भएमा, विवाद नआएमा अबको १० महिनामा ९० प्रतिशत काम सकिने उनले जानकारी दिए।

दशैं, तिहार र छठ पर्वको अवसरमा कामको गति अलि कम भएता पनि अब भने द्रुत गतिमा हुने दुमरुले बताए। मदन भण्डारी लोकमार्गको पूर्वी आयोजनाका लागि झण्डै २ अर्ब बजेट विनियोजन गरिएको दुमरुले बताउँदै उक्त रकमले पनि काम पूरा हुन नसकिने अवस्था आउन सक्ने बताए।

सडक तर्फको ६० प्रतिशत काम सम्पन्न

आयोजनाको पश्चिम बेल्टतर्फ सिन्धुलीको भीमानदेखि हेटौँडाको चौघडासम्म कुल ११५ किलोमिटर सडकको काम भइरहेको छ। जसमध्ये सडकतर्फ ६० प्रतिशत काम सकिएको पश्चिम आयोजनका सूचना अधिकारी केशव ओझाले बताए। ओझाका अनुसार अहिले भइरहेको कार्य प्रगतिमा ४५ किलोमिटर सडक पहिले पत्रमा कालोपत्रे भइसकेको र कुल ३३ पुल निर्माण गर्नुपर्नेमा २० पुल निर्माण सम्पन्न, ११ पुलको जग निर्माण र २ पुल भने मुआब्जाको विवादका कारण अघि बढ्न सकेको छैन।

सिन्धुलीको धुरा बजार र कमलामाई नगरको अठूला खोलामा बन्ने पुलमा विवादका कारण कार्य हुन नसकेको बताउँदै छिट्टै त्यो समाधान हुने बताए। ३० मिटर चौडा रहेको सडकको पहिलो तह ११ मिटर र दोस्रो तह ७ मिटरले कालोपत्रे गरिने भएको छ। दुवै बेल्टमा सडक, नाला, पुल,  स्ल्याब, कल्भर्ट लगायतको काम पनि तीव्र भइरहेको आयोजनाले जनाएको छ।

अबको १० महिना अर्थात २०७७ भदौ महिनामा सम्झौता अवधि सकिन्छ। अहिलेको गतिमा काम गर्न सकेमा अन्त्यसम्म ९५ प्रतिशत काम सकिने ओझाले बताए। विवाद र मुद्दा नआई कार्य गर्न रोकिएन भने काम तीव्र हुने उनले जानकारी दिए। अहिले पश्चिम आयोजनाका लागि मात्र १ अर्ब ८१ करोड बजेट छुट्टाई काम भइरहेको जानकारी दिँदै अझै केही रकम नपुग हुनसक्ने अनुमान गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.