|

सिरहा : नेपाल-भारत सीमा रेखास्थित जंगे सीमा स्तम्भबाट भारत र नेपालतर्फ क्रमशः १०/१० गज गरी २० गज चौडा जमिन खाली राखी दसगजा क्षेत्र कायम गर्ने प्रावधानअनुरूप दसगजा क्षेत्र निर्जन तथा उपयोग नगरिएको भूमि हो। तर, भारत बिहारको मधुवनीसँग पूर्व बलान र पश्चिम कमला नदीसम्म सीमा जोडिएको सिरहाको कुल ४८ किलोमिटर खण्डको मुख्य ठाउँमै भारतीय पक्षबाट दसगजासँगै केही भूभाग मिचिएको छ।

भारतको जयनगर पुग्ने जिल्लाकै मुख्य नाका मानिने सिरहा नगरपालिका-१७ माडर क्षेत्रमै सात हेक्टर जमिन मिचिएको सीमाविद् तथा नापी विभागका पूर्वमहानिर्देशक बद्धिनारायण श्रेष्ठ लिखित ‘नेपालको सिमाना’ पुस्तकमा उल्लेख छ। पुस्तकका अनुसार माडरबाट भारततर्फ प्रवेश गर्ने पक्की सडकको माडर इनर्वा टोला र चन्द्रगञ्जको दक्षिणी भूभागको ७ हेक्टर जमिन अतिक्रमण भएको छ।

जिल्लाको पूर्वी नाकाको रूपमा रहेको ठाढी बजार हुँदै भारतको लौकाहा प्रवेश गर्ने सडक छेउछाउ, बलान नदी पश्चिम क्षेत्रमा चार हेक्टर जमिन मिचिएको पुस्तकमा चर्चा गरिएको छ। त्यसबाहेक भारतसँग सीमा जोडिएको अन्य ठाउँमा समेत सीमा मिचिएको, दसगजा क्षेत्र मासिएको विषयमा चर्चा गरिएको छैन। तर, सिरहा नगरपालिका १५ मा पर्ने नेपालको सीमावर्ती गाउँ बुधौरादेखि दक्षिणतर्फ दसगजा मासेर धान खेती गरिएको छ।

नेपाल-भारत सीमाको दसगजा छुट्याउन गाडिएको २६६/१ र २६६/२ सीमास्तम्भ वरिपरि करिब ३५ बिघा क्षेत्रफल दसगजामै बहुसंख्यक भारतीयले धानखेती गरिरहेका छन्। भारतको सहुरिया, गोढियारीलाई छुट्याउन गाडिएको दुई स्तम्भ सीमावर्ती भारतीय गाउँ सहुरियाका हिरालाल यादवको धानखेतमा पर्ने स्थानीय बताउँछन्।

‘करिब तीन दशकदेखि दस गजा मिचेर भारतीयहरूले खेतीपाती गरिरहेका छन्’ बुधौरा गाउँका वृद्ध ६३ वर्षीय रामरतन यादवले भने, ‘दसगजामै धानखेती गरिएकाले हिँडडुलसँगै बस्तुभाउ चराउन अप्ठ्यारो झेलिरहेका छौँ।’

कुलोले छुट्याएको सीमा

सिरहाको जिल्ला सदरमुकाम सिरहाबाट करिब १० किलोमिटर पूर्व-दक्षिण पर्ने लगडीगदियानी स्थानीय तहको पुनःसंरचनापछि सिरहा नगरपालिका २० मा पर्‍यो। भारत बिहार मधुवनी जिल्लाको लगडी पदमा ग्रामपंचायत ४ मा पर्ने भारतीय गाउँ लगडी पदमा र नेपालतर्फको लगडीगदियानी गाउँ क्षेत्रमा पछिल्लो जेठमा नेपाल-भारत संयुक्त सीमा प्राविधिकहरूको टोलीले २६३/१३, २६३/१४, २६३/१५ र २६३/१६ नम्बरको सीमा स्तम्भ गाडेको स्थानीय बासिन्दाले बताए।

पारीपट्टि मलाह र यादव गरी एक सय ५० घरधुरी र वारी नेपालपट्टि करिब पाँच सय घर मलाह, यादव, बनिया, मैथिली ब्राम्हणहरुको बसोवास रहेको लगडीगदियानीका पूर्वगाविस सचिवसमेत रहेका स्थानीय देवनारायण यादवले सुनाए। सिरहा २० अन्तर्गत साविक लगडीगदियानी गाविसको १, २, ३, ४ र ५ सीमासँगै जोडिएको छ भने ६, ७ र ८ सिकाजोति तथा ९ नम्बर कट्टी टोल उत्तरतर्फ छन्।

नेपाल र भारतर्फका दुवैतिरका सीमावर्ती गाउँलाई कुलोमा गाडिएको चारवडा स्तम्भले छुट्याएको भए पनि भारतीय पक्षले आफ्नोतिरको दसगजामा घर बनाएर नेपालतर्फको दसगजा बेरोकटोक उपभोग गरिरहेका छन्। झेडै जंगे सीमा स्तम्भसँगै समानान्तर हुनेगरी लगडी पदमा गाउँका भारतीयको बसोवास रहेको करिब ३५ घर वारीबाट नै छर्लङ्ग देखिन्छ।

२८ नं. जंगे स्तम्भ भारतीय नागरिक ५१ वर्षीय ज्ञानी मुखियाको घरको आँगनमै पर्छ। जंगेखम्बादेखि उत्तर नेपालतर्फको दसगजा क्षेत्रमा भने मुखियासहित अन्य भारतीय नागरिकले बस्तुभाउ बाँध्ने, लत्ताकपडा सुकाउनेसँगै खानेपनीका लागि कल गाडेर उपभोग गरिरहेको स्थानीय बासिन्दाको भनाइ छ।

‘नेपालतर्फको दसगजाको करिब उत्तरी सीमासँगै सीमा स्तम्भ गाडिएको र त्यहाँ पानी रहेकाले त्यहाँदेखि दक्षिण दस गजामा भारतीय नागरिकले वर्षौंदेखि भोगचलन गरिरहेका छन्’ स्थानीय ६७ वर्षीय राजेन्द्र यादवले सुनाए।

‘वारीपारी वल्लो घर पल्लो घर छिमेकीजस्ता भएर बसेका छौँ’ उनले भने ‘सरकारी स्तरबाट नै मिचिएको दसगजा खाली गरिनु पर्छ।’ वारीपट्टि लगडीगदियानी गाउँको पुछारमा राजेन्द्रसहित बब्लु साह, रामअवतार साहको चिया खाजा पसलमा बिहान बेलुका आउने भारतीय छिमेकीहरूसँग भलाकुसारी हुने गरेको उनले बताए।

भारतीय भन्सार र एसएसबीको चेकपोष्ट

भगवानपुर गाउँपालिका ४ ठाढीको नेपाल भारत सीमामा नेपालतर्फको दसगजामै भारतीय पक्षले करिब चार दशकदेखि भन्सारसँगै सशस्त्र सीमा बल (एसएसबी) चेकपोष्ट संचालन गरिरहेको छ। ठाढीको सीमाबाट करिब साढे सात सय मिटर दक्षिण भारतीय लौकहा बजारको एसविआई बैंक नजिक राखिएको भारतीय भन्सार चेक पोष्ट सारेर नेपालतर्फको दश गजामै संचालन भइरहेको स्थानीय शंकर साहले बताए। दसजगजा क्षेत्र मात्र होइन, ठाढीका बासिन्दाले चन्दा र तत्कालीन इनर्वा गाविसको आर्थिक सहयोगमा करिब २५ वर्षअघि निर्माण गरेको कल्भर्ट वारीसमेत भारतीयले मासु, तरकारी तथा साइकल मर्मत पसल संचालन गरिरहेको साहले बताए।

पछिल्लो फागुनमा जबरजस्ती कल्भर्ट नजिकै भारतीय पक्षले स्वागतद्वार बनाउन खोजेपछि ठाढीस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट र स्थानीय बासिन्दाको सहयोगमा रोकिएको ठाढीका श्रीलाल पासवानले बताए। त्यसलगत्तै धनुषा, जनकपुरस्थित स्थलरूप नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाअन्तर्गत नेपाल भारत सीमा सर्वेक्षण टोली नं. २ आएर स्थलगत अनुगमन गरी लिखित प्रतिवेदन बुझाएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.