|

दमक : केही वर्ष अघिसम्म पूर्वी झापाको चुनौती बन्दै आएको जंगली हात्तीको पिर अहिले पश्चिमी झापा र दक्षिणी इलाममा सरेको छ। नेपालभारतको सीमा क्षेत्र मेचीनगरमा सोलार फेन्सिङ जडानपछि हात्तीको हैरानी केही घटेको छ।

बरु विद्युतीय तारमा फसेर हात्ती मर्न थालेपछि हात्ती नै जोगाउने चिन्ता चाहिँ छ। तर दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिकोको केही क्षेत्रमा भने दिनहुँ जंगली हात्ती बस्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन्।

अहिले दमकको उत्तरी क्षेत्रमा वर्षौदेखि कायम जंगली हात्तीको समस्या समाधान हुन नसक्दा स्थानीय आजित भएका छन्। बिभिन्न विकल्प लगाएर हात्तीको समस्याबाट छुटकारा पाउन खोजे पनि सवै विफल भएका छन्। अहिले धान पाकेर थन्क्याउने बेलामा समेत हात्तीका बथान खेत-खेत डुल्न थाल्न थाले पनि स्थानीय त्रसित बनेका छन्।

एकातर्फ हात्तीका कारण ज्यानै जोगाउन कठिन भएको छ भने अर्कातर्फ किसानले पाकेको धान समेत ढुक्कले थन्क्याउन पाएका छैनन्। तीन/चार दिन यता हात्तीको बथान गाउँ छिरेपछि स्थानीय थप त्रसित बनेका हुन्। स्थानीय हम्सेदुम्से सामुदायिक वनमा बस्ने हात्ती रात परेपछि गाउँ छिर्ने गरेको दमक ३ का राजकुमार राईले बताए।

कहिले त दिउँसै पनि हात्तीको बथान देखिने गरेको छ। हात्तीले पाकेको धान खाने, माड्ने गरेका कारण किसानको वर्ष भरिको मेहनत पनि खेर गएको छ। यस्तै स्थानीयले लगाएको उखुबारी समेत हात्तीकै लागि ठिक्क छ। यसै गरी इलामको चुलाचुलीबासी पनि यही पीर भोगिरहेका छन्।

दमक ३ कै पदम तामाङ्ले पनि हात्तीको बथान नै गाउँ र खेतमा आएपछि धान थन्क्याउन पनि त्रास भएको बताए। हात्ती आएपछि यहाँका सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक अरु विकल्प पनि छैन। केही समय अघि बिभिन्न संस्थाहरूले दिएको साइरन समेत बिग्रिएपछि हात्ती आउँदा लुक्नु वा आँट गरेर पुल्ठो बालेर निस्कनुको विकल्प नभएको स्थानीय बताउँछन्।  

केही दिनयता जंगली हात्तीका कारण दमक ३ र दमकसँगै जोडिएको चुलाचुली गाउँपालिकाको दक्षिणी क्षेत्रका बासिन्दा त्रसित बन्नु परेको हो।। रातैभर हात्तीको उपद्रोका कारण सर्वसाधारणले सुत्न समेत नपाएको गुनासो गरे।

विकल्पको खोजी

झापाको दमक ३ का वडाध्यक्ष नविन बरालले हात्तीको समस्या समाधानका लागि बिभिन्न उपाय अपनाए पनि समस्याबाट मुक्ति नपाएको बताए। हात्तीको बासस्थान भत्काउनकै लागि गत वर्ष स्काभेटर लगाएर झाडी समेत फाँडिएको थियो। यस्तै बाटोभरि बत्तीको पनि बन्दोबस्ती गरियो। तर हात्ती गाउँ पस्न नछोडेको उनको भनाई।

स्थानीय तथा प्रदेश तहबाट पनि सम्भव नभएमा केन्द्रीय सरकारबाट सहयोग लिएर पनि यो समस्यालाई समाधान गर्ने लक्ष्य रहेको उनले बताए। तत्कालको समस्या समाधानका लागि नगरपालिकाको गाडीमा साइरन जोेडेर जोखिमको क्षेत्रमा कुदाउने तयारी भइरहेको वडाध्यक्ष बरालले बताए। उनले भने,‘यस अघि बिभिन्न संस्थाले दिएको साइरन पनि बिग्रियो। त्यसले केही काम त दिएको थियो। तर अब नगरपालिकाले गाडीमै जोडेर कुदाउने तयारी थालेको छ।’

हात्ती गाउँ छिरेपछि साइरन जडान गरिएको गाडी कुदाउने र त्यसको प्रकाश तथा अवाजले हात्ती भाग्छ कि भन्ने आशा स्थानीयको छ। साइरन जडित गाडीमा आवश्यकताअनुसार नगरप्रहरी तथा स्थानीय समेत बसेर हात्ती धपाउने कार्यका लागि गाडीमा साइरन जडानको काम थालिएको उनले जनाए।  

दिगो समाधान आवश्यक

जंगली हात्तीका कारण दमकको उत्तरी क्षेत्र मात्र होइन झापाको उत्तरी तथा दक्षिणी क्षेत्रमा रहेको चारकोसे झाडी आसपासका बासिन्दा समस्यामा छन्। तर पूर्वी क्षेत्रमा सोलार फेन्सिङ्का कारण केही समस्या कम भएको छ। तर त्यसका कारण मानवीय क्षति भने बढी रहेको छ। पूर्वी क्षेत्रमा हात्तीले बाली-नालीमा पुर्‍याउने क्षति कम गरे पनि पश्चिमी क्षेत्रमा कम हुन सकेको छैन। 

शिवसताक्षी, कमल, दमक तथा इलामको चुलाचुलीमा वर्षैभरि हात्तीको समस्या र त्रास रहन्छ। स्थानीय स्रोत साधनबाट यसको समाधानका लागि बिभिन्न प्रयास गरे पनि यसको दिगो समाधान आवश्यक रहेको दमक ३ का वडाध्यक्ष बराल बताउँछन्। उनले भने, ‘हामीसँग स्रोत साधन पनि धेरै छैन। सकेको उपाय गरिरहेका छौं।'

तर यसको दिगो समाधानका लागि माथिल्लो तहका सरकारबाटै दीर्घकालीन योजनाको आवश्यकता देखिन्छ। यस्तै चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले पनि दमकसँगको सहकार्यमा हात्तीको समस्या समाधानको प्रयास गरिरहे पनि स्थानीय स्रोत साधनले मात्र नभ्याउने बताएका छन्। यो समस्या समाधानका लागि सवै तहका सरकार र आवश्यक परे अन्य निकायहरु बीचमा पनि सहकार्यको खाँचो रहेको उनको धारणा छ।

हात्ती धपाउन सोलार बत्ती

जंगली हात्तीबाट प्रभावित रहेको झापाको कमल गाउँपालिका ३ मा सोलार बत्ती जडान गरिएको छ। यस क्षेत्रमा बारम्बार हात्ती आउने र क्षति पुर्‍याउने भएकोले त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सोलार बत्ती जडान गरिएको हो। यहाँको नेपाली सेनाको २१ नं वाहिनी अड्डालगायत मन्दिर क्षेत्रमा सोलार बत्ती जडान गरिएको हो।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र कमल गाउँपालिकाको सहकार्यमा सोलर जडान गरिएको जनाइएको छ। सानुकेर्खास्थित किँरातेश्वर शिव पाञ्चायन मन्दिरमा २ वटा, २१ नं वाहिनी अड्डको चार किनारामा ४ वटा र सोनो केर्खाबाट इलामको चुलाचुली गाउँपालिका जाने हात्ती प्रभावित सडकमा ७ वटा गरी जम्मा १३ थान सोलार बत्ती जडान गरिएको कमल गाउँपालिकाले जनाएको छ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंबाट १० लाख ५० हजार रुपैयाँ र कमल गाउँपालिकाबाट ४ लाख ५० हजार रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँको लागतमा बत्ती जडान गरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.