शब्दमा शक्ति, आकार र पैसा छ

|

काठमाडौंः सन्तोष प्रधान युवा उद्यमी हुन्। काठमाडौंमा सन् २००३ मा प्रवेश गरेका थिए। काठमाडौंको बसाइ कथाको पात्र जस्तै र संघर्ष गर्नेलाई काठमाडौं प्रेरणा हो भन्छन् उनी।

सुरुवातीको समयमा उनले मासिक ६ हजारदेखि काम थालेको हुन। उनी सानोदेखि संघर्षलाई प्रेम गर्थे। व्यवसायीक र व्यक्तिगत जीवनमा उतारचढाव आएपछि उनी हाल प्रोप्रटी ३६० को सिइओ बन्न सफल भएका छन्। युवा उद्यमी सन्तोष काठमाडौंमा घर जग्गाको कारोबार गर्छन्। उनको बुझाइमा पैसाभन्दा पुस्तक सदामाथि हुन्छ भन्छन्।

धेरै युवाको पुस्तक नपढ्ने बानी भेटेको छु,'सन्तोष भन्छन्,' पुस्तकले सधैँ नयाँ नयाँ काम र विचार प्रष्फुटन गरिरहेको छ।' व्यवसायमा लागेपछि सिर्जनात्मक हुनुपर्छ। व्यवसाय नै  एक सिर्जना रहेको उनी दाबी गर्छन्। पुस्तक नभएर पैसाको पछि लाग्दा मानिसलाई अहमताको भण्डारमा धकेल्ने दाबी गर्छन्। उनै युवा उद्यमीसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

हिजोआज के गर्दै हुनुहुन्छ?

रियल स्टेटको काम गरिरहेको छु। युवा भएकोले नयाँ नयाँ कामको थालनी गर्नुपरो भनेर सोचिरहेको छु। एउटै क्षेत्रमा मात्र हात हालेर नबसुम् कि भनेर सोचिरहेको छु 

किन रियल स्टेटको नै काम गर्नुभएको?

मानिसलाई नभई नहुने पहिलो आवश्यकताको सूचीमा पर्ने भनेको नै घर जग्गा हो। सोचेँ मेरा लागिभन्दा पनि मानिसको लागि गर्छु भनेर यो कामको थालनी गरेको हो।

यसलाई अन्य व्यापारभन्दा पृथक् ढंगले गर्नलाई नयाँ योजना केही छ?

यो घर जग्गाको व्यवसाय अन्यभन्दा फरक छ। यसलाई व्यवस्थित ढंगले र कसरी सम्मानजनक तरिकाले काम गर्न सकिन्छ। यसलाई व्यावसायिक कसरी बनाउने भनेर सोचिरहेको छु। एजेन्टको नेटवर्क बनाउने भनेर सोचिरहको छौँ। सायद म अब यसमा लाग्छु। विश्वसनीयताले काम गर्न मन छ। यो क्षेत्रमा पनि मर्यादा छ भन्ने सन्देश दिन मन छ।

कस्तो काम गरिरहनुभएको छ?

घर जग्गाको काममा हामी माध्यम हौँ। साधन मात्र माध्यम हुन्छन् भन्ने छ तर, यस क्षेत्रमा मानिस माध्यम हुन्छ भन्ने बुझाउनु छ। घर जग्गा लिनेदेखि बेच्नेसम्म काम गर्छौं।

रुचि केमा छ?

पुस्तक पढन, सिनेमा हेर्न र संस्कृतिका भावहरू बुझ्न मन छ।

कुन पुस्तक पढदै हुनुहुन्छ?

चार वेदका सार पढिरहेको छु।

किन वेद नै छनोट गर्नुभयो?

वेद अध्यात्म मात्र होइन। समाज,जीवन र जगत बुझाउने एउटा शास्त्र रहेछ। मानिसलाई आवश्यक पर्ने हरेक कुराहरू यसमा पाइन्छ। देश,समाज, दर्शन र राजनीति सबै पाइन्छ। व्यवस्थालाई व्यवस्थापन गर्ने एउटा सशक्त व्यवस्थापक रहेछ वेद। लाग्छ यो सिद्बान्तको गुरु हो।

पहिलोपटक पढेको पुस्तक कुन हो?

शिव खेराको ‘यु क्यान वीन’ हो।

के छ त्यो पुस्तकमा सम्झन सक्नुहुन्छ?

जित्न सकिन्छ हरेक कुरामा। जित्न र सफल बन्न मन छ भने सदा सकारात्मक सोच राखौँ भन्ने सन्देश दिएको छ।

कुन समयमा पुस्तक पढनुहुन्छ?

समय पायो कि पढिहाल्छु। किनभने मेरो टेबलमा किताब २४ घन्टा हुन्छ। घरमा चाहिँ बिहानै र बेलुकाको समयमा पढछु।

सफलताको पछाडि किन मानिस दौडिरहेका छन्?

मानिस सभ्य र सिर्जनात्मक हुनको लागि हो। अझ अर्को कुरा शिक्षा लिँदा वा दिँदा सफल हुनुपर्छ र असफलता हुनु भनेको सबैभन्दा ठूलो अपराध हो जस्तो गरेर सिकाइएको थियो। सफलताको पछाडि सदा असफलताको अहम भूमिका हुन्छ भनेर बिर्सेका छन्।

उद्यमी भएको नाताले सफलतालाई कसरी बुझ्नुहुन्छ?

सफलता भनेको दृष्टिकोण हो। दृष्टिकोण हो सबैभन्दा ठूलो कुरा हो कर्म क्षेत्रमा दृष्टिकोणले नै मानिसलाई सफल बनाउँछ। दृष्टिकोणमा इमान्दार नजर छ भने सफलता प्राप्त गर्छन् कर्ताले ।

उपहार पाएको पुस्तक?

‘भागवत गीता’।

कोठामा गीता पनि छ? के छ यसमा?

मेरो बुझाइमा देखेको कुराहरू सबै प्रेममय छन्। आत्मा मात्र जीवित छ। शरीर भनेको पहिरन लगाए जस्तै हो। जसमा पहिरनले क्षणमा क्षणमा शरीर परिवर्तन गराइरहन्छन्। देखिएका र भोगिएका सबै वस्तु पात्र मात्र हुन्। भ्रम पनि कोहीबेला सत्य साबित हुन्छ। मानव शरीर धारण गरेर आएपछि कर्म गर्नुपर्छ। शरीर नाशवान छ तर कर्म नाशवान छैन। कर्म सदा हस्तान्तरण हुन्छ।

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ?

किताबले सबै कुरा बुझाओस्। विशेषगरी म आर्थिकको क्षेत्रमा काम गर्ने भएकोले अर्थसम्बन्धी सामाजिक र दर्शन बुझाउने पुस्तक मनपर्छ।

आख्यान कि गैरआख्यान?

मेरो जीवनमा नभेटिएका लेखक र लेखिएका सबै पुस्तकहरू आख्यान हुन्। किनभने ती मेरा कल्पनामा बसेका छन्। बढी गैरआख्यान मनपर्छ।

धेरैपटक पढेको पुस्तक?

‘गीता र यु क्यान विन’ हुन्।

अन्तिमपटक पढेको पुस्तक?

डा.युवराज संग्रौला सरको पुस्तक 'निसंकोच अभिव्यक्ति', 'शिशिरमा फुलेको गुराँस'। सरको पुस्तकमा यथार्थ समाजको चित्रण हुन्छन् र समाज र मानिसका चरित्र ठयाक्कै उतार्न सरको सक्ने कला एकदमै मनपर्छ। समाजका भाव हुन्छन। सायद लेखनशैली र व्यक्तित्व नै पृथक् भएर होला। 

नेपाली साहित्य के गरेर लेखिएको होला र ती साहित्यले समाज बोलेको छ त?

नेपाली नागरिकका सत्य मनोविज्ञान बोल्न सकेका छैनन्। आफ्नो लागि मात्र लेखेका छन् जस्तो लाग्छ। साहित्यले चेतनाको स्तर बढाउनुपर्ने हो तर त्यहाँ त म लेखक बढेका छन्। समाजको एकरूप पनि आएको जस्तो लाग्दैन।

बिपी कोइरालाको लेखन र पाउलो क्वोहेलोको लेखनमा फरक केही पाउनुभयो?

बिपीका पुस्तकमा मनोविज्ञान र व्यक्तिका आयामहरू छन्। पाउलोको शब्दमा समाज, मानव मनका गहिराइ भावहरू पाएँ।

ठूलो धनराशि प्राप्त गर्ने पेसा अपनाउनुभएको छ तर किन शब्दको पछि लाग्नुभएको छ?

हिन्दू धर्ममा ३३ कोटी देवता भन्छन् नि ३२ वटा देवता अरू नै भए पनि एक देवता शब्द हुन्। एक शब्द पनि देव हो र ३३ कोटी देवता भएको हो। शब्द जीवनको एक ज्योति हो। शब्द ध्वनि हो र शान्तिको प्रतीक पनि हो। पैसा ठूलो होइन शब्द ठूलो हो। शब्दमा शक्ति छ। शब्दमा आकार छ। पैसा कमाउँछु त्यही शब्दमार्फत कमाएको छु।

दर्शन र धर्ममा रुचि छ तर किन पैसामा मोह छ?

पैसामा मोह होइन मैले पैसालाई साधन मात्र बनाएको छु। पैसा क्षणिक छ। दर्शन र धर्म अनन्त कालसम्म रहन्छ ।

पैसाले घमण्ड बढाउँछ होइन?

नबुझ्दासम्म मानिसले पैसा पाएर घमण्ड गरेका छन्। पैसा साधन हो। नासिन्छ भनेर बुझेका दिनदेखि सबै शान्त हुन्छन्। बुझ्ने हुँदा उनीहरूलाई ढिलो भइसकेको हुन्छ।

ज्ञानले पनि घमण्ड बढाउँछ नि?

ज्ञानका स्रोत धेरै भएर होला सायद तर सबै भ्रममा भएकोले नै घमण्ड गरेका हुन्। मानिस बाँच्दा मात्र आफूलाई काम लाग्ने हो। मरेका भोलिपल्ट त केही पनि काम लाग्दैन।

अध्यात्ममा बढी रुचि छ हो?

अध्यात्मलाई मानिसले विषयको रूपमा लिएर रुचिको कुरा आएको हो। तर, अध्यात्म जीवन जिउने पद्बति हो।

युवा उद्यमी भएकोले नेपाली समाजलाई कसरी चिन्नुहुन्छ?

समृद्ब समाज छ। तर, नेपाली हामी हैसियत बिर्सने छौ। हिजोआज बाटो नै पो भुलेको हो जस्तो भएको छ। नेपाली समाज बसेको थियो तर गन्तव्यविहिन यात्रामा निस्केको छ।

देशको नेतृत्व पुस्तक पढेकाले गरेका छन वा विरासत प्राप्त गरेकाले ?

पुस्तक त पढदैनन्, अरूका सुनेर बोल्छन,सुन्दैनन्, भन्छन्, नेतृत्व विरासतमा छ,वृद्ब पुस्तामा हस्तान्तरणमा छ।

पुस्तक के का लागि पढनुहुन्छ?

ज्ञान र आनन्दको लागि। पुस्तक आफैँमा मेडिटेसन गर्ने एक शसक्त माध्यम हो।

पाठक कि उद्यमी?

उद्यमी हुँ। दोस्रोमा पाठक।

सफल उद्यमी हुनलाई कस्तो पुस्तक पढनुपर्छ?

व्यवसायलाई सफल बनाउन र आफूले कस्तो काम गरिरहेको छु त्यसको पहिचान गरी कामलाई सफलता मिल्ने पुस्तक पढनुपर्छ।

पुस्तक के हो? के होइन?

पुस्तक सपना हो। जहाँ सपनामा सबै कुरा भुलेर मस्त भइन्छ। सपनामा कोही पनि दुखी हुदैनन्। पुस्तक त्यहीँ हो। जो सुख खोज्छन् त्यसको सिँढी हो।

युवा कुलतमा असतमार्गमा छन्?

नैतिक शिक्षा हटाइयो। नैतिक शिक्षा लागू गर्नुपर्छ।

पुस्तक पढने मानिस बढी कि उद्यम?

संगतअनुसार उद्यम गर्ने मानिस बढी। पुस्तक गफ मात्र।

पुस्तक पढ्ने र उद्यम मानिसमा गर्नेमा के फरक छ?

उद्यम गर्नेमा अहमता छ। कोरा ज्ञान छ। पुस्तकले कमसेकम मानिसलाई नरम बनाउन सिकाउँछ।

ज्ञान प्राप्त गर्दा के हुन्छ?

उकुसमुकस पुर्वक बाच्नुपर्दैन। ज्ञानले स्वतन्त्र बनाउँछ।

पुस्तक किन पढने?

सपनाभित्र छिर्न। किनभने मानिसलाई सपना मनपर्छ।

पैसा कि पुस्तक?

पुस्तक

पुस्पतक पढने मानिस भन्छन् वि रिड टु नो, वि आर नट अलोन किन?

पुस्तकका पात्र साथमा हुन्छन त्यसैले हो।जान्नलाई पढनैपर्छ। जानेका कुरा उपयोगी हुन्छन्। केही जानेको छ भने  भिडबाट हराउने सम्भावना कम हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.