|

चीनको सबैभन्दा ठूलो मानिएको जियाङचुङ्गो डम्पिङ साइट अनुमान गरिएभन्दा २५ वर्षअगावै भरिएको छ।

सान्सी प्रान्तमा रहेको १०० वटा फुटबल मैदान बराबरको उक्त डम्पिङ साइट दिनको २५०० टन फोहर थुपार्न मिल्ने गरी डिजाइन गरिएको थियो। तर दिनहुँ १० हजार टन फोहर थुप्रिन थालेपछि उक्त ठाउँ अनुमान गरेभन्दा २५ वर्षअगावै भरिनपुग्यो।

सन् १९९४ मा निर्माण गरिएको उक्त साइटले सन् २०४४ सम्म काम दिने अनुमान गरिएको थियो। ७ लाख स्क्वायर मिटरमा फैलिएको, १५० मिटर गहिरो साइटमा दिनहुँ ८० लाख नागरिकबाट उत्पादित फोहर थुप्रिने गर्छ।

अधिक जनघनत्व भएका कारण चीनमा विश्वकै सर्वाधिक फोहर पैदा हुन्छ। त्यहाँका कतिपय ठूला सहर फोहर फाल्नका लागि ल्यान्डफिल साइटमै निर्भर छन्। 
त्यसो त, चीनमा फोहर व्यवस्थापनका अन्य उपाय नअपनाइएका होइनन्।

गत महिनामात्रै सियानमा फोहर जलाउने विशाल भट्टी प्रयोगमा ल्याइएको छ। सन् २०२० भित्र थप चारवटा त्यस्ता भट्टी प्रयोगमा आउनेछन्, जसले दिनहुँ १२ हजार ७५० टन फोहर प्रशोधन गर्नेछन्। त्यसो हुनासाथै सियानको डम्पिङ साइट ‘इकोलोजिकल पार्क’ मा रुपान्तरित हुनेछ।

चीनमा अहिले ६५४ ल्यान्डफिल साइट र २७६ वटा फोहर जलाउने भट्टी छन्। सन् २०२० मा कम्तिमा ३५ प्रतिशत फोहर रिसाइकल गर्ने सरकारी योजना छ। त्यसबाहेक चीनले धेरै फोहर निस्कने सामग्रीको आयातमा प्रतिबन्धसमेत लगाइसकेको छ।

चीनकै सिको गर्दै मलेसिया, टर्की, फिलिपिन्सलगायतका देशले पनि आयातमा सतर्कता अपनाउन थालेका छन्। मलेसियाले आयातित सामग्रीको प्याकेजिङमा प्रयोग हुने फोहर सम्बन्धित देशमै फिर्ता पठाइ दिने नीति लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.