|

चितामाथि सुतेर हेर्दा ...

यौवनको घमण्ड क्षणिक रहेछ

शक्तिको उन्माद व्यर्थ रहेछ

रूपरंग र सौन्दर्यको घमण्ड जलेर भष्मिभूत भयो

धनसम्पत्ति र गरिबीका परिधिहरू जलेर खरानी भए

धर्मका पर्खालहरू क्षणभरमै विलुप्त भएर गए

ज्ञान र मोक्षका परिभाषा र तर्कहरू व्यर्थ भए ।

चितामाथि बसेर सोचेँ – 

के मृत्यु दुःख हो?

अनुभव र अनुभूतिहीन हुनु पनि के को दुःख हुनु?

 

चितामाथि लम्पसार परेर घोत्लिएँ ...

जन्म, जीवन र मृत्यु यी तीनवटा चरणमात्र त छन् प्राणी जीवनका...

जीवन तर्क होइन, जीवन शब्द होइन, जीवन आदर्श होइन

अनि जीवन व्यवस्था पनि होइन

जीवन – जीवन हो ।

 

म शिशुहरूलाई देखाउँछु –

आकाशका तारा, चन्द्र, ग्रह र अन्य पिण्डहरू

ता कि धर्तीका हाड र मासुका पिण्डहरूसँग द्वन्द्व गर्दै अल्मलिनु नपरोस्

म उनीहरूलाई आकाशतर्फ नियालेर प्रेमको चमक देखाउँछु

ता कि धर्तीका कठोर मुटुहरूबाट उनीहरू बलात्कृत हुनु नपरोस् ।

चितामाथि बसेर ...

आफ्नो व्यथित अतीत नियाल्छु –

जीवनदेखि पर लगेर मसानघाट छाडी जाने त्यो निर्दयता

जिउनु न मर्नुको अवस्थामा छाडिदिने त्यो कठोर मन

पलपलमा परिवर्तित ती ऋतुका नियम

सबै क्षणभरमै जलेर गए...

चितामा लम्पसार परेर हेर्दा ...

त्यो सिउँदोमा सिन्दूर होइन यही चिताको खरानी सजिएछ ...

अनि त्यो जिउँदो एउटा लास चुपचाप समाजमा विचरण गरिरहेको छ ।

 

चितामाथि बसेर

एकपटक फेरि आँखा च्यातेर हेरेँ –

अझै कहीँ कतै आँशु बाँकी पो छ कि !

अनि प्रार्थना गरेँ –

प्रेमको तृष्णा मेट्नका लागि विधाताले अर्को जीवन नदिई

जन्म र मृत्युको चक्रबाट पर अनन्तमा विलिन गराओस्।

चितामाथि लम्पसार परेर

म प्रेमसँगै डुल्दछु – जीवन, जगत्, ब्रम्हाण्ड

एक प्रेमीको रूपमा – एक स्वतन्त्र मानवको रूपमा

एक अनन्त यात्रामा।

यो पनि पढ्नुस् :

पुस्तक वार्ता : अध्यात्म जीवनको गहिराइ नाप्ने यन्त्र हो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.