|

गुल्मी : देश विदेशमा गुल्मीको कफी प्रसिद्ध छ। विस १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइन्छ। गुल्मीमा मुसिकोट नगरपालिकाको आँपचौर, छत्रकोट, गुल्मी दरवार, धुर्कोट, रुरुक्षेत्रमा गरी १७८ हेक्टर जमिनमा कफी खेती गरिँदै आएको छ।

यता, १५औँ राष्ट्रिय कफी दिवस आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ भन्ने नाराका साथ उदगमस्थल गुल्मीमा आइतबार मनाउने निर्णय भएको छ। तर, वास्तविक कफी उत्पादन हुने स्थान र कृषकको बगैँचामा गर्नुपर्ने कार्यक्रम सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा धुमधामका साथ गर्ने र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले शनिबार सदरमुकाम तम्घासको जिल्ला समन्वय समिति गुल्मीमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिए। उनले गुल्मी कफीको उद्गमस्थल र गुल्मी जिल्लामै १५ राष्ट्रिय कफी दिवस मनाउने निर्णय हुनु गुल्मीको गौरवको विषय भएको पनि बताए।

उनले यति मात्रै बताएनन्, अघिल्लो महिना चिनियाँ राष्ट्रपति नेपालको भ्रमणमा आएको समयमा उनको सम्मानमा रात्रिभोजको मेन्युमा गुल्मीको कफी पनि समावेश भएको बताउँदै यसले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गुल्मीको कफीलाई चिनाएको भन्दै प्रशंसा गरे। कृषकको बगौँचामा नगई धुमधामका साथ पार्टी प्यालेसमा गरिएका यस्ता कार्यक्रम फलदाय नहुने कतिपयको बुझाइ छ।

गुल्मीसँगै नेपालको नाम राख्‍ने कृषकको बगैँचामा किन कार्यक्रम नगरिएको भन्‍ने प्रश्‍नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कफी इकाई कार्यालय, गुल्मीका प्रमुख उमानाथ भण्डारीले प्राविधिक समस्याका कारण जान नसकिएको बताए। उनले आगामी दिनहरूमा कृषकको बगैँचामै  गएर दिवस मनाइने बताए।

आँपचौरमा गरौँ भन्ने प्रस्ताब राख्यौँ : नगरप्रमुख सापकोटा

मुसीकोट नगरपालिकाको आँपचौरमा राख्ने भन्ने प्रस्ताव राखेको तर विविध कारणले गर्दा सदुमुकाम केन्द्रित कार्यक्रम गर्नेमा सहमति भएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए।

उनका अनुसार कृषकको बगैँचामा गएर कार्यक्रम गर्नु उपयुक्त हुने भएका काराणले र उद्गमस्थल आँपचौरमै कार्यक्रम गर्ने  प्रस्ताव राखेपनि जिल्लामै गर्ने सहमति भएको बताए। कृषकको बगैँचामा नभई गुल्मी सदरमुकाम केन्द्रित कार्यक्रम हुँदा पनि आफूहरूलाई खुसी नै लागेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.